Friday, June 26, 2026
Home Blog Page 538

कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा प्रशिक्षण दिइने

0

भैरहवा (रुपन्देही): नेपाली कांग्रेसले देशभरका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूलाई भैरहवामा दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम प्रदान गर्ने भएको छ। सोमबार र मङ्गलबार सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतका १३० क्षेत्रीय सभापति, सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरू तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाका ७० क्षेत्रीय सभापतिहरूको सहभागिता रहने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति पूर्णबहादुर खडकाले जानकारी दिनुभयो।

आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक खड्काले कार्यक्रमबारे जानकारी दिँदै पार्टीका मुख्य गतिविधि, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा रहँदा भएका नीतिगत सुधार, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, पार्टीको क्रियाशील सदस्यता अभियान तथा पार्टी सङ्गठनका विविध पक्षहरूमा प्रस्तुति रहने बताउनुभयो।

कार्यक्रममा समसामयिक विषयहरू समेट्दै छवटा प्रमुख विषयमा प्रस्तुतीकरण र छलफल गरिनेछ। दोस्रो दिन सात समूहमा विभाजन गरी सहभागीहरूले आफ्ना क्षेत्रका अनुभव, पार्टी सञ्चालनका चुनौतीहरू तथा सुधारका सम्भावनाहरूमा गहन छलफल गर्नेछन्। साथै, सरकारसँग सम्बन्धित विषयहरूमा विशेष सत्र राखी सुझाव सङ्कलन गरिनेछ, जसका लागि सरकारमा सहभागी दुई मन्त्रीले जानकारी दिने कार्यक्रम तय गरिएको छ।

यो कार्यक्रम नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ।

खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको पूर्वकप्तान खड्काको गुनासो

0

गण्डकी: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका लागि राज्यबाट पर्याप्त लगानी नहुँदा असन्तुष्टि व्यक्त गर्नुभएको छ।

आइतबार पोखरामा आयोजित नेपाल साहित्य महोत्सवअन्तर्गत ‘फ्री हिटः एनपिएलभन्दा पर’ विषयक छलफलमा उहाँले खेलकुदको व्यावसायिक विकासका लागि सरकारले बजेट वृद्धि गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “मन्त्रालय बाँडफाँटका बेला खेलकुद मन्त्रालय राजनीतिक दलको सबैभन्दा कम प्राथमिकतामा पर्ने गरेको छ। युवालाई खेलकुदमा आकर्षित गर्न सबै पक्षले समन्वय गर्नुपर्छ।”

खड्काले खेलकुद पूर्वाधार तथा संरचना निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै राज्यको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाली फुटबलमा नयाँ प्रशिक्षक अष्ट्रेलियाका म्याट रस

0

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा अष्ट्रेलियाली म्याट रस नियुक्त भएका छन्।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले रससँग एक वर्षका लागि औपचारिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

“हामी उनको नेतृत्वमा नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने रोमाञ्चक यात्राका लागि उत्साहित छौं। स्वागत छ, म्याट!” एन्फाले सामाजिक सञ्जालमार्फत भनेको छ।

सरकारले अरु दललाई कमजोर बनाउने नीति लियोः उपेन्द्र यादव

0

काठमाडौं: जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार अन्य राजनीतिक दललाई कमजोर बनाउने रणनीतिमा लागेको आरोप लगाएका छन्।

ललितपुरमा आइतबारदेखि सुरु भएको जसपा नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले सरकारको नीति असन्तुलित रहेको टिप्पणी गरे। उनले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल भइरहेको र अन्य दलहरूलाई कमजोर बनाउने नीति अवलम्बन गरिएको बताए।

यादवको प्रतिवेदनमा सरकारले दुई दलीय व्यवस्था स्थापित गर्ने प्रयासस्वरूप थ्रेसहोल्ड बढाउने विधेयक ल्याएको उल्लेख गरिएको छ। उनले सो विधेयकलाई बहुदलीय व्यवस्थामाथिको प्रहारको रूपमा चित्रित गरे।

