Saturday, May 2, 2026
Home Blog Page 4

शिक्षा बजेट २० प्रतिशत पुर्‍याउन शिक्षक महासङ्घको माग, ऐन ल्याउन दबाब

0

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत विनियोजन गर्न सरकारसँग माग गरेको छ। महासङ्घको राष्ट्रिय समितिले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा ऐन, शिक्षकका समस्या तथा समसामयिक विषयमा ६ बुँदे धारणा सार्वजनिक गरेको हो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णयको समर्थन गरिएको छ। उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

राहत, करार, साविक उमावि, शिक्षण–सिकाइ अनुदान, बाल कक्षा र विशेष शिक्षासहितका अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान हुने गरी आगामी अधिवेशनबाटै अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउन महासङ्घले माग गरेको छ।

सिराहाको लहान, धनुषाको कमलामाई र बाजुराको बुढीगंगा लगायतका स्थानीय तहमा कार्यरत शिक्षक–कर्मचारीले महिनौँदेखि तलब नपाएको विषयमा महासङ्घले आपत्ति जनाएको छ। रोकिएको तलब भत्ता तत्काल उपलब्ध गराउन र सहजीकरण गर्न सरकारसँग माग गरिएको छ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकासहित केही स्थानीय तहले विनाकारण शिक्षक हटाउने र अपायक स्थानमा सरुवा गर्ने कार्य भइरहेको भन्दै यस्तो गतिविधि तत्काल रोक्न चेतावनी दिइएको छ।

महासङ्घले आफ्ना आधारभूत मागहरू सम्बोधन नभए थप दबाबका कार्यक्रम ल्याउन सक्ने संकेत पनि दिएको छ।

अमेरिकी विशेष दूत सर्जियो गोर आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेट अनिश्चित

0

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन्। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरले केही दिनअघि नेपाल भ्रमण सम्पन्न गरेपछि गोरको भ्रमण हुन लागेको हो।

भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले नेपालमा प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजना बनाएका छन्। तर हालसम्म उक्त भेट सुनिश्चित भएको छैन। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गोरसँग भेटघाटको कुनै औपचारिक कार्यतालिका तय भएको छैन, यद्यपि भेटका लागि प्रयास जारी रहेको बुझिएको छ।

प्रधानमन्त्रीसँग भेट अनिश्चित रहे पनि गोरको अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट हुने निश्चित भएको छ। उनको भ्रमण लगानी र आर्थिक सहकार्यमा केन्द्रित रहने बताइएको छ।

यसअघि गोरले बङ्गलादेश, भुटान र श्रीलंकालगायत देशको भ्रमण गरी त्यहाँका उच्च नेतृत्वसँग भेट गरेका थिए।

प्रधानमन्त्री बालेन शाह पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा विदेशी प्रतिनिधिसँग भेट नगरेको स्रोतको भनाइ छ। उनले हालसम्म सामूहिक रूपमा मात्र राजदूतहरूसँग भेटघाट गरेका छन् र प्रायः राष्ट्र प्रमुख वा उच्च तहका मन्त्रीसँग मात्र भेट गर्ने मनस्थिति बनाएका छन्।

यता, वैशाख २८ गते भारतका विदेश सचिव विक्रम मिस्री पनि नेपाल भ्रमणमा आउने कार्यक्रम छ। उनले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने तयारी गरेका छन्। उक्त निमन्त्रणा प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई दिने वा परराष्ट्र मन्त्रालयमार्फत दिने भन्ने विषय भने अझै तय भएको छैन।

राष्ट्र बैंकद्वारा बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा तोकिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

कांग्रेसद्वारा क्रियाशील सदस्यता नवीकरण र नयाँ इन्ट्रीका लागि एक हप्ता थप समय

0

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता इन्ट्रीका लागि एक हप्ता थप समय दिने निर्णय गरेको छ।

बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार १५औँ महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट क्रियाशील सदस्यता नवीकरण तथा प्रतिनिधि सभा क्षेत्रबाट नयाँ सदस्यता डिजिटल प्रणालीमा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा नबुझाएका जिल्ला र क्षेत्रलाई वैशाख १६ गतेदेखि एक हप्ताको समय दिइनेछ।

बैठकले तोकिएको मितिदेखि सदस्यता व्यवस्थापनका लागि डिजिटल प्रणाली खुला गर्ने निर्णय पनि गरेको छ। अनलाइन सदस्यता खुला गरिएको जानकारी पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।

नेपाली नागरिकता भएका व्यक्तिलाई जनसम्पर्क समिति सदस्यता र क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था मिलाइने निर्णय गरिएको छ। अन्यका हकमा पार्टीको विधान २०१७ (एघारौँ संशोधनसहित) बमोजिम प्रक्रिया अपनाइनेछ।

त्यस्तै, विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको सन्दर्भमा क्रियाशील सदस्यता अद्यावधिक गर्न जिल्ला तथा क्षेत्रीय केन्द्रीय प्रतिनिधिको समन्वयमा वडा कार्यसमितिले तोकेको व्यक्तिमार्फत विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।

देशभर बदली, धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसको असरले देशभर अधिकांश स्थानमा बादल लागेको छ।

बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित हिमाली तथा पहाडी भूभागका केही स्थानमा र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा र अन्य भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

