Sunday, June 21, 2026
Home Blog Page 613

महान क्रिकेटर ब्रायन लारा काठमाडौँमा

0

काठमाडौं: वेस्ट इन्डिज क्रिकेटका महान् खेलाडी ब्रायन लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान साढे ८ बजे अवतरण गरेका छन्। उनी आफ्नी छोरीसहित नेपाल आएका हुन्। विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले लारा र उनकी छोरीलाई हार्दिक स्वागत गरेका थिए।

पत्रकारहरूसँग कुराकानी गर्दै लाराले यसअघि आफू भारत भ्रमणमा आइसके पनि नेपाल भने पहिलो पटक आएको बताए। उनले नेपाल आउन पाएकोमा अत्यन्तै खुसी व्यक्त गरे। “नेपालको प्राकृतिक सुन्दरता र यहाँको क्रिकेटप्रतिको उत्साहबारे धेरै सुनेको थिएँ, यहाँ आउन पाउँदा निकै सम्मानित महसुस भइरहेको छ,” उनले भने।

लाराले नेपालमा रहँदा त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आयोजना भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)का केही खेल हेर्ने कार्यक्रम तय भएको छ। खेल हेर्ने मात्र नभई उनले पाँच ओभरको कमेन्ट्रीसमेत गर्ने छन्। यो लाराको सहभागिताले नेपाली क्रिकेटप्रतिको अन्तर्राष्ट्रिय ध्यानाकर्षणमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ब्रायन लारा केवल वेस्ट इन्डिजका मात्र नभई विश्वकै एक उत्कृष्ट क्रिकेट खेलाडी मानिन्छन्। एकदिवसीय र टेस्ट क्रिकेटमा उनको कीर्तिमान अझै अप्रतिम छ। विशेष गरी, टेस्ट क्रिकेटमा ४०० रन बनाउने एक मात्र खेलाडीका रूपमा उनी चर्चित छन्। लाराको नेपाल आगमनले यहाँको क्रिकेट र खेलकुदमा उत्साह थप्ने र युवा खेलाडीहरूलाई प्रेरणा दिने विश्वास गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले लाराको आगमनलाई अवसरको रूपमा लिएको छ। एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने, नयाँ दर्शकहरूको ध्यानाकर्षण गर्ने, र युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग अन्तरक्रिया गराउने उद्देश्यले यो योजना अघि बढाइएको हो।

अनौपचारिक रुपमा, लाराले काठमाडौं उपत्यकाका केही पर्यटकीय क्षेत्र- स्वयम्भूनाथ, पशुपतिनाथ, र दरबार स्क्वायर जाने योजना बनाएको बताइएको छ। यसले खेलकुदमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

लाराको भ्रमणले नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसर प्रदान गरेको छ। उनीसँगको यो अन्तरक्रिया र अनुभवले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

 

आज देशभरको मौसम सफा रहने,तराईमा हुस्सु

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ ।

शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा

0

 

काठमाडौँ : मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति रु दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु एक खर्ब ५० अर्ब २४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु एक अर्ब ५३ करोडले बचतमा रहेको छ ।

यस्तै, चालु खाता रु एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ९७ अर्ब १० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ७३ करोड छ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु एक अर्ब छ करोडले बचतमा रहेको छ । सो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु एक अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु पाँच अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु तीन अर्ब ६५ करोड रहेको थियो ।

चालु आवको पहिलो चार महिनामा कुल वस्तु निर्यात चार दशमलव दुई प्रतिशतले वृद्धि भई रु ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको छभने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८ दशमलव तीन प्रतिशत र तीन प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिनालगायत वस्तुको निर्यात बढेको छभने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, जुस, अदुवालगायत वस्तुको निर्यात घटेको छ ।

यस्तै कुल वस्तु आयात शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई रु पाँच खर्ब १३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा तीन दशमलव आठ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः शून्य दशमलव नौ प्रतिशत र दुई दशमलव नौ प्रतिशतले वृद्धि भएको छभने अन्य मुलुकबाट भएको आयातमा पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, खानेतेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायत वस्तुको आयात बढेको छभने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्टस्, विद्युतीय उपकरण लगायत वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कन्चनपुर, रसुवा र तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

