Saturday, June 27, 2026
Home Blog Page 515

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ०५ पैसा र बिक्रीदर नौ रुपैयाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश हट्यो

0

काठमाडौँ: स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि हटाएको छ।

काठमाडौँ महानगरपालिका अन्तर्गत तीनकुने आसपासका चारकिल्ला तोकी जारी गरिएको आदेश आज बिहान ७ बजेदेखि हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो।

हिजो तीनकुनेमा भएको झडपपछि जारी गरिएको कर्फ्यु आदेश अन्तर्गत सो क्षेत्रभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न प्रतिबन्ध लगाइएको थियो। आदेश बानेश्वर–तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म, तथा गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लागू गरिएको थियो।

राप्रपाका नेताद्वय मिश्र र राणा पक्राउ

0

काठमाडौँ: प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरूलाई आवश्यक सोधपुछका लागि पक्राउ गरिएको हो।

तीनकुनेमा घटेको घटनासँग सम्बन्धित अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै निगरानीमा राखेको छ। त्यसैगरी, अधिवक्ता स्वागत नेपालसहित केही अन्य व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

थाइल्याण्को राजधानी बैंककमा शक्तिशाली भूकम्प, निर्माणाधीन गगनचुम्बी भवन भत्कियो

0

बैंकक। थाइल्याण्को राजधानी बैंककमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पका कारण निर्माणाधीन एक गगनचुम्बी भवन भत्किएको छ, जसमा कामदारहरू पुरिएको हुनसक्ने आशंका गरिएको छ। बैंकक प्रहरीले हताहतीको विवरण अझै प्राप्त नभएको जनाएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड भूगर्भ विज्ञान केन्द्रका अनुसार भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा गएको र यसको केन्द्रबिन्दु म्यानमार रहेको प्रारम्भिक रिपोर्टले जनाउँछ।

भूकम्पको प्रभावले बृहत्तर बैंकक क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्याएको अनुमान गरिएको छ, जहाँ १ करोड ७० लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन्, र धेरैजसो जनताले अग्ला अपार्टमेन्टहरूमा बस्छन्। थाइल्याण्डको विपद् रोकथाम विभागले देशका अधिकांश क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ।

भूकम्पको केन्द्र म्यानमारको मोनिवा शहरबाट लगभग ५० किलोमिटर (३० माइल) पूर्वमा रहेको थियो। म्यानमारको गृहयुद्धको अवस्थाका कारण थप क्षतिको विवरण तत्काल उपलब्ध नभएको एपी समाचार एजेन्सीले जानकारी दिएको छ।

प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राले भूकम्पको प्रभाव मूल्याङ्कन गर्न आपतकालीन बैठक बोलाएका छन्।

क्यानडाका प्रधानमन्त्रीले भने – ‘अमेरिकासँगको पुरानो सम्बन्ध सकियो’

0

काठमाडौं: क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले क्यानडाको अमेरिकासँगको परम्परागत आर्थिक एकीकरण र सुरक्षा तथा सैन्य सहयोगमा आधारित सम्बन्धको युग समाप्त भएको बताएका छन्।

राजधानी ओटावामा आयोजित मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीतिले क्यानडालाई आफ्नै अर्थतन्त्र पुनः समीक्षा गर्न बाध्य बनाएको बताए।

कार्नीले क्यानडाले अमेरिकी आयातित वस्तुहरूमा प्रतिशोधात्मक कर लगाउने चेतावनी दिँदै त्यसले अमेरिकामा “अधिकतम प्रभाव” पार्ने उल्लेख गरे।

ट्रम्पले बुधबार आयातित सवारी साधन र तिनका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए, जुन स्थायी रहने उनले स्पष्ट पारे।

