Friday, July 3, 2026
Home Blog Page 464

ट्रम्पको हार्वड नीतिले बेल्जियमकी भावी रानी समस्यामा

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको प्रभाव विश्वभरि परिरहेको छ। यसपटक यसको असर बेल्जियमकी भावी रानी राजकुमारी एलिजाबेथमाथि परेको छ, जो हार्वर्ड विश्वविद्यालयमा सार्वजनिक नीति अध्ययन गरिरहेकी छिन्।

राजकुमारी एलिजाबेथले हार्वर्डको स्नातकोत्तर कार्यक्रमअन्तर्गत पहिलो वर्ष पूरा गरिसकेकी छन्। तर, ट्रम्प प्रशासनको नयाँ नीतिले विदेशी विद्यार्थीहरूको भविष्य अन्योलमा पारेपछि उनको शैक्षिक यात्रा प्रभावित भएको छ। नयाँ निर्णयअनुसार हार्वर्डलगायतका केही विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको भर्ना अनुमति फिर्ता लिइएको छ, जसले एलिजाबेथको अध्ययनमा बाधा उत्पन्न गरेको हो।

२३ वर्षीया एलिजाबेथ अब अमेरिका छोड्नुपर्ने वा अर्को विश्वविद्यालयमा स्थानान्तरण हुनुपर्ने सम्भावना देखिएको छ। ट्रम्प प्रशासनको यो कदम अन्य विश्वविद्यालयहरूमा पनि लागू हुन सक्ने भएकाले चिन्ता बढेको हो।

बेल्जियमको शाही परिवारले ट्रम्पको निर्णयप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। शाही परिवारका प्रवक्ता लोर भान्डुर्नले राजकुमारीले हालै पहिलो वर्ष पूरा गरेको जानकारी दिँदै भनिन्, “ट्रम्प प्रशासनको निर्णयको प्रभाव के कति हुन्छ भन्ने कुरा आगामी दिनमा प्रस्ट हुनेछ। हामी परिस्थितिको अध्ययन गरिरहेका छौं।”

सञ्चार निर्देशक जेभियर बार्टलेले पनि स्थिति मूल्यांकन भइरहेको बताएका छन्। उनका अनुसार “अब धेरै कुरा परिवर्तन हुन सक्छ।”

राजकुमारी एलिजाबेथ बेल्जियमका राजा फिलिप र रानी म्याथिल्डेकी जेठी छोरी तथा सिंहासनको पहिलो उत्तराधिकारी हुन्। हार्वर्डमा अध्ययन गर्नुअघि उनले अक्सफोर्ड विश्वविद्यालयबाट इतिहास र राजनीतिमा स्नातक गरेकी थिइन्।

हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको निर्णयको आलोचना गर्दै एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा यो निर्णयलाई गैरकानुनी मात्र नभई विदेशी विद्यार्थीहरूलाई लक्षित गर्ने भेदभावपूर्ण कदम भनेर उल्लेख गरिएको छ।

जापानलाई उछिन्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्यो

0

काठमाडौं: भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ। नीति आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीभीआर सुब्रमण्यमले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्याङ्क उद्धृत गर्दै भारतको अर्थतन्त्र ४ ट्रिलियन अमेरिकी डलर पुगेको पुष्टि गरेका छन्।

नीति आयोगको गभर्निङ काउन्सिलको १०औं बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुब्रमण्यमले भने, “जब म बोल्दैछु, हामी चौथो ठूलो अर्थतन्त्र हौं। हामी ४ ट्रिलियन डलरको अर्थतन्त्रमा पुगेका छौं, र यो मेरो होइन, अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्क हो।”

उनका अनुसार भारतले जापानलाई उछिनेर चौथो स्थान हासिल गरेको हो। अब अमेरिका, चीन र जर्मनी मात्र भारतभन्दा अगाडि छन्।

“यदि हामीले योजना अनुसार विकासलाई निरन्तरता दियौं भने, आगामी दुईदेखि साढे तीन वर्षभित्र भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ,” सुब्रमण्यमले दाबी गरे।

