Friday, June 19, 2026
Home Blog Page 640

धानखेतीबाट माछापालनतर्फको यात्राले हरिरामलाई सफल उद्यमी बनायो

0

वेदकोट (कञ्चनपुर): वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरी माछापालन गरेर नयाँ सफलता हासिल गरेका छन्। डेढ दशकअघिसम्म धान र गहुँखेतीमा निर्भर रहेको उनको परिवार अहिले माछापालनबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएको छ।

हरिरामका बुबा चन्द्रलाल चौधरीले विसं २०६५ मा धानखेतीमै माछापालनको सुरुआत गरेका थिए। माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उनले परम्परागत खेती छाडेर पूर्ण रूपमा माछापालनतर्फ ध्यान केन्द्रित गरे। “सुरुमा बुबाले धानखेतीसँगै सानो पोखरीमा माछापालन गर्नुभयो। त्यसपछि विस्तार गर्दै १० बिघा जमिनमा पोखरी निर्माण गरियो,” हरिरामले बताए।

विसं २०७२ मा चन्द्रलालको निधनपछि व्यवसायको जिम्मा हरिरामले सम्हाले। शिक्षण पेसामा रहेका हरिरामले बुबाको निधनपछि पूर्ण रूपमा माछापालनमा लाग्ने निर्णय गरे। अहिले उनी वार्षिक झण्डै ३० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। “धान र गहुँखेतीभन्दा माछापालनबाट धेरै आम्दानी हुन्छ,” उनले भने।

हरिरामका अनुसार एक माछा एक किलोग्राम तौल पुग्न झन्डै सवा किलोग्राम दाना खपत हुन्छ। उनको १० बिघा क्षेत्रफलको पोखरीबाट वार्षिक सातदेखि आठ सय क्विन्टल माछा उत्पादन हुन्छ। उत्पादन गरिएको माछा स्थानीय बजारमै बिक्री गरिन्छ।

तर, माछापालनका लागि आवश्यक भुरा र दाना भारतबाट आयात गर्नुपर्छ। “नेपालमा गुणस्तरीय भुरा र दाना उपलब्ध नहुनु हाम्रो बाध्यता हो,” उनले भने। भारतीय माछाले नेपाली बजार ओगटेकाले पनि चुनौती थपिएको छ।

हरिरामले माछापालनकै आम्दानीले छोराछोरीको पढाइमा सहयोग मिलेको बताए। उनकी छोरी भूमिका हाल कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययनरत छिन् भने छोरा काठमाडौँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा अध्ययन गरिरहेका छन्।

“शिक्षण र माछापालनमा व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्ने सोच्न सकिएन। अहिले उमेर नपुगेर पनि सरकारी जागिरे बन्ने मौका छुट्यो। तर, माछापालनबाट राम्रो आम्दानी र सन्तुष्टि मिलेकाले कुनै पछुतो छैन,” हरिरामले भने।

उनको यो यात्रा परम्परागत खेतीबाट आधुनिक उद्यमशीलतामा रूपान्तरण भएको सफल उदाहरण हो।

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

0

दमौली (तनहुँ): भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले रु २५ हजार राशिको उक्त पुरस्कार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्यको उन्नयनमा उहाँले गर्नुभएको योगदानको कदर गर्दै कवि सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कार भारत कोलकाताका सत्यप्रकाश तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि पनि रु २५ हजार छ । साथै रु १० हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका ओम रिजाललाई प्रदान गर्ने निर्णय भएको छभने रु पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कार आगामी चैतमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

0

काठमाडौं। आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए।

आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ।

राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालयमहाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ।

आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ।

‘निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवम् नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रुपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुनेमा आयोग विश्वस्त छ’, प्रवक्ता पोखरेलले भने।

आचारसंहिता विपरीतका कार्य भएरगरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ।

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने आयोगले जनाएको छ। विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ।

राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन: प्रचण्ड

0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणका बेला उठाइएका शासकीय स्वरूप, निर्वाचन प्रणाली, र पहिचानका मुद्दालाई कार्यान्वयनमा लैजान नयाँ आन्दोलनको आवश्यकता रहेको बताएका छन्। उनले मुलुकको वर्तमान अवस्था यथास्थितिमा रहन नसक्ने भन्दै ती मुद्दाहरूलाई पुनः प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नयाँ आन्दोलनको संकल्प
काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै प्रचण्डले भने, “हामीले संविधान जारी गर्दा फरक मतका रूपमा (नोट अफ डिसेन्ट) दर्ज गरेका विषयहरू पूरा नभएसम्म राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिमा गति आउन सक्दैन। त्यसैले, नयाँ प्रतिबद्धताका साथ नयाँ आन्दोलनको सृष्टि गर्ने मेरो संकल्प हो।”