प्रधानमन्त्री कार्नीले क्यानडा र संयुक्त राज्य अमेरिका बीचको १९६५ को अटोमोटिभ उत्पादन सम्झौतालाई ऐतिहासिक रूपमा सबैभन्दा महत्त्वपूर्ण सम्झौता भनेका थिए। उनले ट्रम्प प्रशासनको कर नीतिपछि यो सम्झौता प्रभावहीन बनेको बताए।

तर, कार्नीका अनुसार ट्रम्पको कार्यालयले फोन वार्ताका लागि प्रस्ताव पठाएको छ र सम्भवतः दुई नेताबीच छिट्टै संवाद हुनसक्छ।

यदि वार्ता भयो भने, कार्नी प्रधानमन्त्री बनेपछि ट्रम्पसँग फोनमा कुराकानी गर्ने यो पहिलो अवसर हुनेछ। यसैबीच, क्यानडामा अर्को महिना आम चुनाव हुँदैछ।

काठमाडौंंको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनद्वारा कर्फ्यू आदेश जारी

0

काठमाडौं। काठमाडौंको तीनकुने क्षेत्र तथा आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता अशोक कुमार भण्डारीका अनुसार शुक्रबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाइएको हो।

प्रशासनले कर्फ्यू क्षेत्र निर्धारण गर्दै गौशालादेखि एअरपोर्ट, गैरीधारा हुँदै तीनकुने र कोटेश्वरसम्म, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, तथा बानेश्वर चोकदेखि शंखमुल चोकसम्म कर्फ्यू लागू हुने जनाएको छ।

यसैगरी, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

तीनकुनेको आगजनीमा जलेर पत्रकारको सुरेश रजकको मृत्यु

0

काठमाडौं । राजाबादीको आन्दोलनका बीच तीनकुनेस्थित आगजनी गरिएको भवनमा आगोमा जलेर एक पत्रकारले ज्यान गुमाएको पाइएको छ।

उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्यूजका पत्रकार सुरेश रजकको ज्यान गएको हो।

अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन्।

सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग

0

काठमाडौं। समाजवादी मोर्चा नेपालले प्रदर्शनको नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

आज जारी गरेको विज्ञप्तिमा मोर्चाले राजनीतिक दलका कार्यालय तथा नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै, यस्ता अराजक गतिविधिको कडा शब्दमा भत्र्सना गरेको छ।

मोर्चाले आफ्नो जनप्रदर्शनबाट अत्तालिएका यथास्थितिवादी समूहहरूले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय तथा काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास, निजी तथा सार्वजनिक सम्पत्ति तथा सञ्चार गृहमा तोडफोड र आगजनी गरेको आरोप लगाएको छ।

गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आयोजित जनप्रदर्शनमा उल्लेखनीय नागरिक सहभागिता रहेको भन्दै मोर्चाले सहभागीप्रति आभार प्रकट गरेको छ।

समाजवादी मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन्।

गृह मन्त्रालयले तिनकुने घटनाको जिम्मेवार दुर्गा प्रसाईलाई ठहर्‍यायो

0

काठमाडौँ: गृह मन्त्रालयले तिनकुने क्षेत्रमा शुक्रबार भएका घटनाको प्रमुख जिम्मेवार दुर्गा प्रसाईलाई ठहर्‍याएको छ।

शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने, “हामीले प्राप्त गरेको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेका कारण उहाँ नै यो घटनाप्रति मूल जिम्मेवार हुनुहुन्छ।”

मन्त्रालयले प्रदर्शनका क्रममा अराजक गतिविधि देखिएको निष्कर्ष निकाल्दै भएको क्षतिको जिम्मेवारी पनि आयोजककै हुने स्पष्ट पारेको छ।

राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रसाईको नेतृत्वमा शुक्रबार राजधानीमा आयोजित प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना भएका थिए, जसको जिम्मा प्रसाईले लिनुपर्ने मन्त्रालयको भनाइ छ।