उनको भनाइमा, सत्ता टिकाइराख्ने स्वार्थका कारण विश्वासको संकट उत्पन्न भएपछि प्रचण्ड नेतृत्वको सरकार पतन भयो। त्यसपछि ठूला दलहरू मिलेर बनेको वर्तमान सरकार मुलुकको सुशासन, समृद्धि र विकासको पक्षमा ठोस कार्ययोजना ल्याउन असफल भएको उनको आरोप छ।

सरकारप्रति जनताको नैराश्यता

सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गइरहेको उल्लेख गर्दै यादवले सुशासन र आर्थिक विकासका लागि ठोस नीति, कार्यक्रम, तथा योजना नदेखिएको जिकिर गरे। उनले राष्ट्रिय हितको रक्षा र परराष्ट्र नीति निर्धारणमा सरकार चुकेको र यसले सरकारलाई असफल सावित गरेको दाबी गरे।

भूमि अध्यादेशको विरोध

संसदमा प्रस्तुत छ विधेयकमध्ये “नेपाल ऐनलाई संशोधन गर्न बनेको भूमि सम्बन्धी अध्यादेश” जनताको हितविपरीत भएको भन्दै जसपा नेपालले त्यसको विरोध गर्ने बताएको छ। यादवले उक्त अध्यादेशविरुद्ध पार्टी दृढ रूपमा उभिएको उल्लेख गरे।

बैठकका मुख्य एजेन्डा

तीन दिनसम्म चल्ने बैठकमा हालको राजनीतिक परिस्थितिको समीक्षा, पार्टीले गत भदौदेखि सञ्चालन गरेको “जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान” को मूल्यांकन र आगामी रणनीति तय गरिने प्रवक्ता मनिष सुमनले जानकारी दिए।

बैठकमा अभियानमा संलग्न नेताहरूले कार्यप्रगति विवरण प्रस्तुत गर्नेछन्। साथै, जसपा नेपालका भातृ संस्थाहरू तथा विभिन्न कमिटीहरूको अधिवेशनबारे छलफल हुने प्रवक्ता सुमनले बताए।

जेलेन्स्कीले बेलायतको २.२६ अर्ब पाउन्ड सहायता हतियार खरीदमै प्रयोग गर्ने

0

काठमाडौं: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतले प्रदान गर्ने २.२६ अर्ब पाउन्ड (२.८६ अर्ब अमेरिकी डलर) बराबरको सहायता राशी पनि हतियार खरीदका लागि प्रयोग गरिने बताएका छन्।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा गरेपछि जेलेन्स्कीले उक्त रकम युक्रेनी सेनाको प्रतिरक्षा क्षमता वृद्धि गर्न खर्च गरिने स्पष्ट पारेका हुन्। बेलायतले युक्रेनलाई दीर्घकालीन रक्षा सहायता सुनिश्चित गर्न लागेको भन्दै जेलेन्स्कीले बेलायती सरकार र जनतालाई धन्यवाद दिए।

ह्वाइट हाउसमा चर्काचर्कीपछि बेलायत यात्रा

जेलेन्स्की यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटघाट गरेका थिए, जुन विवादास्पद रह्यो। बैठकका क्रममा ट्रम्पले युक्रेनलाई थप सहयोग प्रदान गर्न हिचकिचाहट देखाएको र युक्रेन युद्धबारे आफ्नो फरक धारणा राखेका कारण दुईबीच चर्को बहस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्पले जेलेन्स्कीलाई “युद्ध लम्ब्याउने रणनीति अपनाएको” आरोप लगाएपछि जेलेन्स्कीले त्यसको कडा प्रतिवाद गरेका थिए। केही सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प–जेलेन्स्की विवाद बढ्दै गएपछि जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न भनिएको थियो।

डाउनिङ स्ट्रीटमा स्वागत, किंग चाल्र्ससँग भेट्ने तयारी

ह्वाइट हाउसमा चर्काचर्कीपछि जेलेन्स्की बेलायत पुगेका छन्, जहाँ उनले प्रधानमन्त्री कीर स्टार्मरसँग भेटवार्ता गरे। बेलायतले युक्रेनलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै जेलेन्स्कीले बेलायती समर्थनप्रति आभार व्यक्त गरे।

