Thursday, May 7, 2026
Home Blog Page 44

डा. सुभाष आचार्य महान्यायाधिवक्ता बन्ने तयारीमा

0

काठमाडौँ । फौजदारी कानुनका विज्ञ तथा अदालत अभ्यासमा अब्बल मानिएका अधिवक्ता डा. सुभाष आचार्यलाई बालेन नेतृत्वको सरकारको महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

डा. आचार्यले नेपालका चर्चित फौजदारी मुद्दाहरूमा प्रभावकारी पैरवी गर्दै आफ्नो व्यावसायिक दक्षता प्रमाणित गरेका छन्। अदालतमा तार्किक प्रस्तुति, सुसंगत कानुनी विश्लेषण तथा सन्तुलित दृष्टिकोणका कारण उनी सक्षम कानुन व्यवसायीका रूपमा चिनिन्छन्।

उनले नेपाली सेना तथा नेपाल प्रहरीमा कानुनी सल्लाहकारको रूपमा समेत काम गरिसकेका छन्। सुरक्षा निकायसँगको अनुभवले उनको प्रशासनिक तथा संस्थागत कानुनी समझलाई थप परिपक्व बनाएको मानिन्छ, जसलाई महान्यायाधिवक्ताको जिम्मेवारीका लागि उपयुक्त आधारका रूपमा लिइएको छ।

डा. आचार्य लामो समयदेखि फौजदारी कानुनको अध्यापनमा संलग्न छन् र यस क्षेत्रसम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशित गरिसकेका छन्। फौजदारी न्याय प्रणाली, न्यायिक व्याख्या तथा विधिशास्त्रसम्बन्धी अनुसन्धान र लेखनमार्फत उनले कानुनी क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

यस विषयमा प्रतिक्रिया माग्दा उनले सरकारले उपयुक्त निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्। औपचारिक निर्णयअघि टिप्पणी गर्नु उचित नहुने पनि उनको भनाइ छ।

डा. आचार्यले त्रिभुवन विश्वविद्यालयबाट “Judicial Limitations on the Interpretation of Criminal Statutes” विषयमा विद्यावारिधि प्राप्त गरेका छन्। उनी प्रबल जनसेवा श्री, नेपाल विद्याभूषण पदक ‘ख’ तथा उत्कृष्ट कानुनी अंग्रेजी लेखन पुरस्कारबाट सम्मानित भइसकेका छन्।

राष्ट्रपति पौडेलद्वारा चैत १९ मा संसद् अधिवेशन आह्वान

0

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले आगामी चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्को अधिवेशन बोलाएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा सोमबार जारी विज्ञप्तिअनुसार सिंहदरबारस्थित संघीय संसद् भवनमा अधिवेशन आह्वान गरिएको हो।

यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको उक्त सिफारिसलगत्तै राष्ट्रपति कार्यालयले एक घन्टाभित्रै अधिवेशन आह्वान गरेको जनाएको छ।

इरानको आक्रमण कुवेतसम्म: विद्युत् प्लान्टमा क्षति, एक भारतीय कामदारको मृत्यु

0

कुवेत सिटी । अमेरिका–इजरायल र इरानबीच जारी युद्धको प्रभाव छिमेकी मुलुक कुवेतसम्म पुगेको छ। सोमबार इरानले कुवेतस्थित एक विद्युत् तथा पानी शुद्धीकरण प्लान्टमा आक्रमण गरेको जनाइएको छ।

कुवेती अधिकारीहरूका अनुसार उक्त आक्रमणमा परी प्लान्टमा कार्यरत एक भारतीय कामदारको मृत्यु भएको छ भने सेवा भवनमा ठूलो भौतिक क्षति पुगेको छ। कुवेतको विद्युत् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी आक्रमणका कारण पूर्वाधारमा गम्भीर असर परेको र अवस्था नियन्त्रणमा लिन आपत्कालीन प्राविधिक टोली परिचालन गरिएको उल्लेख छ।

इरानले यसबारे औपचारिक प्रतिक्रिया नदिए पनि त्यहाँका सरकारी सञ्चार माध्यमहरूले कुवेती मन्त्रालयलाई उद्धृत गर्दै प्लान्टमा व्यापक क्षति भएको खबर प्रसारण गरेका छन्। एक महिनाअघि सुरु भएको युद्धका कारण कुवेतले लगातार यस्ता आक्रमणहरूको सामना गरिरहेको बताइएको छ।

यसअघि आइतबार साँझ कुवेती आकाशमा १४ वटा मिसाइल र १२ वटा ड्रोन देखिएको थियो। तीमध्ये केही ड्रोनले सैन्य क्याम्पलाई निशाना बनाउँदा १० जना सैनिक घाइते भएका थिए।

ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

0

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ। गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको मागसहित आइतबार दायर गरिएको रिटमा सोमबारका लागि पेसी तोकिएको हो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन्।

उक्त आन्दोलनका क्रममा भएको दमनका विषयमा जिम्मेवार ठहर गर्दै गठन गरिएको जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई शनिबार पक्राउ गरेको हो।

नेपालमा स्वास्थ्य प्रविधि विस्तारमा कोमेनको पहल: डब्लूआरजी मेडटेकसँग रणनीतिक साझेदारी

0

काठमाडौं । नेपालमा स्वास्थ्य सेवा सुधार र आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यसहित चीनको अग्रणी मेडिकल उपकरण कम्पनी सेन्जेन कोमेन मेडिकल इन्स्ट्रुमेन्ट्स (कोमेन) का अध्यक्ष यी योङको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले हालै नेपाल भ्रमण सम्पन्न गरेको छ।

कोमेन विश्वका तीव्र गतिमा विकास भइरहेका मेडिकल उपकरण कम्पनीहरूमध्ये एक हो, जसले १५० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गर्दै हजारौँ अस्पतालमा उपकरण जडान गरिसकेको छ। कम्पनीले नवप्रवर्तन, विश्वसनीयता र चिकित्सकीय प्रभावकारितामा निरन्तर लगानी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा हासिल गरेको छ।

नेपालमा स्वास्थ्य क्षेत्रको बढ्दो आवश्यकता र प्रविधिमैत्री समाधानको मागलाई ध्यानमा राख्दै, कोमेनले डब्लूआरजी मेडटेक सोलुसन्स प्रालिलाई आधिकारिक राष्ट्रिय वितरक (सुपर डिस्ट्रिब्युटर) तथा रणनीतिक साझेदारका रूपमा नियुक्त गरेको छ। यस व्यवस्था अनुसार डब्लूआरजी मेडटेकले सब–डिस्ट्रिब्युटर र च्यानल पार्टनरहरूसँग समन्वय गरी बजार विस्तार, वितरण व्यवस्थापन, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा सञ्चालन गर्नेछ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख अस्पतालहरूको अवलोकन गर्दै चिकित्सक, क्लिनिकल विशेषज्ञ तथा अस्पताल व्यवस्थापनसँग प्रत्यक्ष अन्तर्क्रिया गरेको थियो। बिरामी निगरानी, आईसीयू समाधान, क्रिटिकल केयर तथा नवजात शिशु स्याहारसम्बन्धी अत्याधुनिक उपकरणहरूको प्रस्तुति स्वास्थ्यकर्मीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ।

कोमेनका अध्यक्ष यी योङले नेपालप्रतिको प्रतिबद्धता उपकरण आपूर्तिमा मात्र सीमित नभई शिक्षा, तालिम र प्राविधिक सहयोगमार्फत दीर्घकालीन क्लिनिकल साझेदारी विकास गर्ने लक्ष्य रहेको बताएका छन्।

डब्लूआरजी मेडटेकले देशभर विश्वसनीय सेवा सञ्जाल विस्तार गर्दै स्वास्थ्य सेवा प्रदायकहरूसँग सहकार्य गर्ने योजना अघि बढाएको छ। यस सहकार्यबाट नेपालमा गुणस्तरीय मेडिकल उपकरणको उपलब्धता वृद्धि भई स्वास्थ्य सेवाको आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

आजको विदेशी विनिमयदर: अमेरिकी डलर १५२ नजिक, युरो १७४ रुपैयाँभन्दा माथि

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा तोकिएको छ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ।

बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा तोकिएको छ।

यस्तै, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कालीमाटी बजारमा तरकारी–फलफूलको भाउ सार्वजनिक: गोलभेँडा ६५, आलु १५ रुपैयाँदेखि

0

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) २० रुपैयाँ र गोलभेँडा सानो (तराई) ३० रुपैयाँ कायम गरिएको छ। आलु रातो १५ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ गाजर (लोकल) २५ रुपैयाँ, गाजर (तराई) १५ रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, बन्दा (नरिवल) १५ रुपैयाँ, काउली (स्थानीय) ५० रुपैयाँ र काउली (तराई) ४० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, रातो मूला १५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ कायम गरिएको छ।