ठेक्का प्रणालीमा अनाधिकृत पहुँच आरोपमा निर्माण व्यवसायी गौली पक्राउ

0

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)ले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाई ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यससम्बन्धी कागजात परिवर्तन गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ।

गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन्। उनलाई बुधबार काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गौलीमाथि संगठित अपराध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको छ।

उक्त प्रकरणमा हालसम्म १० निर्माण व्यवसायीसहित कुल १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

जनताका काम छिटो गर्न अध्यादेश ल्याइएको रास्वपाको निष्कर्ष

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्न समाधान गर्न सरकारले अध्यादेश ल्याएको निष्कर्ष निकालेको छ। सिंहदरबारमा सभापति रवि लामिछानेसहित सांसदहरूको अनौपचारिक छलफलपछि यस्तो धारणा सार्वजनिक गरिएको हो।

रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने उद्देश्यका होइनन्। जनताले काम छिटो गर भन्ने म्यान्डेट दिएकोले सोही अनुसार प्रक्रिया छरितो बनाउन अध्यादेश ल्याइएको उनले बताए।

उनले कानुनी प्रक्रियाको झमेला कारण सामान्य काममा पनि महिनौं समय लाग्ने अवस्था रहेको उल्लेख गरे। उदाहरणका रूपमा सडकबीचको रुख काट्ने जस्तो कामसमेत प्रक्रिया पूरा गर्न ५–६ महिना लाग्ने गरेको उनले बताए। यस्ता ढिला प्रक्रियालाई छिटो र सहज बनाउन अध्यादेश आवश्यक भएको उनको भनाइ छ।

सिटौला हटाइए, कमला पन्त राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त

0

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार सिटौलालाई हटाएर कमला पन्तलाई उक्त जिम्मेवारी दिएका हुन्।

आङ्देम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता पदमा नियुक्त गरेका हुन्।

सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए भने पन्त त्यसको पक्षमा थिइन्।

चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सम्झौता, ११ अर्ब अनुदानमा काम अघि बढ्ने

0

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा महत्वपूर्ण मानिएको चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीन सरकारबीच औपचारिक सहायता सम्झौता सम्पन्न भएको छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कलंकीदेखि बसुन्धारासम्मको सडक विस्तार कार्य अघि बढ्ने भएको हो।

परियोजना अन्तर्गत ८.२ किलोमिटर लामो सडक खण्डलाई आधुनिक रूपमा विस्तार गरिनुका साथै आवश्यक पुलहरू निर्माण गरिनेछ। यसका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने जनाएको छ।

मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा देखिन सक्ने प्रशासनिक तथा कानुनी समस्यालाई छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै २४ घण्टाभित्र सहजीकरण गर्ने बताएका छन्।

उनले उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा चीनबाट थप लगानी र प्राविधिक सहयोग अपेक्षित रहेको बताए।

यसअघि कोटेश्वरदेखि कलंकीसम्मको पहिलो चरणको विस्तार सन् २०१९ मा सम्पन्न भइसकेको थियो। दोस्रो चरणको सम्झौताले चक्रपथ विस्तारलाई पूर्णता दिने दिशामा महत्वपूर्ण कदम मानिएको छ।

चिनियाँ राजदूत झाङ माओमिङले नेपालको पूर्वाधार विकासमा चीनको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै लगानीका लागि अनुकूल वातावरण बनेमा थप चिनियाँ लगानी आउने बताएका छन्।

यो परियोजनाले काठमाडौं उपत्यकाको ट्राफिक जाम घटाउन र आवागमन सहज बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, यसले नेपाल–चीनबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

रास्वपाको नयाँ निर्देशिका—‘माननीय’ प्रयोग नगर्न निर्देशन, टिकटमा व्यक्तिगत आश्वासन दिन रोक

0

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना जनप्रतिनिधिहरूको कार्यशैली र आगामी चुनावी तयारीलाई लक्षित गर्दै नयाँ आन्तरिक निर्देशिका जारी गरेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई आधिकारिक लेटरहेड, कार्ड र कागजातहरूमा एकरूपता ल्याउन निर्देशन दिएका हुन्।

संसदीय अभ्यासमा देखिने तामझाम घटाउन उनले कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण र सांसदहरूको क्षमता अभिवृद्धिका विषयमा पनि छलफल भएको छ। सांसदहरूलाई संसदीय प्रक्रिया र नीति निर्माणमा अझ दक्ष बनाउन मेन्टर र सल्लाहकारको सहयोग लिन सुझाव दिइएको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै योग्य उम्मेदवार चयनका लागि ‘क्यान्डिडेट क्लब’ अवधारणा अघि सारिएको छ। वैशाख २० गतेदेखि सुरु हुने यो अभ्यासले उम्मेदवार छनोट र प्रशिक्षण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

टिकट वितरणबारे पनि पार्टीले कडा नीति लिएको छ। कुनै पनि सांसदले व्यक्तिगत रूपमा टिकट दिने आश्वासन दिन नपाउने निर्णय गरिएको छ। यस्ता गतिविधि गरेको पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ।

बैठकमा सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने कदमबारे पनि छलफल भएको छ। सो सन्दर्भमा रास्वपाले आफ्नो संसदीय भूमिका प्रभावकारी बनाउने र सरकारलाई जवाफदेही बनाउने उपायबारे सांसदहरूसँग सुझाव संकलन गरेको जनाएको छ।