Saturday, June 20, 2026
Home Blog Page 627

मानव बेचबिखनको जोखिममा रहेका दुई सय ९८ जनाको उद्धार

0

राँझा, बाँके: मानव बेचबिखनविरुद्ध सक्रिय संस्था शान्ति पुनःस्थापना गृह बाँकेले चालु आर्थिक वर्ष ०८०/८१ मा जोखिममा परेका २९८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेको छ।

यस संस्थाले नेपालगञ्जको मुख्य नाका जमुनाहसहित जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ।

उद्धार गरिएकामध्ये पाँच जनालाई भारतबाट फिर्ता गरिएको हो। त्यसमध्ये २५२ जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने ४२ जनालाई प्रहरीको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो।

सुवेदीका अनुसार, संस्थाले गत आर्थिक वर्षमा बेचबिखनको जोखिममा रहेका ९,८९६ महिला र बालबालिकालाई परामर्श दिएको छ। यस अवधिमा शान्ति पुनःस्थापना गृहले मानव बेचबिखनका अभियोगमा तीनवटा मुद्दा पनि दर्ता गरेको छ।

“बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध धेरै संस्थाले परामर्श दिने भएकाले दलालहरूले ग्रामीण क्षेत्रका नाकाहरू प्रयोग गर्ने गरेका छन्,” सुवेदीले भन्नुभयो, “नयाँ-नयाँ तरिकाले मानव बेचबिखनको प्रयास भइरहेको छ। तथ्याङ्कले १८ देखि २५ वर्ष उमेर समूह सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ।”

शान्ति पुनःस्थापना गृहका केन्द्रीय उद्धार संयोजक भूमि भट्टराईले मानव बेचबिखन र ओसारपसार न्यूनीकरण तथा निरुत्साहित गर्न ग्रामीण नाकाहरूमा पनि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

तीन महिनामा व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

0

काठमाडौँ: चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई रु ३८ अर्ब ३८ करोड कायम भएको छ भने वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आई रु तीन खर्ब ९० अर्ब ७५ करोड पुगेको छ।

गत वर्षको तुलनामा व्यापार घाटा चार प्रतिशतले घटेर रु तीन खर्ब ५२ अर्ब ३७ करोडमा झरेको छ। यसैगरी, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु चार खर्ब ७ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु तीन खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो।

चालु आवको पहिलो त्रैमासमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोड बचतमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति रु एक खर्ब एक अर्ब ६६ करोड बचतमा थियो।

मुद्रास्फीति र मूल्य वृद्धिको अवस्था

औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ। गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत थियो, जसमा अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत थियो।

खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ५० प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो क्रमशः आठ दशमलव ४८ प्रतिशत र छ दशमलव ८५ प्रतिशत थियो।

वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको छ, अघिल्लो वर्ष यो दुई दशमलव ७८ प्रतिशत थियो। तलब तथा ज्याला सूचकाङ्क तीन दशमलव ३६ प्रतिशतले बढेको छ भने अघिल्लो वर्ष यो पाँच दशमलव ६५ प्रतिशतले बढेको थियो।

मौद्रिक नीति र व्यवस्थापन

चालु आवको मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्ने लक्ष्यसहित मौद्रिक व्यवस्थापन गरिएको छ। पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि सात दशमलव १८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि तीन दशमलव ४९ प्रतिशत थियो।

गत असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। ब्याजदर करिडोरको माथिल्लो सीमा सात प्रतिशतबाट घटाएर छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ।

बैंकिङ क्षेत्रको स्थिति

चालु आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर तीन प्रतिशत रहेको छ। विस्तृत मुद्राप्रदाय गत असोज मसान्तसम्म १३ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ भने निजी क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०८१/८२ का लागि विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२ दशमलव पाँच प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

बेलायतमा गत वर्ष मात्र ९ लाख आप्रावासी थपिए

0

लन्डन: गत वर्ष युनाइटेड किंगडममा आप्रवासीहरूको संख्या ९ लाख नाघेको छ, जसले देशको आप्रवासन नीतिमा थप कडाइ गराउन दबाब सिर्जना गरेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, जुन २०२३ सम्मको १२ महिनामा ९ लाख ६ हजार आप्रवासी युके प्रवेश गरेका थिए। यद्यपि, सन् २०२४ को जुनसम्म यो संख्या २० प्रतिशतले घटेर ७ लाख २८ हजारमा झरेको छ। भिसा नियम परिवर्तनपछि विशेषगरी अध्ययन भिसाका आश्रितहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको देखिएको छ।

बेलायतका लगभग ६८ मिलियन जनसंख्या भएको देशका मतदाताले यति ठूलो संख्यामा भएको आप्रवासनका कारण आवास समस्या झन् विकराल हुन सक्ने र सार्वजनिक सेवाहरूमा थप तनाव उत्पन्न हुने चिन्ता व्यक्त गरेका छन्।

