Friday, June 26, 2026
Home Blog Page 530

आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपात हुने

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीद्धारा अनुगमन

0

भक्तपुर: प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले अनुगमन गरेको छ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनको अवस्थाबारे छड्के अनुगमन गरेको हो।

टोलीले अस्पतालका ल्याब, मेडिकल वार्ड, ओपीडी सेवा, फार्मेसी, भवन निर्माण स्थल, आईसीयू, सिटी स्क्यान जडान कक्ष तथा विभिन्न विभागहरूको निरीक्षण गर्नुका साथै अस्पतालमा भर्ना भएका बिरामीहरूसँग भेट गरी सेवासुविधाबारे जानकारी लिएको थियो।

अनुगमनपछि मन्त्री थापा मगरले राम्रा काम नगर्ने कर्मचारीलाई प्रदेश अन्तर्गतका १३ जिल्लाका कुनै पनि प्रादेशिक अस्पतालमा सरुवा गरिने चेतावनी दिनुभयो। उहाँले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन जडान भइसकेपछि मेमोग्राम मेसिन सञ्चालन गर्ने, उच्च प्रविधिसहितको आँखा उपचार सेवा विस्तार गर्ने, १०० शय्यामाथिका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्न दिने, मापदण्ड पूरा नगर्ने अस्पतालहरूको दर्ता तथा नवीकरण रोक्ने, हेटौँडा अस्पतालमा मुटु रोग उपचार सेवा तथा भक्तपुर अस्पतालमा न्यूरोसर्जरी ओटी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो।

स्वास्थ्य सचिव डा. गौतमले ३०० शय्याको स्वीकृति प्राप्त भक्तपुर अस्पतालले पूर्ण क्षमतामा सेवा सञ्चालन नगरेमा शय्या कटौती गरिने चेतावनी दिनुभयो। साथै, पाँच वर्षका लागि अनुमति दिए पनि १३ वर्षदेखि सञ्चालनमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भवन खाली गर्न पत्राचार गर्ने निर्देशन दिनुभयो। उहाँले भक्तपुर अस्पताल क्षेत्रमा साझा औषधि पसल खोल्न रोक लगाइनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विगत दुई वर्षदेखि देशकै उत्कृष्ट अस्पताल घोषित भक्तपुर अस्पतालको गुणस्तरीय सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापाले अस्पतालमा सञ्चालन हुन लागेको क्याबिनको सङ्ख्या चारबाट १० पुर्याउन मन्त्रालयसँग सहयोगको आग्रह गर्नुभयो।

अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार अस्पतालमा दैनिक एक हजारदेखि एक हजार १०० बिरामी सेवा लिन आउने गरेका छन्।

आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने

0

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भार तथा पूर्वनिर्धारित कार्यहरूका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति केही समयका लागि बन्द रहने जनाएको छ।

प्राधिकरणद्वारा जारी गरिएको सार्वजनिक सूचनाका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ। ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ गरिने जनाइएको छ। यसैगरी, सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका क्षेत्रमा पनि सोही समयमा विद्युत आपूर्ति प्रभावित हुने छ।

जोरपाटी वितरण केन्द्रअन्तर्गत डाँछी फिडरका माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रका उपभोक्ताहरू बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म विद्युत कटौतीको असर महसुस गर्नेछन्। उक्त क्षेत्रमा तार विस्तारका लागि लाइन बन्द गरिने प्राधिकरणले जनाएको छ।

त्यस्तै, मुलपानी फिडरअन्तर्गत मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामना मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रका लागि पनि बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।

साँखु फिडरअन्तर्गत नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौवा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानहरूमा पनि विद्युत आपूर्ति केही समयका लागि बन्द रहने जानकारी दिइएको छ।

प्राधिकरणले निर्धारित समय अगावै कार्य सम्पन्न भएमा विद्युत सेवा पुनः सञ्चालनमा आउने जनाउँदै उपभोक्ताहरूलाई पर्न जाने असुविधाप्रति क्षमायाचनासमेत गरेको छ।

अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्न सक्ने राष्ट्रपति ट्रम्पको भनाइ