म्याद सकिएको दुई वर्षपछि रावण पार्क निर्माण थालियो

0

म्याग्दी: म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ स्थित रावण पार्क निर्माण कार्य अब पुनः तीव्र भएको छ, दुई वर्षको अवरोध पछि। निर्माण कार्य २०७७ सालको फागुन महिनामा धर्म एस कास्यप जेभी द्वारा रु १ करोड ७६ लाखमा ठेक्का सम्झौता गरिएको थियो। यस परियोजनाले हालको दुई महिनामा निकै गति लिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार र पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत यस पार्कको निर्माण कार्य सुरु भएको थियो, जसको लागतमा मन्त्रालयले ७० प्रतिशत र बेनी नगरपालिकाले ३० प्रतिशत हिस्सेदारी गरेका छन्।

योजना सम्बन्धी नगरपालिकाबाट नियमित प्रतिवेदन नपठाइएको कारण २०७९/८० र २०८०/८१ को बजेट व्यवस्थापनमा समस्या आएको थियो। जसका कारण निर्माण कार्य ४४ महिना सम्म स्थगित भएको थियो। केही प्रयासपछि २०७८ सालको असारदेखि बजेट व्यवस्थापन गरी निर्माण कार्यलाई पुनः लयमा फर्काइएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले जानकारी दिए।

“पार्कमा घेराबार, प्रवेशद्वार र पदमार्ग निर्माणको काम धेरै हदसम्म पूरा भएको छ। रावणको मूर्ति राख्ने स्थानमा जग खन्न सुरु भएको छ,” उहाँले भने। तर, सर्वोच्च अदालतमा परेका मुद्दाका कारण रावणको मूर्ति राख्ने विषयमा अनिश्चितता उत्पन्न भएको छ।

ठेकेदार कम्पनीले रु १८ लाखको लागतमा छ मिटर अग्लो रावणको मूर्ति तयार पारेको छ, तर पर्वतका केदारनाथ दासले सर्वोच्च अदालतमा दायर गरेको रिटको कारण रावणको मूर्ति राख्ने विषयमा अन्तरिम आदेश जारी भएको छ। यस मुद्दाको टुंगो नलागेसम्म मूर्तिको राख्ने विषयमा अनिश्चितता कायम रहेको वडाध्यक्ष बानियाँले बताए।

पुलाह आश्रम क्षेत्रको १४ रोपनी भूमि मध्य चार रोपनीमा पार्क निर्माण भइरहेको छ। आश्रमको संरक्षण गरिएको क्षेत्र जसमा ऋषिमुनि मन्दिर, हवन कुण्ड र रावणको नाभी गाडिएको स्थान समावेश छन्, यथावत राख्दै बगैँचा, विश्रामस्थल, घेराबार र अन्य पूर्वाधार निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताए।

स्थलको घेराबारका लागि पर्खाल निर्माण कार्य पूरा भएको छ। पार्क निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने आशा व्यक्त गरिएको छ। रावण पार्क निर्माण स्थल समुद्र सतहदेखि २,००० मिटरको उचाइमा रहेको र यहाँबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ। यस पार्कबाट म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ।

पौराणिक मान्यताअनुसार, यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेका थिए। रामायणको पाँचौं अध्यायमा रावणको जन्म पछि भएको घटनाहरू उल्लेखित छन्। म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले २०६६ सालमा धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा पार्क बनाउने योजना अघि सारेका थिए।

विसं २०७४ देखि बजेट विनियोजन भए तापनि ठाउँको विवाद र स्रोतको अभावले रामायण उद्यानको योजना कार्यान्वयन गर्न नसकेको थियो। भविष्यमा मुक्तिनाथ प्रवेशद्वार, गलेश्वर, पुलाचौर र जगन्नाथ क्षेत्रलाई समेटेर धार्मिक करिडोर निर्माण गर्ने योजना पनि अघि सारिएको छ। बेनी बजारबाट गाडीमा ३० मिनेटको दूरीमा यो पार्क अवस्थित छ।