बेलायतको डाउनिङ स्ट्रीटमा भएको भेटपछि जेलेन्स्कीले बेलायती राजा चाल्र्स तृतीयसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बेलायतको आर्थिक तथा सैन्य सहयोगले युक्रेनको सुरक्षा र प्रतिरक्षा क्षमतामा महत्वपूर्ण प्रभाव पार्ने जेलेन्स्कीको विश्वास छ।

बेलायतले यसअघि नै युक्रेनलाई विभिन्न प्रकारका आधुनिक हतियार, क्षेप्यास्त्र प्रणाली, तथा अन्य सैन्य सहायता उपलब्ध गराउँदै आएको छ। पछिल्लो २.२६ अर्ब पाउन्डको सहायता प्याकेजले युक्रेनको युद्ध प्रयासलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

0

वीरगञ्ज (पर्सा): चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु ८ अर्ब ६८ करोड मूल्य बराबरको २२ करोड ६४ लाख ८ हजार २९ किलोग्राम धान आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशतले वृद्धि भएको हो।

गत आवको पहिलो सात महिनामा वीरगञ्ज नाका हुँदै रु ४ अर्ब ९१ करोड मूल्य बराबरको १३ करोड १८ लाख ५९ हजार ४१६ किलोग्राम धान आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार यस वर्ष धान र चामल दुवैको आयातमा वृद्धि देखिएको छ। “गत आवको तुलनामा चालु आवमा धान–चामलको आयात उल्लेख्य रूपमा बढेको छ,” उनले बताए।

नेपाल कृषिप्रधान मुलुक भए पनि धान मात्र नभई चामलसमेत विदेशी मुलुकबाट आयात हुँदै आएको छ। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु १ अर्ब ३५ करोड मूल्य बराबरको १ करोड ३३ लाख ७४ हजार ८२६ किलोग्राम चामल आयात भएको छ।

गत आवको सोही अवधिमा रु १ अर्ब ६ करोड मूल्य बराबरको ८१ लाख १७ हजार १३० किलोग्राम चामल आयात भएको थियो, जसअनुसार चालु आवमा चामल आयातमा पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ।

त्यस्तै, चालु आवको सात महिनामा रु २ अर्ब ९६ करोड मूल्य बराबरको ५ करोड ७७ लाख १४ हजार ५८३ किलोग्राम मकै आयात भएको छ। तर, यो गत आवको सोही अवधिको तुलनामा केही घटेको छ। गत वर्षको सोही अवधिमा रु २ अर्ब ९७ करोड मूल्य बराबरको ६ करोड ६० लाख ४९ हजार ९७२ किलोग्राम मकै आयात भएको थियो।

धान र चामलको आयात बढिरहे पनि मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ।

(रासस)

हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

0

ढोरपाटन (बागलुङ): बागलुङ, रोल्पा, र पूर्वी रुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र आन्तरिक पर्यटकको लोकप्रिय गन्तव्य बन्दै गएको छ। शनिबार बिहानैदेखि यहाँ पर्यटकको चहलपहल बढेको छ। सेताम्य हिउँले ढाकिएको जंगल, सडक, र डाँडा हेर्न तथा हिउँ खेल्न पुगेका पर्यटकले क्षेत्रलाई थप जीवन्त बनाएका छन्।

शुक्रबार बिहानदेखि परेको हिउँले पातिहाल्नेको सौन्दर्य बढाएको छ। बागलुङ, पूर्वी रुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान, र बुटवलबाट सयौँ आन्तरिक पर्यटक यहाँ पुगेका छन्। स्थानीय थमबहादुर घर्तीका अनुसार शुक्रबार र शनिबार गरी झण्डै १,२०० पर्यटक हिउँ खेल्न आएका थिए। बाक्लो हिमपातका कारण ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ भए पनि पर्यटकहरू मोटरसाइकल र जिपमा यात्रा गर्दै यहाँ आइपुगेका छन्।