0

काठमाडौं: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्न सक्ने संकेत दिएका छन्। पत्रकार सम्मेलनमा ग्रिनल्याण्डबारे प्रश्न उठ्दा उनले भने, “मलाई लाग्छ, यो सम्भव छ।”

समाचार एजेन्सी एएनआईका अनुसार, ट्रम्पले थपे, “मैले यस विषयमा धेरै सोचिरहेको छैन, तर म जुन व्यक्तिसँग बसेको छु, उसले यसमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।”

सो अवसरमा ट्रम्प नेटो महासचिव मार्क रुटसँगै थिए। उनले भने, “मार्क, तपाईंलाई थाहा छ, अन्तर्राष्ट्रिय सुरक्षा दृष्टिकोणले हामीले यो कदम चाल्न आवश्यक हुन सक्छ। हाम्रा धेरै सहयोगीहरू तट वरिपरि छन्, त्यसैले होसियार रहनुपर्छ। हामी यसबारे थप छलफल गर्नेछौं।”

वास्तवमा, ग्रिनल्याण्ड विश्वको सबैभन्दा ठूलो टापु हो, जसले उत्तरी अमेरिका र युरोपबीचको छोटो मार्ग प्रदान गर्छ।

अमेरिकाले लामो समयदेखि ग्रिनल्याण्डलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मान्दै आएको छ। यहाँ अमेरिकाको प्रमुख अन्तरिक्ष केन्द्रहरूसमेत अवस्थित छन्। साथै, यो क्षेत्र दुर्लभ खनिज स्रोतहरूको धनी मानिन्छ, जसले ब्याट्री र उच्च-प्रविधि उपकरण उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ।

बंगलादेशमा ८ वर्षीया बालिकाको बलात्कार पछि मृत्यु: हिंसात्मक प्रदर्शन

0

काठमाडौं: बंगलादेशमा बलात्कारपीडित आठ वर्षीया बालिकाको बिहीबार मृत्यु भएपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको छ।

पीडितकी आमाले दिएको उजुरीअनुसार, मार्च ५ को राति मागुरा शहरमा दिदीको घरमा गएकी बालिका बलात्कृत भएकी थिइन्।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै बालिकाकी दिदीको श्रीमान, ससुरा, सासू र देवरलाई पक्राउ गरी हिरासतमा राखेको छ।

बिहीबार राति बालिकाको मृत्युको खबर फैलिएपछि आक्रोशित भीड घटनास्थलमा जम्मा भई उक्त घरमा आगजनी गरेको थियो।

मार्च ८ मा अस्पताल भर्ना गरिएकी ती बालिकाले राजधानी ढाकास्थित संयुक्त सैन्य अस्पतालमा छ दिनसम्म उपचारपछि ज्यान गुमाइन्।

युक्रेनी ड्रोन आक्रमणका कारण तेल प्रशोधन केन्द्रमा आगलागी भएको रुसको दाबी

0

काठमाडौं: एकातिर अमेरिकाले रुस र युक्रेनबीच युद्धविराम सम्झौता गराउन खोजिरहेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत रुस पुगेका छन् भने अर्कोतर्फ रुस र युक्रेनले बिहीबार राति पनि एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन्।

युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिणपश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ।

कालो सागरको तुआप्से बन्दरगाहमा अवस्थित यो रिफाइनरीले रुसी सेनालाई पनि मद्दत गर्छ।

युक्रेनी स्रोतहरूले ड्रोनहरूले ताम्बोभ र साराटोभ क्षेत्रहरूमा रहेका ग्यास पाइपलाइनहरूको कम्प्रेसर स्टेशनहरू र बेल्गोरोडमा रहेको मिसाइल डिपोलाई पनि लक्षित गरेको बताएका छन्। मस्कोमा पनि फेरि आक्रमण भएको छ।

यसैबीच, युक्रेनी अधिकारीहरूले खार्किभमा राति भएको रुसी आक्रमणमा सात जना घाइते भएको बताएका छन्।

रुसी रक्षा मन्त्रालयले रातारात २८ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको बताएको छ। यी मध्ये चार मस्कोमाथि, पाँच बेल्गोरोडमाथि र एउटा कालो सागरमाथि थिए।

