Sunday, June 21, 2026
Home Blog Page 612

सरकार ऊर्जा क्षेत्रको विकासमा कटिबद्ध छः मन्त्री खड्का

0

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासका लागि सरकार कटिबद्ध भएर लागेको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले आज साँझ यहाँ आयोजना गरेको मुलुकको विकासका लागि ऊर्जा क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा उनले ऊर्जा क्षेत्रको विकास भए मात्र मुलुकको विकास सम्भव भएको बताएका हुन्।

ऊर्जामन्त्री खड्काले नेपालले पछिल्लो समय भारतमा ९५० र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेको बताए। उनले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे। कूल २८ हजार पाँच सय मेवावाट विद्युत् उत्पादन गर्न ४६ अर्ब अमेरिकन डलर लाग्ने मन्त्री खड्काको भनाइ थियो।

मन्त्री खड्काले स्रोतमाथिको अधिकार गरिब तथा धनी सबै वर्गका लागि हुने भएकाले सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न वर्गका लागि सरकारले दुई लाखदेखि पाँच लाखसम्मको बिना सहुलियत धितोको व्यवस्था गरेको उल्लेख गरे। ‘हुने वर्गका लागि भन्दा पनि नहने वर्गलाई लक्षित गरी सरकारले काम गरिरहेको छ’, उनले भने।

उनले आफूले राम्रो काम गरे पनि विभिन्न सञ्चार माध्यमले आफ्नो पछाडि लागेको भन्दै मुलुकको विकासका लागि नडराई काम गर्ने बताए। उर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणमा व्यापक सुधारको खाँचो रहेको उल्लेख गरे।

ऊर्जामन्त्री खड्काले विद्युत् खरिद सम्झौता (पिपिए) चाँडो खुल्ने स्पष्ट पारे। मन्त्री खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने स्पष्ट पारे।

दिउँसै चितुवा देखिन थालेपछि कलुवापुरका बासिन्दा त्रसित

0

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजार नजिकै आज दिउँसै वयस्क चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बजार क्षेत्र नजिकैको श्रीकृष्ण सामुदायिक वनको पूर्व पश्चिमराजमार्ग छेउमा रहेको घाटगद्दीमा चितुवा देखापरेको हो ।

स्थानीय बासिन्दाले चितुवा देखेपछि होहल्ला गरेर वन क्षेत्रभित्रै भगाएको सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले बताउनुभयो । अमरपुर र कलुवापुर बजारको बस्तीसँगै जोडिएको क्षेत्रमा दिउँसै चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उहाँले बताउनुभयो ।

ऐरका अनुसार एक साताअघि पूर्व पश्चिम राजमार्गको वनहरा पुल छेउमा स्थानीयले साँझपख पाटेबाघ देखापरेको थियो । “सामुदायिक वन संरक्षणको प्रयास स्वरुप घना झाडी भएसँगै जङ्गली जनावरको सङ्ख्या बढ्दो छ”, ऐरले भन्नुभयो, “नीलगाई, चितल, बँदेललगायत जनावर देखिने क्रमसँगै चितुवा र बाघ देखिन थालेपछि स्थानीय उपभोक्ताले वन क्षेत्रमा जान छाडेका छन् ।”

सामुदायिक वनको सभाहलमा बिहान योगाभ्यासको कार्यक्रम केही दिनदेखि सञ्चालन हँुदै आएकामा चितुवा देखिएपछि सुरक्षाका कारणले कार्यक्रम बन्द गर्नु परेको स्थानीय बासिन्दाको भनाइ छ । दिउँसै हिंस्रक जनावर देखिन थालेपछि साँझका बेला हिँड्डुल गर्न डराउनुपर्ने अवस्था आएको स्थानीय टेकबहादुर भण्डारीले बताउनुभयो ।

जलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्छः अध्यक्ष थापा

0

काठमाडौँ:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार सो पार्टीद्वारा यहाँ आयोजित ‘नेपालमा जलस्रोतको चुनौती र समाधान’ विषयक अन्तरक्रियामा उहाँले कसैको स्वार्थमा नेपालको जलसम्पदा प्रयोग हुन नदिन पर्याप्त राष्ट्रिय बहस र साझा धारणा आवश्यक रहेको बताउनुभयो ।

पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले सम्पदाको समुचित सदुपयोग गर्न नीति बन्न नसक्दा सिँचाइको क्षेत्रलाई ओझेलमा पारिएको, राजनीतिक दलहरूबीच पनि यति महत्वपूर्ण विषयमा गम्भी।र बहस हुन नसकेको धारणा राख्नुभयो ।

जलस्रोतविज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले जलस्रोत उपयोगका चुनौती र समाधानबारे कार्यपत्र प्रस्तुत गर्दै राजनीतिकीकरणको चपेटामा पर्दा नेपालको जलस्रोत क्षेत्र तहसनहस भएको बताउनुभयो।

पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम

0

गण्डकी: पोखरा महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन २०८१ अनुसार महानगपालिकाको कूल एक हजार १३ दरबन्दी स्वीकृत भएको छ ।

महानगरपालिकाको विशेष नगरसभाले ओएनम प्रतिवेदन अनुसार सो दरबन्दी स्वीकृत गरेको महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमल्सिनाले जानकारी दिनुुभयो । स्वास्थ्यअन्तर्गत सङ्घीय सरकारको एक सय ७८ समेत गरी महानगरपालिकामा कूल एक हजार एक सय ९१ दरबन्दी कायम भएको उहाँले जानकारी दिनुुभयो ।