यस वर्ष दोस्रोपटक परेको हिमपातका कारण पातिहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ। “लामो समय खडेरी परेको थियो, गर्मी सुरु हुनै लाग्दा परेको यो हिमपातले धेरैलाई आकर्षित गर्यो,” घर्तीले भने, “हिउँ पग्लिन अझै चार–पाँच दिन लाग्छ, यस अवधिमा पर्यटकको भीड यस्तै रहनेछ।”

यद्यपि बाक्लो हिउँका कारण पर्यटकहरू तिलाचन तालसम्म पुग्न सकेका छैनन्। करिब आधा घण्टाको पैदलयात्रा तय गरे पुग्न सकिने यो ताल पनि सेताम्य देखिन्छ। गलकोटबाट घुम्न आएका विकास क्षेत्रीले पातिहाल्नेको प्राकृतिक सुन्दरताले मन लोभ्याउने बताए। “पहिले लाग्थ्यो, बागलुङ, पूर्वी रुकुम, र रोल्पाको सिमाना धेरै टाढा छ, तर यहाँ दुई घण्टामै आइपुग्न सकिने रहेछ,” उनले भने, “हिउँमा मोटरसाइकल चिप्लिने चुनौती रहे पनि एकै दिन सयौँ पर्यटक हिउँ खेल्न आएका थिए।”

एक दशकअघिसम्म कमै चिनिएको पातिहाल्ने पछिल्लो समय चर्चित गन्तव्य बन्दै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँग जोडिएपछि यहाँको पहुँच सहज भएको छ। उच्च पहाडी क्षेत्रमा पर्ने पातिहाल्ने अहिले आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ।

(रासस)

इलाम सीमा क्षेत्रका बासिन्दाको बाध्यता: घर नेपालमा शिक्षा भारतमा

0

मङ्गलबारे (इलाम): नेपाल-भारत सीमा क्षेत्रका बालबालिकाहरू नेपालमा विद्यालय अभावका कारण भारतीय विद्यालयमा पढ्न बाध्य भएका छन्। इलामका दुर्गम भेगका बासिन्दाले नजिक विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई भारतमै पढाउनुपरेको गुनासो गरेका छन्।

विद्यालय अभावले भारततर्फ निर्भरता

इलामको सन्दकपुर गाउँपालिका–५ की ९ वर्षीया पेमा तामाङ घर नेपालमै भए पनि भारतको विद्यालयमा पढ्न बाध्य छिन्। नेपालपट्टि विद्यालय नहुँदा उनलाई भारतमै छात्रावासमा बसेर अध्ययन गर्नुपरेको छ।

स्थानीय दावा लामाका अनुसार नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएपछि सीमा क्षेत्रका अभिभावकले आफ्ना बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गर्नुपरेको छ। कतिपयले भारतमै छात्रावासमा राखेका छन् भने केहीले कोठा भाडामा लिएर पढाइरहेका छन्।

बन्द हुँदै नेपाली विद्यालय, पढ्न भारत जाने बाध्यता

मानेभन्ज्याङलगायत भारतका सीमावर्ती क्षेत्रका विद्यालयहरूमा नेपालका धेरै विद्यार्थी अध्ययन गर्छन्। प्राथमिक तहका बालबालिकालाई टाढाको विद्यालयमा पठाउनुपर्ने अवस्था हुँदा अभिभावक चिन्तित छन्। नेपालतर्फ विद्यार्थी संख्या घट्दै जाँदा सामुदायिक विद्यालयहरू बन्द हुने क्रम बढेको छ।

इलामका उत्तरी क्षेत्रहरू जस्तै सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, र सूर्योदय नगरपालिकाका बस्तीहरूमा विद्यालयको अभाव गम्भीर बनेको छ।

जौबारी, मेघमा, कालपोखरीजस्ता ठाउँमा विद्यालय बन्द भएपछि त्यहाँका बालबालिकालाई प्राथमिक तहदेखि नै भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता भएको स्थानीय सोनाम शेर्पाले बताए। “लेकाली क्षेत्र भएकाले जनसंख्या कम छ। विद्यालय सञ्चालन गर्न विद्यार्थी संख्या पुग्दैन,” उनले भने।