यसैबीच, युक्रेनी वायुसेनाले भनेको छ कि रुसले रातारात आफूतर्फ २७ वटा ड्रोन प्रहार गरेको थियो, जसमध्ये १६ वटालाई हवाई रक्षा प्रणालीले सफलतापूर्वक नष्ट गरेको छ।

युक्रेनी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी आक्रमण भएको बताएको छ।

पूर्वराजाप्रति प्रचण्डको आक्रोश-धेरै चुरीफुरी नगर्न चेतावनी

0

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति तीव्र आलोचना गर्दै विभिन्न आरोप लगाएका छन्।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आयोजित माओवादी केन्द्रको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजालाई ‘ठूला मूर्ति चोर’ र ‘वंश नास गर्ने’ व्यक्ति भन्दै कटाक्ष गरे। उनले राजसंस्थालाई पुनःस्थापित गर्ने प्रयासहरूप्रति चेतावनीसमेत दिएका छन्।

उनले भने, “धेरै चुरीफुरी नगरे हुन्छ। इतिहासलाई नेपाली जनताले बिर्सेका छैनन्। दरबार हत्याकाण्ड कसले गर्यो भन्ने पनि जनतालाई थाहा छ। धेरै मुर्खता पहिला भइसकेका छन्, अर्को मुर्खता गरे नेपाली जनता र राजनीतिक दलहरू उदार हुने छैनन्।”

पूर्वराजा ज्ञानेन्द्रको पुन: सक्रियताप्रति संकेत गर्दै प्रचण्डले पछिल्ला घटनाक्रमलाई दुस्साहसको रूपमा व्याख्या गरे। उनले भने, “यो जुन नौटंकीहरू देखाइँदै छ, नेपाली जनताले सबैकुरा बुझेका छन्। २५० वर्ष शासन गरेका राजाहरूले देशलाई कहाँ पुर्याए? ठूला मूर्ति चोर को हुन्? सुन तस्करीमा को को संलग्न थिए? नेपाली जनताले बिर्सिएको ठानेर भ्रममा नपर्नुहोस।”

प्रचण्डले दरबार हत्याकाण्डबारे पुनः छानबिन हुनुपर्ने धारणा पनि व्यक्त गरे। उनले पहिलो कार्यकालमै छानबिनको पहल गर्ने योजना रहे पनि, कार्यकाल छोटिएपछि त्यो सम्भव नभएको उल्लेख गरे। उनले भने, “मैले पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको पुनः छानबिन हुनुपर्छ भनेको थिएँ। यदि पाँच वर्ष शासन गर्न पाएको भए, छानबिन गरी दोषीलाई इतिहासको कठघरामा उभ्याउने थिएँ।”

उनको अभिव्यक्तिले नेपाली राजनीतिक वृत्तमा थप बहस निम्त्याउने देखिन्छ।

सोलुखुम्बुमा भाइरल संक्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

0

सोलुखुम्बु: हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्ला केही सातादेखि जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।

अस्पतालमा बिरामीको अत्यधिक चाप

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको संख्या अस्वाभाविक रूपमा बढेपछि जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ। १५ शय्या क्षमताको यो अस्पतालमा हाल ५० भन्दा बढी बिरामी भर्ना भएका छन्, जसले जनशक्ति व्यवस्थापनमा समेत चुनौती सिर्जना गरेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताइन्।

उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीका लागि प्रयोग गर्नुपरेको छ। “अस्पतालमा भर्ना भएका अधिकांश बिरामी भाइरल संक्रमणकै हुन्। जनशक्ति कम भए पनि बिरामीको चाप अत्यधिक छ। अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ,” शेर्पाले भनिन्।

गम्भीर बिरामीलाई अक्सिजनको आवश्यकता

अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ। डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया तथा श्वासप्रश्वास समस्याबाट ग्रसित बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था छ। “यदि बिरामीको संख्या अझै बढे, हामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ,” डा. रामबाबु जोशीले भने।

सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा भाइरल संक्रमणबाट प्रभावित भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। स्वास्थ्य कार्यालयका अधिकारीहरूका अनुसार भाइरल संक्रमण फैलिन नदिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता छ।

