Wednesday, June 24, 2026
Home Blog Page 569

जन्मका आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतले रोक लगायो

0

काठमाडौं। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको गैर-अमेरिकी अभिभावकका सन्तानलाई जन्मका आधारमा अमेरिकी नागरिकता स्वतः दिने व्यवस्था खारेज गर्ने कार्यकारी आदेशलाई अमेरिकी अदालतले रोकेको छ।

सिएटलस्थित संघीय अदालतका न्यायाधीशले उक्त आदेशमा अस्थायी रोक लगाएका हुन्। यो मुद्दामा चारवटा अमेरिकी राज्यले ट्रम्पको कार्यकारी आदेशप्रति आपत्ति जनाउँदै अदालतमा रोक लगाउन माग गरेका थिए।

अदालतको प्रश्न: के यो संवैधानिक हो?
अमेरिकी न्याय विभागका वकिलले ट्रम्पको आदेशलाई सही ठहराउन तर्क गरिरहेकै बेला संघीय न्यायाधीशले सोधे, “के यो संवैधानिक हो?” यस प्रश्नले आदेशको कानूनी वैधतामाथि गम्भीर शंका उत्पन्न गराएको छ।

ट्रम्पको आदेशले विभिन्न अवस्थाहरूमा अमेरिकामा जन्मिएका बालबालिकालाई अमेरिकी नागरिकता प्रदान नगर्ने प्रावधान समेटेको छ। विशेषतः यदि बालबालिकाका अभिभावकमध्ये कुनै एक वा दुवै गैरकानूनी रूपमा अमेरिकामा बसोबास गरिरहेका छन् भने तिनका सन्तान अमेरिकी नागरिक मानिने छैनन्।

ट्रम्पको आदेशका विवादास्पद प्रावधानहरू
ट्रम्पको कार्यकारी आदेशले निम्न परिस्थितिमा जन्मिएका बालबालिकालाई नागरिकता दिन रोक लगाउने प्रावधान समेटेको थियो:

यदि बच्चाकी आमा अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेकी छिन्।
यदि बच्चाका बुबा अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा छैनन्।
यदि बच्चाकी आमा अमेरिकी कानुनी तर अस्थायी निवासकी हुन्।
यदि बच्चाका बुबा अमेरिकी नागरिकता वा कानूनी स्थायी बासिन्दाको हैसियतमा छैनन्।
ट्रम्पको यो कार्यकारी आदेश २०२५ को फेब्रुअरी १९ देखि लागू हुने भनिएको थियो।

राजनीतिक प्रभाव र विरोध
यो आदेशलाई राष्ट्रपति ट्रम्पको कडा आप्रवासन नीतिको अर्को उदाहरणका रूपमा हेरिएको छ। यसले अमेरिकी संविधानको १४औँ संशोधनको उल्लंघन गर्ने भन्दै चौतर्फी आलोचना बटुलिरहेको छ। उक्त संशोधनमा स्पष्ट रूपमा भनिएको छ कि अमेरिकामा जन्मिएका सबै व्यक्तिहरू स्वतः अमेरिकी नागरिक हुनेछन्।

चारवटा राज्य—न्यूयोर्क, क्यालिफोर्निया, वाशिंगटन, र मेसाचुसेट्स—ले आदेशलाई संवैधानिक रूपमा गलत र विभाजनकारी भएको आरोप लगाउँदै अदालतमा चुनौती दिएका थिए।

विशेषज्ञहरूको धारणा
कानूनी विशेषज्ञहरूका अनुसार ट्रम्पको आदेशले संवैधानिक प्रावधानमाथि गम्भीर प्रश्न उठाएको छ। यो आदेश अदालतमा संवैधानिक परीक्षणको सामना गर्नुपर्ने सम्भावना छ, जसले अमेरिकी नागरिकता व्यवस्थापनमा दीर्घकालीन प्रभाव पार्न सक्छ।

ट्रम्पको तर्क
ट्रम्पले आफ्नो आदेशलाई बचाउ गर्दै भनेका छन् कि यो कदम अमेरिकी स्रोतहरूको दुरुपयोग रोक्न र गैरकानूनी आप्रवासन नियन्त्रण गर्न आवश्यक छ। उनले भनेका थिए, “हाम्रो देशलाई सुरक्षित राख्न र हाम्रो प्रणालीलाई सुधार गर्न यो कदम अनिवार्य छ।”

