Monday, June 22, 2026
Home Blog Page 599

अख्तियारले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान द्रुतगतिमा गर्नुपर्छ : मुख्यमन्त्री कार्की

0

मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभएको छ। विराटनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा मुख्यमन्त्री कार्कीले अनुसन्धानका नाममा काम लम्ब्याउनु अनुचित भएको तर्क गर्नुभयो।

उहाँले कानुनी रूपमा गर्नुपर्ने कामलाई समयमा सम्पन्न गर्न र गलत काम गर्नेहरूमाथि थप जनशक्ति परिचालन गरी छिटो निष्कर्षमा पुग्न आयोगलाई सुझाव दिनुभयो। आयोगको कामप्रति सरकार, जनता, र सञ्चार माध्यम सन्तुष्ट नभएको धारणा राख्दै उहाँले बेनामे उजुरी नलिन आग्रह गर्नुभयो। यसबाट अन्य भ्रष्टाचारसम्बन्धी मुद्दाको अनुसन्धानलाई सहज बनाउने उहाँको विश्वास छ।

मुख्यमन्त्रीले जनप्रतिनिधिहरूले विधिको शासन र कानुनी प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिँदै यसले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सरकार जिम्मेवारीपूर्वक भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि क्रियाशील रहेको बताउनुभयो। आयोगका आयुक्त डा. हरि पौडेलले बेनामे उजुरीले ठूला भ्रष्टाचारजन्य घटनाबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै गलत प्रवृत्तिका उजुरीलाई तामेलीमा राखिने गरेको जानकारी दिनुभयो।

त्यसैगरी, आयोगका सह न्यायायाधिवक्ता गङ्गाप्रसाद पौडेल र इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले आयोगले गरेका कार्य र उपलब्धिबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।

आयोगका उपसचिव नीरजकुमार देवले हरेक प्रदेशमा यस प्रकारका कार्यक्रम सञ्चालन गरी भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जनचेतना फैलाउने उद्देश्य रहेको बताउनुभयो। कार्यक्रममा प्रदेशका मन्त्रीहरू, स्थानीय तहका प्रमुख–उपप्रमुख, र विभिन्न निकायका कर्मचारीहरूको सहभागिता थियो।

मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स

0

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ।

जनकपुर बोल्ट्सका अनुसार ट्रफी परेड शुक्रबारदेखि सुरु हुने छ। बिहीबार जनकपुरधाम पुगेको टोलीले रामजानकी मन्दिरबाट परेडको सुरुवात गर्ने तयारी गरेको छ। यो परेड सोमबार सप्तरीको राजविराजमा समापन हुने जनाइएको छ।

पहिलो दिन धनुषाको रामजानकी मन्दिरबाट परेड सुरु हुनेछ। मन्दिरबाट सुरु भएर रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर पहिलो दिनको कार्यक्रम सम्पन्न हुनेछ।

दोस्रो दिन महोत्तरी, सप्तरी, र रौतहटका विभिन्न स्थानमा परेड आयोजना गरिनेछ। तेस्रो दिन भने बारा र पर्साका क्षेत्रहरूमा ट्रफी परेड हुने जनाइएको छ। चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम गरी ट्रफी परेड समापन हुनेछ।

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पाँच विकेटले पराजित गर्दै एनपिएलको पहिलो उपाधि जितेको हो। यस विजयी यात्रासँगै जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख पुरस्कार प्राप्त गरेको छ।

राष्ट्रिय एकता दिवसमा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने

0

दमौली (तनहुँ): राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।

पुस २७ गते ४३ किलोमिटर म्याराथन हुने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । म्याराथनको तयारी थालिएको उहाँले बताउनुभयो ।

धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी– गाउँपालिकाको कार्यालय– अर्खलाछाप–काफलडाँडा– पुरानो ऋषिङ–पोखरीभञ्ज्याङ–गोठादी–ढुङ्गाडे–चालिसे–भिरकोट– अर्चल्दी–मौरीबास–दाङसिरी–दुवुङकोटमा टुङ्गिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार तृतीय हुनेलाई रु २५ हजार र एक जनालाई सान्त्वना पुरस्कार रु दश हजार प्रदान गरिनेछ ।

भुटानी नेपाली समुदायको प्रेमकथामा आधारित ‘सानुमाया’

0

काठमाडौं: भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको म्युजिक भिडियो ‘सानुमाया’ सार्वजनिक गरिएको छ। यस भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथाको माध्यमबाट पहिचान, संघर्ष, र प्रेमका गहिरा भावना प्रस्तुत गरेको छ।

