Friday, May 8, 2026
Home Blog Page 64

कांग्रेसले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगलाई बुझाउने तयारी

0

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फका सांसदहरूको नामावली निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले यसअघि तय गरिएका नामहरू आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता तथा केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिए।

उनका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरिएको हो।

कांग्रेसले समानुपातिक तर्फ २० सिट जितेको छ। निर्वाचन आयोगको निर्देशनअनुसार क्लस्टर मिलाएर नाम सिफारिस गरिएको चालिसेले बताए। साथै कम्तीमा १५ जना महिला सिफारिस गर्नुपर्ने व्यवस्था अनुसार सोही आधारमा नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए।

हालसम्म भने उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको छैन। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ, जसमा एक जना मात्र महिला उम्मेदवार विजयी भएकी छन्।

अनुमति नलिई सञ्चालित कन्सल्टेन्सी र म्यानपावरका शाखा बन्द गर्न प्रशासनको निर्देशन

0

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) तथा वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) का शाखा तथा सम्पर्क कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट स्वीकृति नलिई सञ्चालनमा रहेका संस्थाहरूलाई १५ दिनभित्र कार्यालय बन्द गर्न वा आवश्यक अनुमति तथा नवीकरण गर्न आग्रह गरेको हो।

प्रशासनका अनुसार केही संस्थाहरूले नियमित कार्यालय सञ्चालन नगरी पनि भिसा प्रक्रिया र जागिरको ग्यारेन्टी जस्ता भ्रामक तथा अनावश्यक आश्वासन दिँदै सेवा प्रदान गरिरहेको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको हो।

सूचनामा तोकिएको समयभित्र बन्द नगरे वा अनुमति नलिई सञ्चालन जारी राखेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी गरिएको हो।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

0

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अहिले जारी रहेको छ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।

इरानको सन्देश: युद्ध अन्त्यको निर्णय तेहरानकै हातमा

0

तेहरान । इरानले युद्धको अन्त्य अब इजरायल र अमेरिकाको हातमा नभई तेहरानको हातमा रहेको दाबी दोहोर्‍याएको छ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का पूर्व कमान्डर तथा एक्सपेडिएन्सी डिसर्नमेन्ट काउन्सिलका सचिव मोहसेन रजाईले शनिबार अमेरिका र इजरायललाई युद्ध अन्त्य गर्न इरानले भोगेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। उनले युद्ध रोक्न भविष्यमा इरानमाथि आक्रमण नहुने स्पष्ट ग्यारेन्टी पनि माग गरेका छन्।

रजाईले अमेरिका र इजरायलसँगको लडाइबारे सोधिएको प्रश्नको जवाफमा भने, “युद्धको अन्त्य हाम्रो हातमा छ। हाम्रा दुई सर्त स्वीकार भए मात्र हामी युद्ध अन्त्य गर्ने विषयमा विचार गर्नेछौँ।”

उनका अनुसार पहिलो सर्त अमेरिकाबाट भएका सबै क्षतिको क्षतिपूर्ति प्राप्त गर्नु हो। साथै अमेरिकाले फारसको खाडी क्षेत्र खाली गर्नुपर्ने पनि उनले बताएका छन्।

दोस्रो सर्तका रूपमा रजाईले इरानमाथि भविष्यमा कुनै पनि प्रकारको आक्रमण नहुने १०० प्रतिशत ग्यारेन्टी माग गरेका छन्। उनले भने, “यो फारसको खाडीबाट अमेरिकाको फिर्तीबिना सम्भव छैन। त्यसैले हाम्रो दोस्रो सर्त फारसको खाडीबाट अमेरिकी सेनाको फिर्ती हो।”

रजाईको यो अभिव्यक्ति इरान र इजरायलबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको समयमा आएको हो। फेब्रुअरी २८ देखि जारी द्वन्द्वमा दुवै पक्षमा ठूलो जनधनको क्षति भएको बताइएको छ। विशेषगरी इरानमा अमेरिका र इजरायलका हवाई आक्रमणबाट ठूलो क्षति पुगेको छ भने १३०० भन्दा बढी मानिसको ज्यान गइसकेको बताइएको छ।

दक्षिण लेबनानको स्वास्थ्य केन्द्रमा इजरायली आक्रमण, १२ स्वास्थ्यकर्मीको मृत्यु

0

बेरुत । लेबनानको दक्षिणी क्षेत्रमा रहेको एक स्वास्थ्य केन्द्रमा भएको इजरायली आक्रमणमा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये डाक्टर र नर्सहरू पनि रहेका छन्।

मन्त्रालयका अनुसार शुक्रबार बोर्ज कालाउइये क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको थियो।

घटनाप्रति विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले कडा निन्दा गरेका छन्। उनले यस्तो घटनाले लेबनानको स्वास्थ्य प्रणालीमाथि भइरहेको निरन्तर आक्रमणलाई देखाउने बताएका छन्।