उनले भारतको वर्तमान अवस्था तीव्र आर्थिक विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै भने, “भारत अहिले त्यस्तो चरणमा छ, जहाँ यसले अत्यन्त तीव्र गतिमा वृद्धि गर्न सक्छ—ठ्याक्कै पहिलेका धेरै देशहरूले गरेका जस्तै।”

रविको निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको रास्वपा निष्कर्ष

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतको आदेश प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ।

आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार पार्टीले सर्वोच्च अदालतको आदेशलाई कानुनी रूपमा स्वीकार गर्ने स्पष्ट अडान लिएको भए पनि प्रक्रिया पक्षमा त्रुटि रहेको निष्कर्षमा पुगेको छ।

“अदालतको आदेशप्रति हाम्रो सम्मान छ, त्यसलाई कानुनी रूपमा मान्य मान्दछौं,” झाको भनाइ छ, “तर आदेशको प्रक्रियामा कमजोरी देखिएकाले यस विषयमा सार्वजनिक बहस आवश्यक ठानिएको छ।”

बैठकमा हालै अध्यागमन विभागमा देखिएको भ्रष्टाचारबारे समेत गम्भीर छलफल भएको थियो। रास्वपाले सो घटनाले वर्तमान सत्ता गठबन्धनको औचित्यमाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको छ। कार्यवाहक प्रवक्ता झाले भने, “अरु दलका नेतालाई प्रमाणबिना थुनामा राख्ने तर पुराना दलका नेताहरूलाई भने प्रमाणित नगरी कारबाही गर्न नसकिने प्रवृत्ति देखिएको छ।”

बैठकमा देशमा सुशासन स्थापनाका लागि आन्दोलनको आवश्यकतामाथि समेत छलफल भएको उनले जानकारी दिए। साथै, उनले आउँदो संसद् बैठकमा रास्वपा विभिन्न विषयमा सशक्त ढंगले प्रस्तुत हुने बताए। “मंगलबारको संसद् बैठक सामान्य हुनेछ भन्ने भ्रम नराख्नुस्,” उनले चेतावनी दिए।

पूर्व सभामुख कृष्ण महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

0

काठमाडौँ: तत्कालीन सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै कारागारसम्म पुर्‍याएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन्।

सूर्यविनायक नगरपालिका–बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी उनी कोठाभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।

हाल घटनास्थलमा प्रहरीको टोली पुगेको छ। मृतकका श्रीमान विराटनगरमा रहेको र उनी काठमाडौँ आइरहेको बताइएको छ।

बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

0

भक्तपुर: भक्तपुरमा सम्पन्न बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ। प्रतियोगिता जेठ ९ र १० गते सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा तथा सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा सम्पन्न भएको हो।

प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो, भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्यसहित तेस्रो स्थानमा चित्त बुझायो।

पुरुष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए। यो जानकारी सितोरियो कराँतेका प्रशिक्षक सचितानन्द बनेपालीले दिनुभयो।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भ बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गर्नुभएको थियो। समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समारोहमा वडा नं. २ का अध्यक्ष प्रदीप कार्की र वडा नं. ९ का अध्यक्ष भगवान् खत्री विशेष आतिथ्यका रूपमा सहभागी थिए।

विजेता खेलाडीहरूलाई मेडल र प्रमाणपत्र तथा टोलीलाई ट्रफी प्रदान गरियो। समापन समारोहमा बोल्दै नगरप्रमुख थापाले नगरको समुन्नत विकासका लागि खेल क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, भावी पुस्ताले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखिएको बताउनुभयो।

कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराँते संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १३ जिल्लाका १५ स्थानीय तहबाट १२० पुरुष र ९० महिला गरी कुल २१० खेलाडी सहभागी थिए। सहभागी नगरपालिकामा मध्यपुरथिमी, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, बागमती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेल लगायत रहेका थिए।

प्रतियोगिता विभिन्न तौल समूहमा सम्पन्न भएको थियो — पुरुषतर्फ ३५ केजीदेखि ६७ केजीसम्म र महिलातर्फ ३५ केजीदेखि ६१ केजीसम्म। साथै, महिला–पुरुष व्यक्तिगत काता र टिम काता प्रतिस्पर्धाहरू पनि सञ्चालन गरिएका थिए। सम्पूर्ण खेल World Karate Federation (WKF), Asian Karate Federation (AKF) र Nepal Karate Federation (NKF) का मापदण्डअनुसार सञ्चालन गरिएको हो।