उनले नयाँ समाजवादी आन्दोलन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबैलाई माओवादी केन्द्रको अभियानमा साथ दिन अपिल गरे।

माओवादी धाराको एकता र पुनरागमनको संकेत
प्रचण्डले विगतमा पार्टी छाडेर बाहिर गएका सहकर्मीलाई गोलबन्द गरी माओवादी आन्दोलनलाई पुनः सशक्त बनाउन सकारात्मक पहल भइरहेको जानकारी दिए। उनले भने, “छिट्टै माओवादी धाराहरू एकताबद्ध हुनेछन्, र शक्तिशाली माओवादी आन्दोलनको पुनरागमन हुनेछ।”

पहिलेका सरकारका उपलब्धि र आगामी योजना
प्रचण्डले आफ्नो नेतृत्वका सरकारहरूले पुर्‍याएका उपलब्धिहरूलाई स्मरण गर्दै नयाँ योजना अघि सारे।

  • पहिलो कार्यकाल: मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण कोरिडोर निर्माणको थालनी, गरिब किसानको ऋण मिनाहा।
  • दोस्रो कार्यकाल: देशलाई लोडसेडिङमुक्त बनाउँदै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता।
  • तेस्रो कार्यकाल: सुशासनको अभियानको सुरुवात।

उनले थपे, “सुशासनको अभियान निरन्तर अघि बढ्नेछ, र यसले देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढाउनेछ।”

समदूरीको कूटनीतिक सम्बन्धको जोड
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा समदूरीको नीति अपनाउनुपर्नेमा जोड दिए। उनले प्रचण्ड नेतृत्वको सरकारहरूले अन्तर्राष्ट्रिय सम्बन्धलाई विकास गर्न महत्वपूर्ण कदम चालेको भन्दै प्रशंसा गरे।

प्रचण्डको नयाँ प्रतिबद्धता र आन्दोलनको घोषणाले माओवादी आन्दोलनलाई नयाँ उचाइ दिन सक्ने विश्वास गरिएको छ। अब, यो अभियानले कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ

मस्क र रामास्वामीले थाले काम, बिना पारिश्रमिक काम गर्न कर्मचारी माग

0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा सरकारी प्रणालीलाई चुस्तदुरुस्त बनाउन र सरकारी खर्चलाई घटाउन एउटा विशेष विभागको गठन गरेका छन्। यसैअन्तर्गत, उनले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी (डोज) को नेतृत्व टेस्लाका प्रमुख एलन मस्क र चर्चित व्यापारी विवेक रामास्वामीलाई दिएका छन्।

डोज विभाग: ‘सुपर उच्च आइक्यू’ कर्मचारीको खोजी

मस्क र रामास्वामीले यो नयाँ विभागको संरचना तयार पार्दै, विभागमा काम गर्न इच्छुक “सुपर उच्च आइक्यू” भएका व्यक्तिहरूको खोजी थालेका छन्। आवेदनका लागि केही कडा मापदण्ड राखिएका छन्:

  • आवेदनकर्ताको सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा प्रमाणित खाता हुनुपर्छ।
  • यो विभागमा काम गर्न इच्छुकले हप्तामा ८० घण्टा भन्दा बढी समय काम गर्नुपर्नेछ।
  • आवेदनका लागि मस्क र रामास्वामी आफैं शीर्ष १ प्रतिशत योग्य उम्मेदवारको सिभी समीक्षा गर्नेछन्।

तलब छैन, तर जिम्मेवारी ठूलो छ

डोज विभागका पदहरू निःशुल्क हुने घोषणा गर्दै एलन मस्कले भनेका छन्, “यो काम एकदमै उबाऊ हुनेछ। तपाईंले यस क्रममा धेरै शत्रु बनाउनु हुनेछ, र कुनै तलब पाउनु हुनेछैन। तर, यसले अमेरिकालाई ठूलो आर्थिक लाभ पुर्‍याउनेछ।”

यो पहलका माध्यमबाट अमेरिकाको कर प्रणालीलाई पारदर्शी बनाउँदै सरकारी स्रोतहरूको प्रभावकारी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