कुल वस्तु व्यापार घाटामा शून्य दशमलव तीन प्रतिशतले कमी आई रु चार खर्ब ६० अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा तीन दशमलव तीन प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव नौ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ५७ अर्ब २४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ५३ अर्ब ८४ करोड बराबरको भएको थियो ।

एनपिएलः आज दुई खेल हुँदै

0

काठमाडौँ: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा काठमाडौँ विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई पक्राउ

0

काठमाडौँ: प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका–९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर चाँगुनारायण नगरपालिका–४ एकान्त ठाउँमा यही मङ्सिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका–९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्सएपमार्फत अमेरीकी डलर सटही दर रेटभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ रु छ लाख ५० हजार ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो ।”

उनीहरुको साथबाट प्रहरीले स्कुटर एक थान र मोबाइल चार थान समेत बरामद गरी अनुसन्धान गरी कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान

0

काठमाडौँ: भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर ६ गते भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

प्रधान सेनापति सिग्देलले आजै भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गर्नु भएको छ । त्यसैगरी, उहाँले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गर्नु भएको निर्देशनालयले जनाएको छ ।

दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

0

काठमाडौँ: सामाखुसी यातायात प्रालिले रु १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको
हो ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,” उहाँले भन्नुभयो ।

सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ । काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिनुभयो । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा र कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ १७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ९० पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ४५ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एफबीआई निर्देशक क्रिस्टोफर रेले पद त्याग्ने घोषणा, काश पटेल नयाँ नेतृत्वका सम्भावित दाबेदार

0
काठमाडौं। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन) का निर्देशक क्रिस्टोफर रेले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

रेलेले बुधबार एफबीआईको आन्तरिक बैठकमा आफ्नो निर्णय सार्वजनिक गर्दै केही हप्ताको गहिरो विचारविमर्शपछि यो कदम उठाएको बताए। उनले भने, “म यो पदबाट राजीनामा दिने निर्णयमा पुगेको छु, यो संस्थाको उच्चतम मापदण्डलाई निरन्तर कायम राख्न आवश्यक छ।”

ट्रम्पको असन्तुष्टि र नेतृत्व परिवर्तनको संकेत

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो कार्यभार सुरु गर्नासाथ रेलेलाई पदबाट हटाउने सम्भावना प्रस्ट गरेका थिए। ट्रम्पले यसअघि नै एफबीआईको नयाँ नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम अगाडि सारेका छन्।

काश पटेलले एफबीआईको भूमिकालाई सीमित गर्न ‘नाटकीय सुधार’ आवश्यक रहेको बताएका छन्। उनले संगठनलाई “अत्यधिक शक्तिशाली” भएको आरोप लगाउँदै यसको कामकारवाहीमा व्यापक सुधार ल्याउने प्रतिबद्धता जनाएका छन्।

क्रिस्टोफर रे र ट्रम्पबीचको सम्बन्ध

रेलाई २०१७ मा डोनाल्ड ट्रम्पले एफबीआईको निर्देशकका रूपमा १० वर्षका लागि नियुक्त गरेका थिए। तर, ट्रम्पले दोस्रो कार्यकालको राष्ट्रपति चुनाव गुमाएपछि एफबीआईले ट्रम्प र उनका निकट सहयोगीहरूविरुद्ध अनुसन्धान सुरु गरेको थियो। यसले एफबीआई नेतृत्वमाथि रिपब्लिकनहरूबाट व्यापक आलोचना निम्त्यायो।

रेमाथि राजनीतिक दबाबका बीच आफ्नो निष्पक्षता कायम राख्न संघर्षरत एफबीआईको संस्थागत गरिमा बचाउन प्रमुख भूमिका निर्वाह गरेका थिए। तर, ट्रम्पको पछिल्लो जीतसँगै, रे र ट्रम्पबीचको तनावपूर्ण सम्बन्ध अन्ततः उनको पद त्यागसम्म पुग्यो।

काश पटेल: सम्भावित नयाँ निर्देशक

काश पटेल, जो ट्रम्पका कट्टर सहयोगी मानिन्छन्, एफबीआईको सन्तुलनलाई पुन: परिभाषित गर्ने योजनामा छन्। उनले अनुसन्धानका प्राथमिकताहरू परिवर्तन गर्न र संगठनको संरचनात्मक ढाँचामा आमूल परिवर्तन ल्याउन आग्रह गरेका छन्।