प्रतियोगिताका प्रमुख निर्णायक (चिफ रेफ्री) प्रकाशमोहन धौवडेल रहनुभएको थियो। प्रतियोगिताका क्रममा कराँते खेलको विकासमा योगदान पुर्‍याउने प्रशिक्षक, व्यवस्थापक र संघ प्रतिनिधिहरूलाई सम्मानसमेत गरिएको थियो। सहभागीहरूको भनाइमा, खेल संघको सशक्त व्यवस्थापन, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र नगरपालिकाको सक्रियताले यो प्रतियोगिता कराँते खेलको प्रवर्द्धनमा ऐतिहासिक उपलब्धि सावित भएको छ।

हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु, उद्घाटन नगरप्रमुख आचार्यबाट

0

पोखरा: पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा ३५ वर्षमाथिका खेलाडीहरू लक्षित “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” औपचारिक रूपमा सुरु भएको छ। हेमजा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभयो।

उद्घाटन समारोहमा नगरप्रमुख आचार्यले पोखरामा खेलकुद पूर्वाधारको विकास, खेलाडीको सीप अभिवृद्धि, विद्यालयस्तरमै खेल प्रवर्द्धन तथा समुदायमा खेल चेतना जगाउने काममा महानगर प्रतिबद्ध रहेको बताउनुभयो।

महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले वडा तहमा विविध खेलकुद गतिविधिहरू संचालन भइरहेको जानकारी दिनुभयो। शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्वस्थ समाज निर्माणका लागि खेललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दीपक खतिवडाले पोखरालाई फुटबलको उर्वरभूमि भन्दै, फुटबलले विभिन्न आस्थाबीच एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रतियोगिताको उद्घाटन दिनको पहिलो खेलमा आयोजक टोली वडा नं. २५ (हेमजा निलो) ले वडा नं. २९ लाई ९–२ को फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुआत गर्‍यो। दोस्रो खेलमा वडा नं. १५ ले वडा नं. १६ लाई २–० ले हराउँदै अर्को चरणमा स्थान बनायो। आइतबार वडा नं. १ र १७ तथा वडा नं. ८ र ५ बीच प्रतिस्पर्धा हुने तालिका छ।

प्रतियोगितामा कुल १३ टोलीको सहभागिता रहेको छ। विजेता टोलीले नगद रु १,११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ५५,५५५ सहित पुरस्कार पाउनेछ।

त्यस्तै, उत्कृष्ट गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही रु २,००० सहित ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता अवधिभर प्रदर्शनका आधारमा चयन गरिने सर्वोत्कृष्ट खेलाडीलाई रु ५,००० र ट्रफी प्रदान गरिनेछ। क्वाटरफाइनल चरणपछि हरेक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित गरिनेछ।

हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले खेलकुदमार्फत वडा स्तरमा एकता, स्वास्थ्य र खेल चेतनाको सशक्त प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो।

नेकपा एमालेको सचिवालय बैठक बस्दै

0

काठमाडौं: नेकपा एमालेको सचिवालय बैठक आज आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।

बैठकमा सरकारले आगामी जेठ १५ गते संसदमा पेस गर्न लागेको आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी तयारीमाथि छलफल गरिनेछ। साथै, बैठकमा सरकारी कामको समीक्षा, पार्टीको आन्तरिक तथा सांगठनिक गतिविधि, र समसामयिक राजनीतिक विषयवस्तुहरू समेत छलफलको एजेन्डामा रहेका छन्।

चीनमा नेपाली संस्कृति प्रदर्शन

0

गुइलिन (चीन): नेपाल–चीनबीच पर्यटन, कला र सांस्कृतिक प्रवर्द्धनका उद्देश्यले यहाँ एक भव्य सांगीतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति गुइलिनमा सम्पन्न भएको हो।

कार्यक्रम एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट को आयोजनामा, चङ्दोंसी गुइलिन फुक्सी एसेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङ को सहआयोजनामा सम्पन्न भयो।