२ ट्रिलियन डलर बचतको दाबी

डोज विभागको प्राथमिक जिम्मेवारी अमेरिकाको सरकारी खर्च कटौती गर्नु हो। मस्कका अनुसार, यो विभागले अमेरिकी बजेटमा हाल हुने २ ट्रिलियन डलरको अनावश्यक खर्च कटौती गर्न सक्नेछ। मस्कले यसलाई सम्भव बनाउनका लागि केही ठूला बजेट जस्तै रक्षा खर्च र सामाजिक सुरक्षा योजनाहरू पुनर्संरचना गर्नुपर्ने बताएका छन्।

पारदर्शिता र अनलाइन रिपोर्टिङ

मस्कले डोज विभागको काम पूर्ण रूपमा पारदर्शी हुने र यसको विवरण अनलाइन सार्वजनिक गरिने बताए। करदाताको पैसा कुन योजनामा खर्च भइरहेको छ भन्ने जानकारी सबै नागरिकले पाउनेछन्।

ट्रम्पको रणनीति र डोजको समय सीमा

राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा डोज गठनको प्रस्ताव अघि सारेका थिए, जसलाई उनले २०२७ को जुलाई ४ सम्म सञ्चालन गर्ने योजना रहेको बताए। ट्रम्पका अनुसार, यो विभागले सरकारी तन्त्रको पुनर्संरचना गर्दै लागत घटाउने दीर्घकालीन योजना बनाउनेछ।

चुनौती र आलोचना

वासिङ्टन पोस्टका अनुसार, मस्कले रक्षा बजेट र सामाजिक सुरक्षा जस्ता महत्त्वपूर्ण योजनामा कटौती नगरी २ ट्रिलियन डलरको बचत लक्ष्य हासिल गर्न कठिन हुने विश्लेषण गरेको छ। आलोचकहरूले यो पहललाई अत्यन्त महत्वाकांक्षी र विवादास्पद भन्दै टिप्पणी गरेका छन्।

डोज विभागको नेतृत्वद्वारा सुरु गरिएको यो अभियान सफल भए, अमेरिकाले सरकारी खर्चको संरचनामा ऐतिहासिक सुधार ल्याउन सक्ने विश्वास गरिएको छ। अब हेर्न बाँकी छ, मस्क र रामास्वामीको यो महत्वाकांक्षी कदमले ट्रम्प प्रशासनको सुधार योजना कति सफल बनाउनेछ।

मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र अफगानिस्तानसँग भिड्दै

0

काठमाडौं: नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ। नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ।

यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको थियो।

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ।

मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम

गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार ।

डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन ।

मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।

फरवार्ड: जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।

यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो : प्रचण्ड

0

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारपछि पुनः माओवादीकै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन्। शनिबार पार्टीको काभ्रे–काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अहिले माओवादी प्रमुख विपक्षी दलको भूमिकामा रहेको उल्लेख गर्दै, यो सरकार अस्थिर भएमा माओवादीकै सरकार बन्ने सुनिश्चितता व्यक्त गरे।

प्रचण्डले आफ्नो सम्बोधनमा भने, “यही हलमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन भएको थियो। मैले त्यसबेला ३२ को सङ्ख्यालाई जादुमय सङ्ख्या भनेको थिएँ, जसले केहीलाई तरङ्गित बनाएको हुन सक्छ। तर अहिले पनि हाम्रो सङ्ख्या म्याजिक नै छ। हामी ३२ सांसद भएकोले प्रमुख विपक्षी दलको नेताका रूपमा हाम्रो पार्टी ‘गभरमेन्ट इन वेटिङ’ हो। यो सरकार तलमाथि भए, सरकार माओवादीकै बन्छ। त्यसैले चिन्ता गर्नुपर्ने कुनै कारण छैन।”

भ्रष्टाचारको आरोप र सुशासनको अभियान
प्रचण्डले हालको सरकारमा रहेका व्यक्तिहरूलाई नेपालका सबैभन्दा भ्रष्टाचारीको रूपमा जनताले चिनेको दाबी गरे। उनले भने, “जबसम्म यस्ता भ्रष्टाचारीलाई कानूनी कारबाहीको दायरामा ल्याइँदैन, न जनताले तिनीहरूलाई छोड्छन्, न हामी। हामीले सुरु गरेको सुशासनको अभियान कुनै पनि हालतमा रोकिँदैन।”

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दा प्रतिक्रान्ति भएको पनि स्मरण गरे।

नयाँ आन्दोलनको आवश्यकता
प्रचण्डले नयाँ समाजवादी आन्दोलन र उत्पादनको आन्दोलनको सूत्रपात गर्नु आजको आवश्यकता भएको बताए। उनले भने, “देशमा फेरि एकपटक नयाँ आन्दोलनको सुरुवात गर्नुछ। नयाँ समाजवादी आन्दोलन र उत्पादनको आन्दोलनको सूत्रपात गर्नुपर्छ। यसमा माओवादीले अग्रणी भूमिका निर्वाह गर्नैपर्छ।”