‘स्वास्थ्यकर्मीहरू सधैँ सुरक्षित हुनुपर्छ। यस्तो दुखद घटनाको हामी कडा शब्दमा निन्दा गर्छौँ,’ टेड्रोसले भने।

उता इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिण लेबनानको उक्त क्षेत्रमा आक्रमण भएको रिपोर्टबारे आफूहरूलाई जानकारी भएको बताउँदै घटनाको समीक्षा भइरहेको जनाएको छ।

सुरक्षा जोखिम बढेपछि अमेरिकाद्वारा नागरिकलाई इराक तत्काल छाड्न आग्रह

0

वासिङ्टन डीसी । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न आग्रह गरेको छ। इराकस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकलाई “तत्काल देश छाड्न” चेतावनी दिएको हो।

दूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै इरानसँग सम्बन्धित सशस्त्र समूहहरूबाट सुरक्षा जोखिम बढेको जनाएको छ। दूतावासका अनुसार यस्ता समूहहरूले इराकमा सार्वजनिक सुरक्षामाथि ठूलो खतरा उत्पन्न गरेका छन्।

यसअघि पनि अमेरिकी नागरिक, अमेरिकी हित तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरेर आक्रमण भएका घटनाहरू रहेको दूतावासले उल्लेख गरेको छ।

चेतावनीमा अमेरिकी नागरिकलाई इराकमै बसिरहन सोचिरहेका भए पनि आफ्नो निर्णय पुनर्विचार गर्न भनिएको छ। साथै, अहिलेको सुरक्षा अवस्थाका कारण बगदादस्थित अमेरिकी दूतावास वा एर्बिलस्थित वाणिज्य दूतावासमा नआउन पनि आग्रह गरिएको छ।

शनिबार भएको एक आक्रमणमा दूतावास परिसरसमेत प्रभावित भएको बताइएको छ। उक्त घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता अझ कडा बनाइएको छ।

दूतावासका अनुसार हाल इराकको आकाश क्षेत्रमा रकेट, ड्रोन र मोर्टार आक्रमणको जोखिम उच्च रहेको छ। त्यसैले अमेरिकी नागरिकलाई सम्भव भएसम्म चाँडो इराक छाड्न सल्लाह दिइएको हो।

आजको विदेशी मुद्राको दर: अमेरिकी डलरको बिक्रीदर १४८ रुपैयाँ २४ पैसा

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

समानुपातिक सांसद टुंग्याउन रास्वपाको सचिवालय बैठक आज

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। बैठक आज बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने तय गरिएको छ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिसलगायतका विषयमा छलफल हुने जनाइएको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूको सूची बुझाउन आजसम्मको समय दिएको छ। त्यसैअनुसार पार्टीले आजको बैठकमार्फत अन्तिम नामावली टुंग्याउने तयारी गरेको बताइएको छ।

हेटौँडामा बस्ती नजिक चितुवा देखिएपछि स्थानीय त्रसित

0

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–९ अन्तर्गत HID क्षेत्र आसपास पछिल्ला केही दिनदेखि चितुवा देखिएको सूचना प्राप्त भएको छ।

प्रत्यक्षदर्शीका अनुसार हिजो राति करिब १०:१९ बजेतिर हेटौँडा सिमेन्ट रोड नजिकको सडक हुँदै एउटा चितुवा जङ्गलतर्फ जाँदै गरेको देखिएको हो। स्थानीयका अनुसार सो क्षेत्रमा केही दिनयता चितुवाको आवतजावत भइरहेको छ।

मानव बस्ती नजिक चितुवा देखिन थालेपछि स्थानीयवासीमा त्रासको वातावरण बनेको छ। घटनाबारे सम्बन्धित निकाय तथा सुरक्षाकर्मीलाई जानकारी गराइएको जनाइएको छ।

स्थानीय बासिन्दालाई रातिको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बालबालिका तथा घरपालुवा जनावरको विशेष ख्याल राख्न तथा चितुवा देखिएमा नजिक नजान अनुरोध गरिएको छ।

यसैबीच, हेटौँडा उपमहानगरपालिका–९ का वडा अध्यक्ष सुक्रम केसीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन सम्पर्क हुन सकेन।

डिभिजन वन कार्यालय हेटौँडामा यसबारे जानकारी पुगेको र कार्यालयले आवश्यक तयारी गरिरहेको जनाइएको छ। यस्ता घटना देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई पनि आग्रह गरिएको छ।

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बाघबानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ७:३५ बजे विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बस्दै आएका करिब ३४ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार महतोलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रवक्ता राईले बताए।

दुर्घटनामा संलग्न बस र चालक दाङको तुल्सीपुर नगरपालिका–९ का करिब ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।