नेपाली र चिनियाँ कलाकारहरूको आकर्षक प्रस्तुति
कार्यक्रममा नेपालका देविका वन्धन, कमल खत्री, तथा राष्ट्रिय गतिशील कला समूह लगायतका कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। चिनियाँ कलाकारहरूले पनि आफ्ना मौलिक नृत्य र गीत प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारे।

मित्रता प्रवर्द्धनको सेतु
एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले नेपाल–चीन मित्रता, संस्कृति, कला र पर्यटन प्रवर्द्धनको सेतुका रूपमा यस कार्यक्रमलाई मूल्यांकन गर्नुभयो। “नेपालको आवाज र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने हाम्रो प्रयास यही कार्यक्रममार्फत साकार बन्दैछ,” उहाँले बताउनुभयो।

ऐतिहासिक सम्बन्ध र सामाजिक परिवर्तन
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले नेपाल–चीनबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धको चर्चा गर्दै अरनिको र भृकुटीले पुर्‍याएको योगदान स्मरण गर्नुभयो। उहाँले जनताको भावना र आकाङ्क्षाको प्रतिनिधित्व गर्न पाएकोमा गर्व व्यक्त गर्दै मित्रता अझ प्रगाढ बन्दै गएको उल्लेख गर्नुभयो।

चिनियाँ अधिकारीहरूको सहभागिता
कार्यक्रममा गुइलिन संयुक्त मोर्चा कार्यविभागका मन्त्री ब्लाङ सिएन फिङ, गुइलिन सांस्कृतिक स्वयंसेवक संघका अध्यक्ष लिनबिन, उपनिर्देशक झाङ गाओलियन, ग्लोरी कज प्रमोशन एशोसिएसनका उपाध्यक्ष याङ युनवु, फुक्सी एसेट म्यानेजमेन्टका अध्यक्ष चेन होङसियान, र लिजियाङ उद्धार केन्द्रका कप्तान मो गुआङफु लगायतको उपस्थिति रहेको थियो।

सगरमाथा आरोहण र अवार्ड सम्मान
विश्वका ८,००० मिटरभन्दा अग्ला हिमाल ३३ पटक सफलतापूर्वक आरोहण गरेका मिड्ना डेम्ब शेर्पाले हिमाल आरोहणमार्फत पर्यटन प्रवर्द्धनको सम्भावनाबारे चर्चा गर्नुभयो।

कार्यक्रममा देविका वन्धनलाई “इमर्जिङ सिङ्गर अवार्ड” र कमल खत्रीलाई “उत्कृष्ट गायक पुरस्कार” प्रदान गरिएको थियो।

सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइ
कार्यक्रमका प्रबन्ध निर्देशक थुप्तेन ग्याल्बो मोक्तानले नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। “हाम्रो संगीत, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रस्तुति दुवै देशबीचको समझदारीलाई अझ सुदृढ बनाउने विश्वास लिएका छौं,” उहाँले भन्नुभयो।

चलचित्र ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक हुँदै, चाबहिलको क्यूएफएक्समा विशेष कार्यक्रम आयोजना

0

काठमाडौं: बहुप्रतिक्षित नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को अफिसियल ट्रेलर सार्वजनिक गर्ने तयारी पूरा भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रम आगामी जेठ १२ गते, सोमबार चावहिलस्थित क्यूएफएक्स सिनेमा, छायाँ सेन्टर (थमेल) मा आयोजना हुने भएको छ।

कार्यक्रम दिउँसो १२:३५ बजे सुरु हुनेछ। निर्देशक सिमोश सुनुवार र निर्माता सन्तोष गौतम को विशेष उपस्थितिमा ट्रेलर सार्वजनिक गरिनेछ।

चलचित्रको निर्माण कम्पनी दिनेश सितौला फिल्म्स प्रा.लि. का अनुसार ‘जन्ते बाख्रो’ सामाजिक कथावस्तुमा आधारित मनोरञ्जनात्मक शैलीमा तयार पारिएको चलचित्र हो, जसले दर्शकहरूलाई सशक्त सन्देश दिन प्रयास गर्नेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

0

काठमाडौं: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ। बैठक समितिको बैठक कक्षमा आयोजना गरिने छ।

बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी उपसमितिबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची रहेको छ।