‘सानुमाया’ ले सामाजिक संघर्ष, पहिचानको अभाव, र प्रेम तथा करियरबीचको द्वन्द्वलाई भावनात्मक रूपमा उजागर गर्दै भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्वलाई कलात्मक रूपमा उजागर गर्न प्रयास गरेको छ।

यो म्युजिक भिडियो विवेक रसाइलीको लेखन तथा निर्देशनमा तयार भएको हो। भिडियोमा मिरुना मगर, दीपक रसाइली, र प्रेम सुब्बाको अभिनय देख्न सकिन्छ। विशेष गरी, मिरुनाको भूमिकाले प्रेम र करियरबीचको संघर्ष झल्काउँदै समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गरेको छ।

मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जसले आफ्नो करियर र प्रेमबीचको छनोट गर्नुपरेको कठिनाइलाई पर्दामा जीवन्त बनाएकी छिन्। यो पात्रले पहिचान गुमाउने अवस्थाबाट आउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने स्थितिलाई भावुक तर सशक्त शैलीमा प्रस्तुत गरेको छ। गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रहरूको गहिरो भावनासँग जोड्न मद्दत गर्दछ।

‘सानुमाया’ को कार्यकारी निर्माताका रूपमा विजय बस्याल रहेका छन्, भने रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन्।

यो म्युजिक भिडियो भिजुअल आर्ट्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यसले दर्शकलाई भुटानी नेपाली समुदायको वास्तविकता, संघर्ष, र सांस्कृतिक गहिराइ अनुभव गराउने छ।

एसइईका लागि परीक्षा आवेदन फाराम खुल्यो

0

काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि परीक्षा आवेदन फारम खुला गरेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरेको छ। नियमित अध्ययन गरिरहेका विद्यार्थीहरूका साथै माध्यमिक तहका खुला विद्यालय, वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय, र प्राविधिक धारका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन्।

आवेदन फारम २०८१ पौष १२ देखि माघ १२ गतेभित्र सम्बन्धित निकायमा बुझाउनुपर्नेछ। परीक्षार्थीले प्रति व्यक्ति रु पाँच सय दस्तुरसहित आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

साथै, शिक्षा विकास निर्देशनालयहरूलाई परीक्षा आवेदन फारम संकलन, परीक्षा केन्द्र निर्धारण, र अन्य समन्वयात्मक कार्यहरूमा शिक्षा विकास तथा समन्वय इकाईहरूसँग सहकार्य गर्न आग्रह गरिएको छ।

कार्यालयले आवेदन प्रक्रियालाई समयमै पूरा गर्न सबै पक्षलाई आवश्यक तयारी गर्न पनि अनुरोध गरेको छ।

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक

0

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपलाई थप जटिल बनाउँदै लगेको बताउनुभएको छ। काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक विविधताले भरिपूर्ण छ। यहाँको भू-भाग, जलवायु र वातावरणीय संरचनाले प्राकृतिक तथा मानव सिर्जित विपद्को सम्भावना धेरै बनाएको छ। विपद् जोखिम न्यूनीकरणका लागि निर्माण गरिएका संरचनाहरूलाई थप बलियो बनाउनु जरुरी छ।” सङ्घदेखि स्थानीय तहका वडासम्मका संरचनाहरूलाई सुदृढ बनाउन आवश्यक रहेको उहाँको धारणा थियो।

गृहमन्त्री लेखकले नेपाल विपद् जोखिमको उच्च जोखिममा रहेको बताउँदै सबै पक्ष मिलेर यस क्षेत्रमा पहल गर्नुपर्नेमा जोड दिनुभयो। “देशभरका बहुक्षेत्रीय र बहुआयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर विपद्का चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति तयार गर्ने यो सम्मेलन अत्यन्त महत्वपूर्ण रहने विश्वास छ,” उहाँले भन्नुभयो।

नेपाल प्राकृतिक र मानवीय कारणले सिर्जित विपद् जोखिममा विश्वकै संवेदनशील मुलुकहरूमध्ये एक भएको उल्लेख गर्दै उहाँले विविध भूगोलले प्राकृतिक सम्पदामा धनी भए पनि जोखिमका दृष्टिकोणले संवेदनशील बनाएको तथ्य औंल्याउनुभयो।