आगामी दिनमा के हुन्छ?
अदालतले अहिले अस्थायी रूपमा रोक लगाए पनि यस मुद्दामा अन्तिम फैसला अझै आउन बाँकी छ। यो प्रकरणले ट्रम्पको आप्रवासन नीतिको विरुद्ध लामो कानूनी लडाइँ निम्त्याउने देखिन्छ।

ट्रम्पको चेतावनीमा रुसको प्रतिक्रिया – ‘धम्कीमा केही नयाँ देखिँदैन’

0

काठमाडौं। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न चेतावनी दिएपछि रुसले “समान वार्ता र पारस्परिक सम्मानजनक संवाद”को तयारी रहेको प्रतिक्रिया दिएको छ।

रुसको यो भनाइ ट्रम्पको बयानपछि आएको हो। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमार्फत मस्कोलाई चेतावनी दिएका थिए। उनले भनेका थिए, “यदि रुसले युक्रेनमाथिको आक्रमण रोकेन भने, उसमाथि कडा आर्थिक प्रतिबन्धहरू लगाइनेछन्।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको चेतावनीलाई लिएर प्रतिक्रिया दिँदै भने, “रुसले ट्रम्पको प्रतिबन्धको धम्कीमा कुनै नयाँ कुरा देखेको छैन। यस्ता विधिहरू ट्रम्पलाई उनको पहिलो कार्यकालमै मनपर्ने थिए।”

पेस्कोभले थपे, “हामी अझै पनि ट्रम्पबाट आउन सक्ने थप संकेतहरूको पर्खाइमा छौं। यदि अमेरिकी नेतृत्वले वार्ताको वातावरण तयार गर्न चाहन्छ भने, त्यसका लागि समान र सम्मानजनक संवाद आवश्यक छ।”

यस्तै, संयुक्त राष्ट्रसंघका लागि रुसका उप राजदूत दिमित्री पोल्यान्स्कीले पनि आफ्नो विचार राख्दै भने, “हामी ट्रम्पले युद्ध अन्त्यका लागि के चाहन्छन् भन्ने कुरा स्पष्ट गर्न चाहन्छौं। सहमति र वार्ताका लागि आवश्यक कदमबारे स्पष्टता जरुरी छ।”

ट्रम्पले आफ्नो लामो पोस्टमा भनेका छन्, “म रुसमाथि दबाब सिर्जना गर्न खोजिरहेको छैन। वास्तवमा, म रुसी जनतालाई माया गर्छु। कट्टरपन्थी वामपन्थीहरूले सिर्जना गरेको अराजकताको बाबजुद मैले राष्ट्रपति पुटिनसँग सधैं राम्रो सम्बन्ध राखेको छु।”

उनले दोस्रो विश्वयुद्धको सन्दर्भ उल्लेख गर्दै भनेका छन्, “हामीले बिर्सनु हुँदैन कि रुसले दोस्रो विश्वयुद्ध जित्न सहयोग गरेको थियो। त्यतिखेर रुसले झण्डै ६० लाख मानिस गुमायो। म रुसलाई आर्थिक राहत दिने र यस बेकारको युद्ध रोक्न प्रेरित गर्न चाहन्छु। यदि यो युद्ध तुरुन्त रोकिएन भने यो अझ बढी खराब हुने सम्भावना छ।”

उनले थप चेतावनी दिए, “यदि हामीले सहमतिको मार्ग पत्ता लगाउन सकेनौँ भने, मेरो सरकारसँग रुसमाथि भारी कर, आयात शुल्क, र प्रतिबन्ध लगाउने विकल्प पनि खुला छ। तर यो मेरो प्राथमिकता होइन। म वार्ता र शान्तिपूर्ण समाधानमा विश्वास राख्छु।”

ट्रम्पको यो टिप्पणीले अमेरिकी राजनीतिक वृत्तमा हलचल ल्याएको छ। २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिएका ट्रम्पले आफ्नो कूटनीतिक शैलीलाई अगाडि सार्दै युक्रेन युद्धलाई चुनावी मुद्दा बनाउन चाहेको प्रष्ट देखिन्छ।