विश्लेषकहरूका अनुसार, एफबीआईमा काश पटेलको सम्भावित नियुक्तिले संगठनमा ठूलो विवाद निम्त्याउन सक्छ। कतिपयले यसलाई राजनीतिक प्रभाव विस्तारको प्रयासको रूपमा पनि हेरेका छन्।

एफबीआईको आगामी भविष्य

रेलेको राजीनामापछि एफबीआईको नेतृत्वमा हुने परिवर्तनले संगठनको विश्वसनीयता र कार्यप्रणालीमा गहिरो प्रभाव पार्नसक्छ। काश पटेलजस्ता व्यक्तित्वले नेतृत्व लिएमा एफबीआईले पारदर्शिता र राजनीतिक दबाब व्यवस्थापनका नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ।

विशेषज्ञहरू भन्छन्, “एफबीआईको भविष्य यस संस्थाले आफ्नो मूल मूल्यहरू र राजनीतिक हस्तक्षेपबीच कसरी सन्तुलन राख्छ भन्नेमा निर्भर गर्दछ।”

रेलेको राजीनामा र पटेलको सम्भावित नियुक्तिले अमेरिकी राजनीतिमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ।

बुल्गेरिया र रोमानियाले सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता पाए

0

ब्रसेल्स: युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्। ‘बुल्गेरिया र रोमानियालाई स्वागत गर्न पाउनु ऐतिहासिक क्षण हो,’ हंगेरीका गृहमन्त्री स्यान्डर पिन्टरले भने।

सन् २००७ देखि युरोपेली संघका सदस्य रहेका यी दुई देशलाई मार्चमा आंशिक रूपमा स्वतन्त्र आवागमन क्षेत्रमा जोडिएको थियो, जसले सीमा जाँच बिना हवाई र समुद्री यात्रा खुला गरेको थियो। यद्यपी, अस्ट्रियाले आप्रवासनको चिन्तालाई लिएर आफ्नो मुलुकमा पूर्ण प्रवेशमा रोक लगाएको थियो र यसले गर्दा स्वतन्त्र रूपमा आवतजावतमा समस्या रहेको थियो।

भियनाले सोमबार इयूका मन्त्रीहरूको बिहीबारको बैठकमा आफ्नो भिटो प्रयोग नगर्ने घोषणा गरेको छ, जसले जनवरी १, २०२५ देखि दुवैलाई पूर्ण सदस्य बन्ने मार्ग प्रशस्त गरेको छ।

बुखारेस्ट र सोफियाले सन् २०१० मा ब्रसेल्सले तोकेका सबै प्राविधिक मापदण्ड पूरा गरेका थिए तर विभिन्न सदस्य राष्ट्रहरूले उनीहरूको प्रवेशमा अवरोध गरेपछि सेन्जेन क्षेत्रमा सामेल हुन एक दशकभन्दा बढी समय पर्खिनु परेको थियो।

सन् २०२२ देखि अस्ट्रियाले उनीहरूको आवेदन रोकेको छ, जसले वर्षौंदेखि असुरक्षित बाह्य सेन्जेन सीमाहरूको परिणामस्वरूप कागजातविहीन आप्रवासीहरूको असमान संख्याको होस्टिङगको बारेमा गुनासो गर्दै आएको थियो। बुडापेस्टमा तीन देशले ‘सीमा सुरक्षा प्याकेज’ सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रियाले आफ्नो आपत्ति फिर्ता लिएको थियो।

सम्झौतामा बुल्गेरियाली–टर्की सीमामा संयुक्त रूपमा सीमा रक्षकको तैनाथी र स्थलमार्गमा अस्थायी सीमा नियन्त्रणको प्रारम्भिक अवधि छ महिनाको लागि हुने अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नरले बताएका छन्।

सन् १९८५ मा स्थापना भएको सेन्जेन जोनमा हाल २९ सदस्य रहेका छन् जसमा युरोपेली संघका २७ सदस्य राष्ट्रमध्ये २५ का साथै स्विट्जरल्याण्ड, नर्वे, आइसल्यान्ड र लिचेन्स्टाइन रहेका छन्। यो आन्तरिक सीमा नियन्त्रण बिना विश्वको सबैभन्दा ठूलो क्षेत्र हो, जहाँ ४० करोडभन्दा बढी मानिस यस क्षेत्रभित्र स्वतन्त्र रूपमा यात्रा गर्न सक्छन्।