गृहमन्त्री लेखकले पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो, चट्याङजस्ता विपद् बढ्दै गएकाे र यी अझ जटिल बन्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद्ले जलवायु परिवर्तनका चुनौतीहरूप्रति हामीलाई थप संवेदनशील बनाएको छ। यसका लागि बहुआयामिक र वैज्ञानिक दृष्टिकोण आवश्यक छ।”

उहाँले समुदायमा आधारित दृष्टिकोण र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय तहमा विपद् व्यवस्थापन योजना निर्माण, क्षमता अभिवृद्धि र जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। साथै, प्रकोप व्यवस्थापनसम्बन्धी नीति तथा ऐनलाई बलियो बनाएर यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

गृहमन्त्री लेखकले प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सक्ने प्रविधि र सूचना प्रणाली सुदृढ गर्दै विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो। नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीति निर्माण र संरचनात्मक सुधारमा उल्लेखनीय प्रगति गरेको उहाँले जानकारी दिनुभयो।

सिरियामा असद समर्थकहरूले गरेको आक्रमणमा १४ सुरक्षाकर्मी मारिए

0

काठमाडौं: सिरियाका विद्रोही नेतृत्वको सरकारी अधिकारीहरूले पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूले गरेको आक्रमणमा गृह मन्त्रालयका १४ सुरक्षाकर्मीको मृत्यु भएको बताएका छन्।

यस आक्रमणमा १० जना घाइते पनि भएका छन् । मंगलबार टार्टस बन्दरगाह नजिकै यो हमला भएको अधिकारीहरुले बताएका छन् ।

रिपोर्टका अनुसार सुरक्षाकर्मीहरू सिरियाको कुख्यात सैदनाया जेलमा संलग्न एक पूर्व अधिकारीलाई पक्राउ गर्न गएका थिए, जब उनीहरूमाथि आक्रमण भएको थियो।

असद सरकार करिब दुई हप्ता अघि सिरियामा पतन भएको थियो र अहिले विद्रोही इस्लामिक संगठन हयात अल-तहरिर (एचटीएस) को नियन्त्रणमा छ।

रुसको मिसाइल आक्रमणपछि जेलेन्स्कीले भने – ‘पुटिनले जानाजानी क्रिसमसको दिन रोजे’

0

काठमाडौं: युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्रिसमसको पवित्र दिनमा रुसले गरेको ठूलो हमला पछि कडा प्रतिक्रिया दिएका छन्। उनले यो हमला योजनाबद्ध र जानाजानी गरिएको दाबी गर्दै यसलाई “अमानवीय कार्य” भनेका छन्।

जेलेन्स्कीले भने, “हरेक ठूला रुसी आक्रमणले तयारीको समय लिन्छ। यस्ता आक्रमण पूर्व योजनाबिना हुँदैनन्। यो केवल लक्ष्य मात्र होइन, समय र मितिको पनि सचेत रूपमा चयन गरिएको निर्णय हो। पुटिनले क्रिसमसको दिनलाई हमलाको लागि रोजेर, आफ्नो अमानवीय सोचको परिचय दिएका छन्।”

७० भन्दा बढी मिसाइल र १०० भन्दा बढी ड्रोन प्रयोग
जेलेन्स्कीका अनुसार, आक्रमणका क्रममा रुसले ब्यालेस्टिक मिसाइलसहित ७० भन्दा बढी मिसाइल र १०० भन्दा बढी ड्रोन प्रयोग गरेर युक्रेनका महत्वपूर्ण ऊर्जा प्लान्टहरूलाई निशाना बनाएको छ।

उनले भने, “तिनीहरू अन्धकार ल्याउन खोजिरहेका छन्। हाम्रो ऊर्जा प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यले गरिएको यो हमला केवल भौतिक संरचनामाथिको होइन, युक्रेनी जनताको आत्मबलमाथिको पनि हमला हो। तर, युक्रेनको मनोबललाई तोड्न सक्ने क्षमता तिनीहरूको छैन।”

५० भन्दा बढी क्षेप्यास्त्र नष्ट

युक्रेनी सेनाले प्रभावकारी प्रतिरोध गरेको उल्लेख गर्दै जेलेन्स्कीले भने, “प्रारम्भिक जानकारीअनुसार हाम्रो सेनाले ५० भन्दा बढी मिसाइल र ड्रोनलाई खसाल्न सफल भएको छ। तर, दुर्भाग्यवश, केही ठाउँहरूमा हमलाका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ। अहिले हाम्रो टोलीहरूले बिजुली पुनर्स्थापना गर्न अथक प्रयास गरिरहेका छन्।”