रुसको प्रारम्भिक प्रतिक्रियाले वार्ताको संकेत देखाए पनि युद्ध अन्त्यका लागि ठोस कदम उठाउन विश्व नेताहरूको दबाब आवश्यक देखिन्छ।

रविविरुद्धको मुद्दामा आज पनि आएन आदेश; आइतबारसम्म पर्खनुपर्ने

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको आदेश शुक्रबार पनि आउन सकेन।

रूपन्देही जिल्ला अदालतमा बुटवलको सुप्रिम सहकारी प्रकरणसँग सम्बन्धित लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

शुक्रबार भएको थुनछेक बहस नसकिएपछि आदेश अब आइतबारमात्र आउने बताइएको छ। बुधबार अदालतमा उपस्थित भएका लामिछानेको मुद्दामा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस जारी छ।

सरकारी र जाहेरकर्ताको तर्फबाट बहस सम्पन्न

मुद्दाको पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलसहित गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए। यस्तै, उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस अघि बढाए।

जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्रराज भण्डारीसहित चार कानुन व्यवसायीले बहस पूरा गरेका छन्।

लामिछानेको तर्फबाट बहस आइतबार हुने
शुक्रबार चिया समयपछि मात्रै लामिछानेका तर्फबाट कानुन व्यवसायीहरूको बहस सुरु भएको थियो। वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाको मात्र बहस सकिएको छ। अब आइतबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता डा. नारायण कँडेल, राजेन्द्र सेढाई र सुरज बस्नेतले बहस गर्नेछन्।

सुप्रिम सहकारीमा हिनामिनाको आरोप

सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको छ। रवि लामिछानेलाई भने यो मुद्दामा पुरक उजुरीका आधारमा प्रतिवादी बनाइएको हो।

प्रहरी अनुसन्धानका अनुसार सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पाइएको छ। यसमध्ये २ करोड रुपैयाँ लामिछानेको नाममा ऋणका रूपमा लिएको देखिएको छ।

लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए। बुटवलपछि उनलाई चितवन र पर्साका अदालतहरूमा पनि बयान दिन बाँकी छ।

काभ्रेको महाभारतमा डढेलो नियन्त्रण गर्न सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

0

काभ्रेपलाञ्चोक: जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ । आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो ।

आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । उहँँका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् । “हामीले आगलागी क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ, अधिकारीले भन्नुभयो ।

खानीखोला गाउँपालिका–१ थामलेकडाँडास्थित सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताउनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट आगलागी सुरू भएको हो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाउँदै आएको छ । कार्यालयले आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले बुधबार साँझदेखि नै त्यसतर्फ पठाइएको जिल्लास्थित नेपाली सेना तथा प्रहरीका विभिन्न युनिटको टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताउनुभयो । “उहाँहरूले सोहीअनुसार कार्य गरिरहनुभएको छ, आगलागी थप फैलिरहेको भन्ने सूचना आएको छ, सुरक्षा निकायसहित हामी त्यसप्रति संवेदशील छौँ”, उहाँले भन्नुभयो । आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि अन्य सरोकारवाला निकाय (गृह मन्त्रालय) सँग थप समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताउनुभयो ।

यसैगरी पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरको बासस्थान रहेको महाभारत जङ्गलमा तीन दिनदेखि आगलागी भइरहेको हो । बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउको माथिल्लो क्षेत्रको बस्ती आगलागीको नजिक रहेको बताइएको छ । त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रूख, जङ्गली जनावर तथा चराको बासस्थान रहेको यस क्षेत्रलाई जोगाउन आवश्यक छ देखिएको स्थानीय बताउँछन् । आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज, प्रधानमन्त्री ओली सहभागी हुने

0

लुम्बिनी: राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ ।

आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो । आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन् ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो ।

विशाल चट्टानले युक्त भिरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । २०७६ मङ्सिर २ गते सुरुङमार्गका लागि रु १० अर्ब १५ करोड स्रोत सुनिश्चित भएको थियो । हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी एक सय ५० जनाले नियमित काम गरिरहेका छन् । छिचोलिएको सुरुङभित्र पसेर सेकेण्डरी सपोर्टको काम भइरहेको छ ।

सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’

सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा सडकमा मुख्य जोखिम क्षेत्रलाई छाडेर छोटो सुरुङ बनाइएको आम बुझाइ छ । सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा तीन हजार पाँच सय मिटर लामो रकनेट (जाली) र स्लोप प्रोटेक्सन गरिनेछ । यो सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिने छ । अष्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ । सोहीअनुसारका नयाँ डिजाइनमा रकसेट र स्लोप प्रोटेक्सनको काम हुने सुरुङमार्गका इञ्जिनियर श्रीजेस पौडेलले बताउनुहुन्छ । यसअघि इञ्जिनियर पौडेल नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माणमा संलग्न हुनुहुन्थ्यो । दुवै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिने इञ्जिनियर पौडेलले बताउनुभयो ।

अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा पहिरो झरिरहन्छ । दोभानदेखि बुटवलको चिडियाखोलासम्मको पाँच किलोमिटर क्षेत्र जोखिमपूर्ण मानिन्छ । बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति हुने यो खण्डलाई सुरक्षित बनाउन सुरुङ निर्माण थालिएको हो ।

बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै

प्रधानमन्त्री ओलीले आजै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । उक्त आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बुटवल उपमहानगरपालिका–१३ जितगढीमा प्रधानमन्त्रीले शिलान्यास गर्नुहुने बताउनुभयो ।

सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक स्तरोन्नति
गर्दैछ । बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने आयोजना प्रमुख न्यौपानेले बताउनुभयो ।

आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का भएकाले काम पनि दुईतर्फबाट एकैपटक हुनेछ । पचास किलोमिटर सडकअन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।

पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन् ।

आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल

0

धरान (सुनसरी): स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल र फार्मेसीबाट आवश्यकताअनुसार औषधि उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताएका छन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित फार्मेसी भवनको उद्घाटन कार्यक्रममा उहाँले फार्मेसीलाई व्यवस्थित गर्दै आम्दानी बढाउने योजनामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री पौडेलले भन्नुभयो, “आम्दानी हुनेगरी फार्मेसीलाई व्यवस्थित गर्नुपर्छ।” उहाँका अनुसार फार्मेसीको माध्यमबाट अस्पतालको आम्दानी वृद्धि गर्न सकिन्छ। साथै, सरकारले लगानी गरेका सामुदायिक स्वास्थ्य संस्थाहरूले आर्थिक रूपले कमजोर बिरामीलाई निःशुल्क सेवा र सक्षमलाई सुलभ दरमा उपचार उपलब्ध गराउनुपर्नेमा उहाँले विशेष ध्यान दिनुपर्ने बताए।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भए पनि त्यसलाई प्रभावकारी बनाउन अझै सुधार आवश्यक रहेको बताए। उहाँले स्वास्थ्यकर्मीहरूको क्षमता, योग्यता र सीप अरू कुनै व्यक्तिसँग नभएको उल्लेख गर्दै उनीहरूले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा निर्मित नवनिर्मित फार्मेसी भवनमा जलन र क्यान्सरका बिरामीको उपचार सुरु भएको छ। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले फार्मेसी भवनले बिरामीलाई सहज उपचार सेवा दिन थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

0

फुङ्लिङ (ताप्लेजुङ): चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलेको छ। तमोर करिडोरको मर्मतपछि कच्ची सडकमार्ग हुँदै टिप्ताला क्षेत्रमा जीप, ट्र्याक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन्।

सडक मर्मतपछि टिप्ताला क्षेत्रमा सहज पहुँच उपलब्ध हुँदा पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको छ। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक सुधारपछि धेरै यात्रु टिप्ताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन्। पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा सवारीसाधन सहज रूपमा सञ्चालन हुँदा आन्तरिक पर्यटकको संख्या बढेको छ।

फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्म खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने र नदी-खोल्साको मर्मत गरिएपछि सवारी सञ्चालन सम्भव भएको हो। फुङ्लिङबाट टिप्तालासम्मको यात्रा अब तीन दिनमै गर्न सकिन्छ। ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायी टोलीले तीन दिनमा फुङ्लिङ–टिप्ताला ओहोरदोहोर गरेको छ।

अध्यक्ष थापाका अनुसार यो खण्डमा नियमित व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना बढेको छ। पानी र हिलोका केही समस्या भए पनि समग्र यात्रा सहज बनेको छ।

फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य फुपुल्हमु श्रेष्ठका अनुसार, अहिले गाउँमा गाडी पुग्ने भएपछि आवश्यक सामग्री ढुवानी गर्न लाग्ने खर्च घटेको छ। वडाध्यक्ष शेर्पाले भने, “सुक्खा मौसममा मात्र सवारीसाधन सञ्चालन सम्भव भए पनि तमोर नदीमा पक्की पुल निर्माण भएमा बर्खामा पनि सहज आवागमन हुनेछ।”

सुकेपानी, जोङ्गिन, र फेदी क्षेत्रमा पक्की पुल बनेपछि टिप्तालामा वर्षभरि सवारी सञ्चालन सम्भव हुने विश्वास वडाध्यक्ष शेर्पाले व्यक्त गर्नुभयो।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार सुकेपानीमा बेलिब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ। जोङ्गिन र ओलाङचुङ्गोलाका क्षेत्रमा मोटर गुड्ने पुल निर्माण भएमा टिप्ताला क्षेत्र व्यापार र पर्यटनको केन्द्रविन्दु बन्न सक्ने देखिएको छ।

अन्तरदेशीय सहकार्य र भविष्यको योजना
तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबीच भएको बैठकले यस क्षेत्रमा थप अवसर सिर्जना गर्न सक्ने सङ्केत गरेको छ। तिब्बत सरकारले टिप्तालाबाट फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएको छ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, सरकार–सरकार सहकार्यका माध्यमबाट प्रस्ताव अघि बढाएमा तिब्बतले सडक कालोपत्र गर्ने वचन दिएको छ।

टिप्ताला क्षेत्रमा सवारीसाधन सञ्चालनले ताप्लेजुङका दुर्गम क्षेत्रको विकास र सम्भावनालाई उजागर गरेको छ। सडक मर्मत, पुल निर्माण, र अन्तरदेशीय सहकार्यले यो क्षेत्रलाई पर्यटन र व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

स्थानीयको विरोधले बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकियो

0

जलेश्वर (महोत्तरी): स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ। बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै निर्माण कार्य अवरुद्ध गरेका हुन्।

जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकाको रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका १४ घरपरिवारले सीमाङ्कन गरी विवाद समाधान गर्दै मुआब्जा वितरण गर्न माग गरेका थिए। तर, विभागले मनोमानी गरेकाले आफूहरूले विरोध गर्दै काम ठप्प पारेको स्थानीय मालती खनालले बताउनुभयो।

विभागले लामो समयदेखि मुआब्जा विवाद समाधान नगरी हतारमा बोलपत्र प्रक्रिया थालेको भन्दै स्थानीयले विरोध जनाएपछि काम अघि बढ्न सकेको छैन।

रेल विभागले सीमाङ्कनबिना बोलपत्र आह्वान गर्दा स्थानीयवासीको जग्गा मनपरी अधिग्रहण गरिएको छ। एउटै मापदण्डमा परेका जग्गाको मुआब्जा फरक–फरक दरमा दिइएको, कतिपयलाई समयमै मुआब्जा वितरण गरिएको तर अन्यलाई वर्षौँ धाउँदा पनि नपाएको भन्दै स्थानीय आन्दोलित बनेका छन्।

स्थानीय अगुवा नीरज अधिकारीले विभागको हतारो र मनपरीका कारण विभागको नियतमाथि शङ्का उब्जिएको बताउनुभयो। स्टेशन छेउको उक्त जग्गा २०२२ सालमा नापजाँच भए पनि लालपुर्जा लिन छुटेका कारण समस्या बल्झिएको छ।

२०७८ सालमा लालपुर्जा भएका जग्गाको मुआब्जा प्रतिकट्ठा ६१ लाख रुपैयाँ वितरण भइसकेको भए पनि लालपुर्जा नलिएका १४ परिवारको मुआब्जा प्राविधिक कारणले रोकिएको स्थानीय खड्गबहादुर सिंहले बताउनुभयो।