आप्रवासन वृद्धिका कारणहरू

२०१६ मा बेलायतले युरोपेली संघ (ईयू) छोडेपछि रोजगारदाताहरूले युरोपेली कामदारहरूको अभाव पूर्ति गर्नका लागि गैर-युरोपेली कामदारहरूको सहारा लिनुपरेको हो। विशेष गरी स्वास्थ्य सेवा, हस्पिटालिटी, र कृषि क्षेत्रले विदेशी श्रमिकहरूको अभावले ठूलो असर बेहोरेका छन्।

विशेषज्ञहरूले भिसा नीतिहरूको कडाइपछि अध्ययन भिसामा आउने विद्यार्थीहरू र तिनीहरूका परिवारको सङ्ख्या घटेको उल्लेख गरे पनि, दक्ष कामदारका लागि भिसा भने उच्च मागमा रहेको बताएका छन्।

सरकारको दृष्टिकोण

बेलायत सरकार हाल आप्रवासन सङ्ख्या घटाउन कटिबद्ध छ। गृह मन्त्रालयले भिसा प्रक्रिया कडा बनाउँदै अध्ययन भिसाको लागि आश्रितहरूको सीमा घटाएको छ। गृह मन्त्रालयका अनुसार, “आप्रवासन नीतिहरूले देशको दीर्घकालीन आर्थिक हित र जनसंख्यात्मक सन्तुलनलाई ध्यानमा राख्दै पुनःसंरचना गरिनेछ।”

समस्याका समाधान र चुनौतीहरू

तर, यति धेरै आप्रवासन रोक्न खोज्दा बेलायतको स्वास्थ्य सेवा (एनएचएस) लगायतका क्षेत्रले ठूलो चुनौती सामना गर्नुपर्नेछ। एनएचएस जस्ता महत्वपूर्ण क्षेत्र विदेशी कामदारविना सञ्चालन गर्न नसक्ने अवस्थामा छन्।

विशेषज्ञहरूले भनेका छन्, “आप्रवासनको व्यवस्थापनले सार्वजनिक सेवाको स्थायित्व र देशको आर्थिक आवश्यकता बीच सन्तुलन कायम गर्नुपर्नेछ।”

सार्वजनिक धारणा

बेलायतमा आप्रवासनबारे सार्वजनिक मत विभाजित छ। धेरैले अत्यधिक आप्रवासनका कारण बढ्दो आवास संकट, ट्राफिक भीड, र सेवामा प्रतिस्पर्धाको कुरा उठाएका छन्। तर, रोजगारदाता र व्यवसायीहरूले दक्ष कामदारका लागि विदेशी नागरिकको आवश्यकता अझै बाँकी रहेको बताएका छन्।

यो परिस्थिति कसरी सुल्झाइनेछ भन्नेमा सरकारको आगामी नीति र कार्यान्वयनले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

ट्रम्पसँग कुरा गरेपछि मेक्सिकोकी राष्ट्रपतिले किन सफाइ दिनुपर्‍यो ?

0

काठमाडौं: मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीबारे अमेरिकाले स्पष्ट जानकारी दिनुपर्ने बताएकी छीन् । वास्तवमा यो वार्तालाई लिएर दुवै देशका नेताहरुले फरक–फरक अभिव्यक्ति दिएका छन् ।

बुधवार, ट्रम्पले भनेका थिए – ‘शेनबाउम मेक्सिकोबाट अवैध आप्रवासन रोक्न सहमत भएकी छिन्, जसले अमेरिकाको दक्षिणी सीमा बन्द गर्न नेतृत्व गर्नेछिन्।’

ट्रम्पको यो बयानपछि मेक्सिकोकी राष्ट्रपतिले बयान दिनुपरेको हो । शेनबाउमले भनेअनुसार उनले मेक्सिकोको स्थितिलाई मात्र दोहोर्याइन् र सिमाना बन्द गर्नुको सट्टा दुई देशका सरकार र जनता बीचको बलियो सम्बन्धको लागि आह्वान गरिन्।

यसअघि सोमबार ट्रम्पले जनवरीमा आफ्नो कार्यकाल सुरु भएपछि मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । उनले चीनमा १० प्रतिशत कर लगाउने घोषणा पनि गरेका छन् ।

मेक्सिको र क्यानडाले अमेरिकातर्फ हुने अवैध आप्रवासन र लागुऔषधको तस्करी रोक्ने हो भने मात्रै मेक्सिको र क्यानडालाई आयात शुल्कबाट छुट दिने ट्रम्पले बताएका छन् ।

सामाजिक सञ्जालबाट भ्रम फैलउनेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

0

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने जनाएको हो।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गृह मन्त्रालयको सूचनामा उल्लेख छ।

रवि लामिछानेको आजको बयान सकियो

0

काठमाडौँ: पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सरकारी वकिल कार्यालय, काठमाडौँमा सकिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा आज बिहानदेखि लामिछानेको बयान लिइएको थियो। आइतबार बयानलाई निरन्तरता दिने गरी आजको बयान प्रक्रिया समाप्त भएको जनाइएको छ। लामिछाने सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतको अनुमति अनुसार कार्तिक २ गते पक्राउ परेका थिए।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो। उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो।

आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ८९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग

0

गण्डकी: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता’का निम्ती भावी रणनीति तय गर्न आयोजित छलफल एवं अन्तरक्रियामा वक्ताहरूले विभिन्न कुनै पनि बहानामा अन्तर्राष्ट्रिय उडान गराउने कुरालाई प्रभावित पार्न नहुने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सङ्घको भावनात्मक सम्बन्ध गाँसिएको बताउँदै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताका लागि सङ्घले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने बताउनुुभयो ।

सङ्घको विसं २०४२ मङ्सिर २ गते भएको कार्यसमितिको बैठकबाट पोखरा विश्वविद्यालय एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति दबाब दिने, पैरवी गर्ने निर्णयसँगै त्यसपछि विभिन्न चरणको लामो सङ्घर्षका जगमा विमानस्थल बनेको उहाँले स्मरण गर्नुभयो ।

पछिल्लो समय विमानस्थलका प्राविधिक पक्षलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीको उत्तर खोज्न र अन्तर्राष्ट्रिय उडान सुनिश्चित होस् भन्ने हेतुले नै कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न ढिला भए पनि उडान नै हुँदैन भन्ने अफवाहलाई चिर्नुपर्ने बताउनुुभयो । उडान सुनिश्चित गर्नु सरकारको काम भएको र यात्रु खोज्ने काम निजी क्षेत्रले पनि गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विमानस्थल चल्दैन भन्ने सोचलाई तत्काल खारेज गर्नुपर्छ ।”

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडान हुनुुपर्ने धारणा राख्दै उडान सञ्चालनका लागि सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तत्काल पहल चाल्नुुपर्ने बताउनुुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जसुधा सुवेदीले विमानस्थल अत्याधुनिक रहेको बताउँदै हालसम्म भएका नौवटा अन्तर्राष्ट्रिय उडानले पनि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन भन्ने पुष्टि गरेको बताउनुुभयो ।

नागरिक उड्डयन प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकास साँघुरो भएको तथा वरपरका डाँडाहरुले केही समस्या पारे पनि अन्तर्राष्ट्रिय उडानका लागि कुनै अवरोध नभएको बताउनुुभयो । विमानस्थल बने पनि त्यसलाई सघाउने खालका पूर्वाधार अझै बन्न नसकेको औँल्याउँदै उहाँले विमान कम्पनीहरुलाई आकर्षित गर्न यात्रुको सुनिश्चिता पनि हुनुपर्ने बताउनुभयो ।

प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पका बेला एक सय ७९ टन सामान बोकेर चिनियाँ जहाज पोखरा झरेको स्मरण गराउँदै प्राविधिक रुपले समस्या रहेकाजस्ता कुरा हल्लामात्र भएको जिकिर गर्नुभयो । नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले जहाज चल्नका लागि यात्रु हुनुपर्ने तर्क गर्नुुभयो ।

कार्यक्रममा सङ्घका महासचिव शोभा गौतम, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, पर्यटन परिषद्का महासचिव जीवन सापकोटालगायतले अन्तराष्ट्रिय उडान नहुुनुुका पछि भू–राजनीति, नागरिक उड्डयन प्राधिकरणकै लापर्वाहीलगायत धारणा आइरहँदा प्राधिकरणले नै ती प्रश्नको जवाफ दिनुुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वाग्मतीमा मेलम्चीको पानी छाड्न मन्त्री यादवको निर्देशन

0

काठमाडौँ: खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी वाग्मती नदीमा छाड्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । केन्द्रबाट नदीमा नियमित रूपमा पानी प्रवाह गरेर पवित्र वाग्मती नदी सफा राख्ने कार्यमा लाग्न मन्त्री यादवले निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “सुन्दरीजलको प्रशोधन केन्द्रको पानी दैनिक रूपमा वाग्मती नदीमा छाड्नु होला, मेलम्चीको पानीले वाग्मती नदी पनि सफा हुनुपर्छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले नदी प्रवाहमा सहयोग गर्न केन्द्रको पानी वाग्मतीमा छाडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजदेखि हामीले करिब चार करोड लिटर पानी वाग्मतीमा छाडेका छौँ ।”

काठमाडौँ उपत्यकामा जनसङ्ख्याको आधारलाई मध्यनजर राख्दै सकभर दैनिक, नभएको खण्डमा एक दिन बिराएर भए पनि मेलम्चीको शुद्ध पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिनुभएको थियो ।

मन्त्री यादवले आजै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई बाला चतुर्दशीका दिन आराध्यदेव भगवान् पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्य कार्य गर्न पुग्नेगरी मेलम्चीको पानीको व्यवस्था मिलाउन भन्नुभएको छ ।

यस वर्ष पशुपति क्षेत्र विकास कोषले शुक्रबार बाला चतुर्दशी पर्वका अवसरमा कैलाश क्षेत्रमा मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको थियो ।

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

0

काठमाडौँ:हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।