सुविधासम्पन्न अस्पताल, तर जनशक्ति अभाव

सोलुखुम्बुको फाप्लु अस्पताल नयाँ सुविधासम्पन्न भवनबाट सेवा दिन थाले पनि आवश्यक जनशक्ति अभावका कारण प्रभावकारी सेवा प्रवाहमा कठिनाइ भइरहेको छ। कोशी प्रदेश सरकारले अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिएपछि सोहीअनुसारको जनशक्ति उपलब्ध भए पनि बिरामीको चाप अत्यधिक भएकाले अस्पताल विकास समितिले करारमा कर्मचारी राखेर सेवा सञ्चालन गरिरहेको छ।

नयाँ भवन निर्माणपछि अस्पतालमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ। सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले अस्पतालमा आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

५४ वर्षअघि स्थापना, हालै नयाँ भवनको उद्घाटन

५४ वर्षअघि सर एडमन्ड हिलारीले स्थापना गरेको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ। हालै नवनिर्मित अस्पताल भवन सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो। २१ करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भएको ३० शय्याको नयाँ भवन गत असार २५ गते अस्पताललाई हस्तान्तरण गरिएको थियो।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्था गरिने जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताएका छन्। सुविधासम्पन्न भवन निर्माण भएपछि अब सेवा प्रवाहलाई चुस्त बनाउने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

0

काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ३५ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

सोल्मा वडाकप पुरूष फुटबल प्रतियोगिताको उपाधि महादेवस्थानलाई

0

खोटाङ: सोल्मा स्पोर्ट्स क्लब सोल्माको आयोजनामा सम्पन्न पाँचौँ संस्करणको ‘सोल्मा अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’ मा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले उपाधि जितेको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेलमैदानमा भएको फाइनल खेलमा महादेवस्थानले दिक्तेल फुटबल एकेडेमी (केएफए)लाई ३–० गोलअन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो। पहिलो हाफमै दुई गोलको अग्रता लिएको महादेवस्थानले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गर्‍यो। निर्धारित समयमा कुनै गोल फर्काउन नसक्दा केएफए उपविजेतामै सीमित रह्यो।

विजेता महादेवस्थानले नगद रु १,३३,३३३ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता केएफएले रु ७१,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताका सेमिफाइनलिस्ट आयोजक सोल्मा स्पोर्ट्स क्लब सोल्मा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले जनही रु ३५,५५५ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कार प्रदान गरिएको थियो। महादेवस्थानका भुवन श्रेष्ठ ‘बेस्ट प्लेयर’ घोषित भए, जसले रु ५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। अन्य विधागत विजेताहरू निम्नानुसार रहेका छन्:

बेस्ट गोलकिपर: महादेवस्थानका कुसन राई
बेस्ट डिफेन्डर: सोल्माका आशिष राई
बेस्ट मिडफिल्डर: केएफएका सोइसन राई
हाइ स्कोरर: केएफएका शैलेन्द्र बजिमय
राइजिङ प्लेयर: केएफएका सुलभ भुजेल
बेस्ट कोच: महादेवस्थानका लोकेन्द्र केसी
यी विधागत विजेताहरूले जनही रु ३,३३३ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यसैगरी, खेल पत्रकारितामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै पत्रकार चिसाङ शेर्पालाई ‘खेल पत्रकारिता पुरस्कार २०८१’ प्रदान गरियो, जसअन्तर्गत उनले रु ५,५५५ नगद पुरस्कार प्राप्त गरे।

पुरस्कार वितरण कार्यक्रम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, अखिल नेपाल फुटबल संघ (एन्फा) कोशी प्रदेश उपाध्यक्ष समिर राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई लगायतका अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो।

प्रतियोगिता समापन अवसरमा समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका सोल्माका २० जना व्यक्तिलाई सम्मान गरिएको आयोजक क्लबले जनाएको छ। यही फागुन २४ गते कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।

सोल्मा स्पोर्ट्स क्लबले विसं २०७२ मा ‘नगर कप’ प्रतियोगिता सुरु गरेको थियो। दोस्रो वर्षदेखि खुला पुरुष अन्तरवडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले आगामी संस्करणलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने योजना बनाएको छ।