नगरसभाले महानगरपालिकामा कार्यरत श्रेणिविहीनबाहेक करार कर्मचारीहरूको म्याद पुस मसान्तपछि थप नगर्ने र करार सेवामुक्त गरिएका ३५ जना करार कर्मचारीलाई थप दुुई महिनाको पारिश्रमिक बराबरको सेवा उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुुभयो ।

त्यस्तै गण्डकी प्रदेश किताब खानामा दर्ता हुने महानगरपालिकाको दरबन्दी संरचनामा नसमेटिएका अन्य स्थानीय तहबाट कामकाजमा रहेका दरबन्दीभन्दा बढीका कर्मचारीहरूलाई पदाधिकार रहेकै कार्यालयमा कनिष्ठताका आधारमा काज फिर्ता गर्ने, महानगरपालिकाको स्वीकृत दरबन्दी प्रदेश लोकसेवा आयोगबाट स्थायी पदपूर्ति नहुँदासम्म कर्मचारी आवश्यक परेमा लोकसेवा आयोगको अस्थायी योग्यता क्रमको सूचीबाट करारमा नियुक्ति गरी कामकाजमा लगाउने नगरसभाले निर्णय गरेको छ ।

अन्यत्र पालिकामा स्थायी नियुक्ति भई पोखरा महानगरपालिकामा कामकाज वा सरूवा भई आएका कर्मचारीको अन्यत्र पालिकामा कार्यरत अवधिको आधारमा प्राप्त हुने सेवा सुविधाको आर्थिक दायित्व नलिने निर्णय पारित गरेको छ ।

महानगरपालिकाको आन्तरिक सुशासन प्रवर्द्धन गर्न आर्थिक दायित्व पर्नेगरी कुनै कर्मचारी पदाधिकारीहरूको वैदेशिक भ्रमण स्वीकृत नगर्ने, कुनै आयोग, समिति र प्रतिष्ठान गठन नगर्ने, विनियोजन ऐनले तोकेको सीमाभन्दा बाहिर गएर कुनै योजना वा कार्यक्रममा रकमान्तर नगर्ने निर्णय गरेको छ ।

त्यस्तै बेरूजु असुली प्रक्रियालाई अभियानको रूपमा सञ्चालन गर्ने, महानगर गौरवका योजनाबाहेक कुनै योजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न परामर्शदाताको सेवा नलिने र राजस्व बक्यौता असुली कार्य योजना बनाइ आगामी नगरसभामा पेस गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुुभयो ।

प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस

0

काठमाडौँ: नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको शुक्रबार साँझ बसेको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक कुँवरले बताउनुभयो ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा कायम गरेको छ ।

यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह निर्वाचित

0

धनुषा: नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित हुनुभएको छ । साहले ८२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी हुनुभएको छभने उहाँका प्रतिस्पर्धी सञ्जीवकुमार झाले ४० मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी बरुणा कर्णले ४७ मत प्राप्त गर्नुभयो ।

सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत पाउनुभयो । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी हुुनुभयो । उहाँका प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाउनुभयो । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।

प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित हुनुभएको छभने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित हुनुभएको छ ।

अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …

0

काठमाडौँ: भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ ।

आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ । अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।

अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी रु एक लाख रकम रहेको आयोगले जनाएको छ ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो ? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न, नतिजा आउन बाँकी

0

काठमाडौँ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदान सकिएको छ।

महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति, ७७ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको हो।

मतदान सम्पन्न भएसँगै केन्द्रीय निर्वाचन आयोगले प्रक्रिया अनुसार मतगणना सुरु गर्ने जानकारी दिएको छ। आयोगका अनुसार मतगणना आजै रातिदेखि सुरु गरिनेछ र यथासम्भव छिटो अन्तिम परिणाम सार्वजनिक गरिनेछ।

‘मतदान सम्पन्न भइसकेको छ। अब परिणाम छिटो सार्वजनिक गर्ने तयारीमा जुटेका छौं,’ केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले जानकारी दिए। मतगणना मतदान भएको स्थानमै हुनेछ।

निर्वाचन समितिले शुक्रबार बिहान ९ः०० बजेबाट अपराह्न ४ः०० बजेसम्मलाई मतदानको समय तोकेको थियो।

महासंघको केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामा उम्मेदवार रहेका छन्। वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोशन पुरी प्रतिस्पर्धामा छन्।

त्यसैगरी, महिला उपाध्यक्षका लागि गंगा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहबीच प्रतिस्पर्धा हुनेछ। महासचिव पदमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपाने उम्मेदवार छन्।

एनपिएल: विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गर्यो

0

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो।

चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए। उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन बनाएका हुन्। यस्तै, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए।

चितवनका लागि हसन इसाखिलले पाँच, दीपक बोहराले दुई, बासिल हमिद र सोहेल तनवीरले एकरएक रन जोडे। विराटनगरको लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। यस्तै, क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एक/एक विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो। विराटनगरको लागि बसिर अहमदले अविजित रहँदै अर्धशतक बनाए। उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए।

त्यसैगरी मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दीपक बोहराले चार रन जोडे। बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए। यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिएका थिए।