सेना र जनताको साहसको प्रशंसा

राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेना र आपतकालीन सेवामा खटिएका सबैलाई धन्यवाद दिंदै भने, “जो मोर्चामा तैनाथ छन्, जो हाम्रो सुरक्षाका लागि खटिएका छन्, र जो अहिले देशको सेवा गरिरहेका छन्, उनीहरूको साहस र योगदानलाई म नमन गर्दछु। रुसले कुनैपनि हमला गरे पनि युक्रेनको आत्मबल नतोडिनेछ। हाम्रो क्रिसमस अमर रहनेछ।”

अन्तर्राष्ट्रिय प्रतिक्रिया

यस आक्रमणले अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बढाएको छ। युरोपेली संघ, अमेरिका, र नाटोले रुसी आक्रमणको आलोचना गर्दै युक्रेनलाई थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

युक्रेनको राष्ट्रपति कार्यालयले क्रिसमस जस्तो विशेष दिनमा रुसी आक्रमणलाई “आधुनिक युगको क्रूरता” भनेको छ। युक्रेनले आफ्नो सुरक्षा र सम्प्रभुताका लागि लडाइँ जारी राख्ने दृढता प्रकट गरेको छ।

(थप जानकारी प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।)

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

0

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ।

विभागले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्र्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो।

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्नसक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ।

‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ’, विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।

धर्मपुत्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी समलिङ्गी जोडीलाई सय वर्ष जेल

0

न्यूयोर्क। अमेरिकाको जर्जियामा एक समलिङ्गी जोडीलाई १०० वर्षको जेल सजाय सुनाइएको घटना सार्वजनिक भएको छ।

यो घटना अनलाइन समाचार माध्यमहरूमा व्यापक रूपमा प्रकाशित भएको छ। दुई धर्मपुत्र छोराहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर भएका जैचरी जुलॉक र विलियम डेललाई अदालतले बाल यौन शोषणसम्बन्धी गम्भीर अपराधमा सजाय सुनाएको हो। उनीहरूले यौन दुर्व्यवहारको फुटेज रेकर्ड गरी आफ्ना साथीहरूलाई बाँडेको समेत पाइएको छ।

घटना कसरी सुरु भयो?

सन् २०२२ मा वाल्टन काउन्टीका डेपुटीहरूले गुगल खातामा अपलोड गरिएको बाल यौन दुर्व्यवहारको सामग्री फेला पारेपछि यो घटना बाहिर आएको हो। अनुसन्धानका क्रममा हन्टर ललेस नामका व्यक्तिले उक्त भिडियो जैचरी जुलॉकबाट प्राप्त भएको बताएका थिए। यसपछि अनुसन्धानले जुलॉक र विलियम डेलको संलग्नता पत्ता लगायो।

जोडीको पृष्ठभूमि

जुलॉक र डेल एक समलिङ्गी जोडी हुन्, जसले १० र १२ वर्षका दुई बच्चाहरूलाई धर्मपुत्रका रूपमा अपनाएका थिए। बच्चाहरूलाई क्रिस्चियन विशेष आवश्यकता एजेन्सीबाट दत्तक दिइएको थियो। दम्पती एटलान्टामा बसोबास गर्थे, जहाँ जुलॉक बैंक कर्मचारी थिए र डेल सरकारी कर्मचारीको रूपमा कार्यरत थिए।

अदालतको बयान र सजाय

जिल्ला न्यायाधीश र्यान्डी म्याकगिन्लीका अनुसार, यी दम्पतीले आफ्ना आपराधिक इच्छा पूरा गर्न ‘भूतको घर’ बनाएर बच्चाहरूलाई दुर्व्यवहार गरेका थिए। अदालतले उनीहरूलाई बाल यौन दुर्व्यवहार र अन्य अपराधका लागि बिना प्यारोल १०० वर्षको जेल सजाय सुनाएको छ।

समाजमा असर

यो घटना सार्वजनिक भएपछि अमेरिकामा धर्मपुत्र/धर्मपुत्री दत्तक प्रक्रियाको निगरानीमा सुधार गर्नुपर्ने आवाज उठिरहेको छ। यसले बालबालिकाको सुरक्षाका लागि कडा कानुनी प्रक्रिया र समुदायको सतर्कता आवश्यक रहेको देखाएको छ।

यो समाचारले केवल अपराधको गम्भीरतालाई मात्र उजागर गरेको छैन, बरु बालबालिकाको सुरक्षाका लागि समाजको जिम्मेवारीतर्फ ध्यानाकर्षण गरेको छ।