विद्यालय बन्द हुँदै जाँदा समस्या गहिरिँदै

सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय २०७२ सालमा विद्यार्थी अभावका कारण बन्द भएको स्थानीय डोमा शेर्पाले बताइन्। हाल जौबारीबाट मात्रै १४ जना विद्यार्थी भारतको विद्यालयमा पढ्न जान्छन्। भित्तेमा रहेको विद्यालय पनि तीन वर्षअघि अन्यत्र सारिएको छ, जसका कारण समस्या झन् बढेको छ।

सन्दकपुर–५ कालपोखरीको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्माको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ मजुवाको प्राथमिक विद्यालय बन्द भएपछि बालबालिकाहरूको शिक्षामा असर परेको छ। माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्ने हुँदा त्यहाँ अध्ययन सम्भव छैन। अन्य गाउँपालिकाका विद्यार्थीलाई नयाँबजारसम्म जानुपर्ने बाध्यता छ, जुन तीनदेखि चार घण्टाको यात्रा पर्छ।

शिक्षा खर्च महँगो, अभिभावकहरू समस्यामा

लामो दूरी तय गर्नुपर्ने भएकाले अभिभावकहरूलाई बालबालिकालाई विद्यालय पुर्याउन समय अभाव हुन्छ। “एउटा बच्चालाई पढाउन पनि ठूलो खर्च लाग्छ। छात्रावासमा राख्नुपर्छ वा कोठा भाडामा लिएर बस्नुपर्छ,” स्थानीय फुर्वा शेर्पाले भने।

माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीका अनुसार जौबारी, गुराँसे, मेग्मालगायत क्षेत्रका करिब ३५ जना विद्यार्थी नेपालका विद्यालय जानबाट वञ्चित छन्। सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाहरू पनि नजिकको विद्यालय नभएर भारतमै पढ्न बाध्य छन्।

सीमावर्ती बालबालिकाको भविष्य अनिश्चित

सीमा क्षेत्रका केही बालबालिकाहरू घरबाटै विद्यालय जान्छन् भने केहीले बस वा अन्य सवारीसाधन प्रयोग गर्छन्। मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ, जसका लागि केही अभिभावकहरूले यातायातको सहयोगमा बालबालिकालाई विद्यालय पुर्याउने गरेका छन्।

स्थानीय बासिन्दाले विद्यालय पुनः सञ्चालनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै शिक्षा पहुँचयोग्य बनाउन पहल गर्न माग गरेका छन्।

व्यावसायिक पशुपालनमा सफलता: तीन भैँसीबाट सुरु, करोडौँ लगानीसहित ठुलो फार्म

0

गलकोट (बागलुङ): विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर उपल्लाचौर, आमबोट आएका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक बनेका छन्।

बागलुङ–४ उपल्लाचौर आमबोटमा १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरी पशुपालनलाई व्यावसायिक रुप दिएका सापकोटा अहिले यस क्षेत्रमा सफल किसानका रूपमा परिचित छन्।

१४ वर्षको निरन्तर मेहनतले बनायो सफल किसान
१४ वर्षअघि तीन भैँसी र एक गाईबाट सुरु गरेको व्यवसाय आज करोडौँको लगानी पुगेको छ। हाल फार्ममा दैनिक १६० लिटर दूध उत्पादन भइरहेको छ, जुन उनले आफैँ बजारीकरण गर्दै आएका छन्।

“भारतको मेघालयमा रोजगारीका क्रममा नेपालीहरूले गाईपालनबाट राम्रो आम्दानी गरेको देखेपछि म पनि यस व्यवसायप्रति आकर्षित भएँ। विसं २०६७ मा जन्मथलो मालिकाबाट तीन भैँसी र एउटा गाई ल्याएर व्यवसाय सुरु गरेँ। अहिले फार्म विस्तार हुँदै करोडौँको लगानी पुगिसक्यो,” सापकोटाले सुनाए।

हाल उनका दुईवटा ठूला गोठमा ३५ भैँसी र सात गाई छन्। उनले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। व्यवसाय बढ्दै जाँदा केही समय फार्ममा ५२ गाईभैँसीसमेत पुगेको थियो।