अन्य तरकारीमा मटरकोसा ६० रुपैयाँ, घिउ सिमी (लोकल) ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, लौका ६० रुपैयाँ र फर्सी पाकेको ५० रुपैयाँ तोकिएको छ। हरियो फर्सी (लाम्चो) ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, सलगम ४० रुपैयाँ, भिन्डी १०० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ कायम गरिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग ५० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, चमसुर १०० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र हरियो प्याज ११० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, बकूला ३५ रुपैयाँ, तरुल ७० रुपैयाँ, च्याउ (कन्य) ११० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, चुकुन्दर ५० रुपैयाँ, जिरीको साग ६० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना १०० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १३० रुपैयाँ र तरबुजा (हरियो) ४० रुपैयाँ कायम गरिएको छ। भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) २० रुपैयाँ, काँक्रो (हाइब्रिड) १५ रुपैयाँ, निबुवा ७० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) २५० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १७० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

पश्चिमी वायुको प्रभाव: देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेशसहित कोशी प्रदेशको तराई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

इनिशा विक प्रकरण: ‘सामूहिक बलात्कारपछि हत्या’ आरोपसहित मुद्दा अदालतमा दायर

0

सुर्खेत । १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको भनिएको घटना अदालतमा प्रवेश गरेको छ। सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दायर गर्दै घटनालाई ‘सामूहिक बलात्कारपछि हत्या’ को रूपमा प्रस्तुत गरेको हो।

यसअघि प्रहरीले घटनालाई एकल जबरजस्ती करणीका रूपमा निष्कर्ष निकालेको थियो। तर सरकारी वकिलले अनुसन्धानका विभिन्न प्रमाणहरूका आधारमा घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको दाबी गरेको छ।

अभियोग पत्रअनुसार चार जना नाबालकले पूर्वयोजना बनाएर इनिशालाई जनजागरण सामुदायिक वनमा लगेर सामूहिक रूपमा जबरजस्ती करणी गरी हत्या गरेका हुन्। पीडितलाई प्रेमको जालमा पारेर घटनास्थलमा पुर्‍याइएको पनि अभियोगमा उल्लेख छ।

फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४ स्थित सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

पोस्टमार्टम रिपोर्टअनुसार जबरजस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागी अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको देखिएको छ। शरीरका अन्य भागमा पनि संघर्षका चिन्ह भेटिएको उल्लेख गरिएको छ।

घटनास्थलबाट कण्डम, रगतका दाग, कपडाहरू र अन्य भौतिक प्रमाणहरू फेला परेका थिए। साथै मोबाइल लोकेसन, कल डिटेल र सिसिटिभी फुटेजले पनि अभियुक्तहरूबीच समन्वय भएको संकेत गरेको अभियोगमा उल्लेख छ।

डिजिटल प्रमाणअनुसार घटनाको दिन बिहानैदेखि अभियुक्तहरूबीच निरन्तर सम्पर्क भएको र घटनास्थल आसपासमा उनीहरूको उपस्थिती देखिएको छ।

पीडित परिवारले सुरुदेखि नै सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै अन्य व्यक्तिहरूको संलग्नता बारे उजुरी दिएका थिए।

सरकारी वकिलले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सामूहिक जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय माग गरेको छ।

अब उक्त घटनाको अन्तिम टुंगो अदालतको फैसला पछि लाग्नेछ।

पेन्टागनको तयारी— इरानमा सम्भावित स्थलगत कारबाहीबारे योजना

0

काठमाडौं । अमेरिकी पत्रिका The Washington Postका अनुसार पेन्टागनले इरानमा सम्भावित स्थलगत कारबाहीका लागि केही हप्तादेखि तयारी गरिरहेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थल सेना पठाउने योजनालाई अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे अन्तिम निर्णय भने अझै नभएको जनाइएको छ।

United States Central Commandका अनुसार शनिबार युद्धपोत USS Tripoli सम्बन्धित क्षेत्रमा पुगेको छ। उक्त जहाजमा करिब ३,५०० नाविक तथा मरीनहरू रहेको र यसले यातायात तथा स्ट्राइक लडाकु विमानहरू बोकेको बताइएको छ।

यसैबीच, अमेरिकी जहाजहरूमा ४,००० भन्दा बढी मरीनहरू खाडी क्षेत्रमा परिचालनका लागि तयारी अवस्थामा रहेको र 82nd Airborne Divisionका प्याराट्रूपरहरू पनि तयारीमा रहेको उल्लेख गरिएको छ।

उता, मध्यपूर्वको विकसित परिस्थितिबारे छलफल गर्न इजिप्ट, साउदी अरेबियाटर्कीका विदेश मन्त्रीहरू पाकिस्तानमा भेला भएका छन्।

यसैक्रममा पाकिस्तानले संयुक्त राज्य अमेरिकाइरानबीच वार्ता आयोजना गर्ने प्रस्तावसमेत अघि सारेको जनाइएको छ।