पूर्ववडाध्यक्ष भरतबहादुर हमालका अनुसार लालपुर्जाबिनाका जग्गाको मुआब्जा दिने विषयमा मन्त्रालयमा सिफारिस गरिएको भए पनि सरकारको निर्णय नआएसम्म विभागले मुआब्जा दिन नसक्ने स्थिति छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता उपेन्द्र न्यौपानेले स्थानीयले चलनचल्तीभन्दा कम मुआब्जा अस्वीकार गर्दै नयाँ स्थानमा बसोबास गर्न पर्याप्त रकम मागेको बताउनुभयो। यसबारे विभाग र ठेकेदारले वार्ता गरे पनि स्थानीयले सीमाङ्कन र मुआब्जा वितरण नभएसम्म काम अघि बढ्न नदिने अडान राखेका छन्।

जनकपुर रेल्वेका सूचना अधिकारी कमल साहले लालपुर्जा नभएका जग्गाको मुआब्जा ऐनअनुसार दिन नमिल्ने बताउनुभयो। ती परिवार २० वर्षभन्दा बढी समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जाको अभावमा समस्या उत्पन्न भएको हो। मन्त्रालय, भूमि आयोग, र मन्त्रिपरिषद्ले आवश्यक कदम चालेपछि समस्या समाधान हुने विश्वास अधिकारी साहले व्यक्त गर्नुभयो।

हाल रेल्वेपीडित परिवारहरू काठमाडौंस्थित रेल विभाग, मन्त्रालय, र भूमि आयोगसँग प्रत्यक्ष सम्पर्क गरी समस्याको समाधानका लागि पहल गरिरहेका छन्। यसैबीच, रेलमार्गमा माटो पुर्ने, लिक बनाउने, पुल निर्माण गर्ने, र जग्गा अधिग्रहणसम्बन्धी सबै काम ठप्प रहेको छ।

चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्दै खवास दम्पती

0

बेलबारी (मोरङ): मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको
छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराउनुभएको छ ।

चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आउनुएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा रू ५० हजार आम्दानी हुन्छ । पच्चीस वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर रू १३ मा किनेको दूध हाल रू ८० पर्छ, महँगी धेरै बढ्यो ।

स्वामकुमारीले भन्नुभयो, “त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपथ्र्योे, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो ।” त्यसबेला लोकल चिया प्रतिकप रू दुई र स्पेसल रू तीन थियो । छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए । यही पसलको कमाईले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउनुहुन्छ ।

कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने होभने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताउनुभयो । “त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, रू दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ”, उहाँ बताउनुहुन्छ ।

स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउनुहुन्छ । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उहाँहरू बताउनुहुन्छ ।

स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसक्नुभयो । उहाँ आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउनुहुन्छ । “वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन”, राजवंशी बताउनुहुन्छ । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारू पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी पर्यो राजवंशी बताउनुहुन्छ ।

पीएम कप महिला टी- २० क्रिकेट: बागमतीमाथि एपीएफको फराकिलो जित

0

सुदूरपश्चिम: प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सुपर फोरको खेलमा एपिएफ क्लब विजयी भएको छ ।

धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित ग¥यो । जितसँगै एपिएफ फाइनल नजिक पुगेको छ । जितका लागि पाएको ४३ रनको लक्ष्य एपिएफले छ दशमलव पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा ग¥र्याे । त्यसमा ममता चौधरी अविजित २३ र राजमती ऐरी १४ रनमा नटआउट रहिन ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले १८ ओभरमा आठ विकेटको क्षतिमा ४२ मात्रै जोड्न सक्यो । हुस्सुका कारण १८ ओभरमा झारिएको खेलमा बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । बलिङमा एपिएफका सुमन विष्टले तीन, रेखा रावल र विनु बुढाले २÷२ विकेट हात पारिन । सुमन प्लेयर अफ द म्याचसमेत चुनिइन ।

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १२ गते सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५÷२५ हजार पुरस्कार दिइनेछ ।