उत्पादन र आम्दानी
सापकोटाका अनुसार उनी मासिक रु पाँचदेखि छ लाखसम्म आम्दानी गर्छन् भने मासिक बचत रु एक लाख सम्म छ। दूध बिक्रीमा कुनै समस्या नरहेको र बागलुङ बजारका घरदैलोमै पुर्याएर बिक्री गरिरहेको उनले बताए।

चुनौती र समाधान
व्यावसायिक पशुपालन फाइदाजनक भए पनि खर्च धेरै हुने र जोखिमसमेत बढी हुने उनको अनुभव छ। “दीर्घकालीन सफलता प्राविधिक ज्ञान र निरन्तर मेहनतमा निर्भर हुन्छ,” सापकोटाले भने।

बागलुङ नगरपालिकाले पशु फार्मलाई प्राविधिक सहयोग गर्दै आएको छ भने २०७३ मा प्याक्ट परियोजनाबाट १० लाख अनुदान प्राप्त गरी आधुनिक गोठ निर्माण गरिएको उनले बताए। “राज्यले पशुपालन प्रवर्द्धनका लागि अनुदान दिए पनि उत्पादन र निरन्तरताका आधारमा मात्र वास्तविक किसानले लाभ लिन सक्छन्,” उनले थपे।

बागलुङ बजारका साथै पर्वत र म्याग्दीबाट पनि दूधको माग आउने गरेको छ। अहिले दूधको मूल्य प्रतिलिटर रु १२० छ।

१० वर्षसम्म भारतको मेघालयमा काम गरेका सापकोटा नेपाल फर्किएर पशुपालन व्यवसायमा लागेका हुन्। निरन्तर मेहनत र लगनशीलता भएमा पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने उनको विश्वास छ।

जसपा निकट कानुन व्यवसायी सङ्घको केन्द्रीय समिति पुनर्गठन

0

ललितपुर (गोदावरी): जनता समाजवादी पार्टी (जसपा), नेपाल निकट संघीय कानुन व्यवसायी संघ (एफएलए) को केन्द्रीय कार्यसमिति पुनर्गठन गरिएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित भेलाले वरिष्ठ अधिवक्ता वीरेन्द्रकुमार ठाकुरको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा अधिवक्ता दीपनारायण यादव, भगवती सुवेदी र किरणकुमारी साह चयन भएका छन् भने महासचिवमा प्रिती रमण र सचिवमा साया खड्का चयन भएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाका अनुसार सदस्यहरूमा विमला विश्वकर्मा, उमाशङ्कर देव, अस्मिता थापा, रसना यादव, रामचन्द्र महतो, मोहम्मद समिम, सुरेन्द्र कुर्मी र घनश्याम शर्मा चयन भएका छन्। वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंहलाई केन्द्रीय सल्लाहकारका रूपमा चयन गरिएको छ।

भेलाले आगामी चैत २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा अन्य कानुन व्यवसायी संघहरूसँग समन्वय गरी उम्मेदवारी दिने निर्णय गरेको छ। यसका लागि मिथिलेशकुमार सिंह, विमला विश्वकर्मा, आशा राई र वीरेन्द्रकुमार ठाकुरलाई जिम्मेवारी दिइएको छ। यसअघि संघको अध्यक्ष रहेका अधिवक्ता दीपक राई अन्य पार्टी निकट संगठनमा आबद्ध भएकाले साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्कासन गरिएको छ।

यसैगरी, जसपाले समाजवादी खेलकुद महासंघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ। युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख बिन्देश्वर यादव ‘विक्की’ को अध्यक्षतामा बसेको बैठकले श्याम शिल्पकारको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो।

महासंघको उपाध्यक्षमा दिनेश महतो, महासचिवमा राजेश गुप्ता र सचिवमा दीपेन्द्र गोइत चयन भएका छन्। साथै, सदस्यहरूमा सन्तोष दास, जितेन्द्र यादव, रवीन्द्र श्रेष्ठ, कृति साह, विक्रम पौडेल, सनोजराज वैद्य, मृगेन्द्रविक्रम साह, अनिल यादव, धर्मदेव साह, रोमा राई, कर्मा महर्जन र दीपेन्द्रकुमार यादव चयन भएका छन्।