प्रचण्डका अनुसार, संविधान सभाबाट बनाइएको संविधानले माओवादीले कल्पना गरेजस्तो स्वरूप नपाएको स्वीकार गर्दै, पहिचानका मुद्दा, शासकीय स्वरूप, र निर्वाचन प्रणालीजस्ता विषयमा आफ्नो भिन्न मत थाँती राख्नुपरेको थियो। उनले ती विषयहरू देशको तत्कालीन आवश्यकता र आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न गरिएका सम्झौताका रूपमा प्रस्तुत गरे।

उनले भने, “त्यति बेला केही सम्झौता गरेका थियौँ। तर अब समय आएको छ, ती विषयहरूलाई अघि बढाउँदै नयाँ समाजवादी आन्दोलनको जग बसाल्न।”

मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

0

मध्यविन्दु (नवलपरासी): कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

0

मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको चार लेनको आर्क डिजाइन पुलको ४५ प्रतिशत काम पूरा भएको छ। व्यास नगरपालिका ४ र ५ लाई जोड्ने यो पुल निर्माण कार्यलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।

इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, ३१५ मिटर लामो यो पुलमा ६ वटा ‘स्पान’ रहनेछ। सन् २०२२ अगस्ट ११ मा रु. १ अर्ब २१ करोडको लागतमा निर्माण सम्झौता भएको यस पुलको काम तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। ठेक्का जेडआइष्ट अन्नक जेभीले लिएको हो।

हाल सञ्चालनमा रहेको ३७० मिटर लम्बाइको दुई लेनको पुलबाट करिब ५० मिटर टाढा नयाँ पुल निर्माण भइरहेको छ। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको यो पुल निर्माण कार्य दिनरात दुई सिफ्टमा भइरहेको छ। निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले कामको गति अहिलेकै रूपमा जारी रहे समयअघि नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।

मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मका १३ पुल निर्माण भइसकेका छन्। हाल मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला, र आँबुखैरेनीको खानी खोलामा ठूला पुल निर्माण जारी छन्।

 

राष्ट्रिय हितका लागि सविधान संशोधन : सभापति देउवा

0

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानलाई राष्ट्रिय हितका लागि संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। उहाँ सोमबारदेखि डडेल्धुराको भ्रमणमा हुनुहुन्छ।

शुक्रबार नेपाल प्रेस युनियनले डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको खुलासा गर्नुभयो। उहाँका अनुसार, संविधान संशोधन राष्ट्रलाई फाइदा हुने काम गर्न आवश्यक छ, जसका लागि दुई दल तयार भइसकेका छन् र अन्य दलहरूलाई समेत समेटेर दुई तिहाई बहुमत पुर्‍याउने योजना रहेको छ।

गठबन्धन फुट्ने हल्लाबारे पत्रकारको प्रश्नमा सभापति देउवाले प्रेसमा मात्र यस्ता हल्ला रहेको स्पष्ट पार्नुभयो। “गठबन्धन फुट्ने कुरा मैले पनि सुन्छु तर त्यस्तो केही छैन। यो गठबन्धन २०८४ सम्म जान्छ,” उहाँले भन्नुभयो। उहाँले दुई वर्ष एमालेको नेतृत्वमा केपी ओलीको सरकार र त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा आफ्नो सरकार बन्ने लिखित सहमति भएको जानकारी पनि दिनुभयो।

सहकारी ठगीका विषयमा देउवाले राजनीतिक प्रतिशोधको आधारमा कसैलाई कारबाही नभएको दाबी गर्नुभयो। “प्रहरीले कानुनअनुसार आफ्नो काम गरिरहेको छ,” उहाँले भन्नुभयो। डडेल्धुरामा शिवशिखर सहकारीले ४२ करोड रुपैयाँ हिनामिना गरेको घटनामा दोषीलाई कारबाही हुने र बचतकर्ताले आफ्नो रकम पाउने सुनिश्चितता पनि उहाँले दिनुभयो।

देशभरका भौतिक पूर्वाधारहरूको अभावबारे चर्चा गर्दै सभापति देउवाले अझै धेरै ठाउँमा सडक, सिँचाइ, र बिजुलीको पहुँच पुर्‍याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँ उग्रतारा मेलामा सहभागी भई मङ्सिर १ गते काठमाडौँ फर्किने सचिवालयले जनाएको छ।