Wednesday, May 6, 2026
Home Blog Page 38

धनुषामा एसपी इन्स्पेक्टर बिकिल अधिकारी घुससहित पक्राउ

0
AI Generated image

काठमाडौँ । धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर बिकिल अधिकारी रहेका छन्।

शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउको क्रममा उनको साथबाट घुस बापत लिएको ४० हजार रुपैयाँ नगद बरामद गरिएको अख्तियारका एक जना अधिकृतले जानकारी दिए।

इन्स्पेक्टर अधिकारीमाथि कमला–ढल्केबर–बागमती सडक खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै घुस मागेको आरोप छ । अख्तियारले आरोपीमाथि अनुसन्धान गरिरहेको छ।

सभामुखमा डीपी अर्यालको मनोनयन, निर्वाचित हुने लगभग निश्चित

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन् । उनले शुक्रबार सिंहदरबार पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद रहेका कारण अर्याल सभामुखमा निर्वाचित हुने लगभग निश्चित देखिएको

छ ।

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

0

तनहुँ । डुम्रे–बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

भानु नगरपालिका–३ कुकुदीदेखि तुरतुरेसम्म सडक विस्तारका लागि यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गरिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म तथा बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द रहनेछ ।

उक्त अवधिमा सवारी साधन सञ्चालनमा असुविधा हुने भएकाले प्रशासनले सबैलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

ऊर्जा बचतका लागि मलेसियामा ‘घरबाट काम’ नीति लागू हुँदै

0

क्वालालम्पुर । मलेसिया सरकारले ऊर्जा खर्च घटाउने उद्देश्यले सरकारी कर्मचारीहरूका लागि ‘घरबाट काम’ (वर्क फ्रम होम) गर्ने नयाँ नीति लागू गर्ने भएको छ ।

प्रधानमन्त्री अनवर इब्राहिमका अनुसार आगामी अप्रिल १५ देखि मन्त्रालय, सरकारी निकाय तथा सरकारसम्बद्ध कम्पनीहरूमा कार्यरत कर्मचारीका लागि यो व्यवस्था लागू हुनेछ ।

प्रधानमन्त्री अनवरले जारी गरेको वक्तव्यमा यस नीतिको मुख्य उद्देश्य इन्धन खपत घटाउनु र ऊर्जा आपूर्तिको दिगोपना सुनिश्चित गर्नु रहेको उल्लेख गरिएको छ । नीतिसम्बन्धी थप विवरण आगामी हप्ताहरूमा सार्वजनिक गरिने जनाइएको छ ।

यसैबीच, सरकारी स्वामित्वको तेल कम्पनी पेट्रोनास लगायतका निकायहरूले इन्धन तथा विद्युत् आपूर्ति सुरक्षित राख्न सक्रिय रूपमा काम गरिरहेका छन् ।

मलेसियाले इन्धनको मूल्य स्थिर राख्न हाल मासिक करिब १ अर्ब डलर बराबरको अनुदान खर्च गर्दै आएको छ । नयाँ नीतिले ऊर्जा खपत घटाउनुका साथै सरकारी आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

थापाको संसद सम्बोधनप्रति पाण्डेको असन्तुष्टि, एमाले सचिवालय बैठक बस्दै

0

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति नेता सुरेन्द्र पाण्डेले असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पाण्डेले संसदमा “षड्यन्त्र”का लामो कथा सुनाइएको भन्दै आलोचना गरेका
छन् । उनले सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो भन्दै सबै दोष अरूलाई थोपर्ने प्रवृत्तिप्रति प्रश्न उठाएका छन् ।

पाण्डेले वर्तमान अवस्था सिर्जना हुनुमा आफ्नै सरकारको अकर्मण्यता पनि जिम्मेवार रहेको उल्लेख गर्दै अब “घेराबन्दी”को पुरानो राष्ट्रवादी राजनीति छाडेर आर्थिक सुधारतर्फ ध्यान दिनुपर्ने बताएका छन् । उनका अनुसार साँचो राष्ट्रवाद भनेको देशको आर्थिक सुधार हो, अन्य कुरा व्यक्तिगत एजेन्डा मात्र हुन् ।

उनले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतर्फ धकेल्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिएका छन् । साथै, २३–२४ घटनाको छानबिन आवश्यक भए पनि जनताको आकांक्षासँग नमेलिएको राजनीतिक यथार्थलाई बेवास्ता गर्न नहुने बताएका छन् ।

थापाको सम्बोधन विवादमा परेपछि यसबारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक बस्न गइरहेको छ ।

जेनजी आन्दोलन अध्ययन गर्न कांग्रेस समिति पूर्ण, ७ दिनभित्र प्रतिवेदन बुझाउने

0

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययनका लागि नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिलाई पूर्णता दिएको छ ।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय र सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।

अध्ययन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल रहेका छन् । सदस्यहरूमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम (आर.सी.) तथा युवा अभियन्ता यजश्वी राई रहेका छन् ।

नेपाली कांग्रेसले आन्दोलनसँग सम्बन्धित घटनाको वस्तुगत अध्ययन गरी पार्टीको थप धारणा तयार पार्न समितिलाई जिम्मेवारी दिएको जनाएको छ ।

त्रिभुवन विमानस्थलमा गृहमन्त्री गुरुङको अनुगमन, यात्रुलाई सहज सेवा दिन निर्देशन

0

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । सर्वसाधारणबाट पटक–पटक आएका गुनासा र असुविधालाई ध्यानमा राख्दै उनले हिजो साँझ आफ्नो टोलीसहित विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नहोस् भन्ने सुनिश्चित गर्न सम्बन्धित कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन् ।

उनले विदेशबाट फर्किने नेपाली नागरिकले विमानस्थलमै अनावश्यक दुःख भोग्न नपरोस् भन्नेमा जोड दिँदै यस्ता गुनासा दोहोरिन नदिन सचेत गराएका छन् ।

साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी सेवाग्राहीलाई सहज र छरितो सेवा प्रदान गर्नसमेत निर्देशन दिइएको छ ।

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

0

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका हिमाली भू–भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ । अन्य भू–भागमा भने आंशिक बदली रहने जनाइएको छ ।

गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै, सबै प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि समान मौसमी अवस्था रहनेछ । हिमाली तथा पहाडी भू–भागमा साधारण बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

युवा चिनियाँ सुनारहरू पुराना सुनका गहनाहरू पुनर्निर्माणमा केन्द्रित

0

एजेन्सी। युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन्।

सांघाईमा सुनको पुनर्निर्माणमा बढ्दो रुचिले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ, जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्।

सुनको मूल्य उच्च रहँदा पुरानो सुनलाई पगालेर नयाँ गहनामा परिणत गर्नु धेरै मानिसहरूको लागि किफायती विकल्प बनेको छ।

सुनको काममा व्यस्त ली जियायी भन्छन्, “मलाई सुनको पुनर्निर्माण पेशा साँच्चै मन पर्छ। जब म ग्राहकलाई सुन्दर ढंगले बनाइएको टुक्रा दिन्छु र उनीहरूको आँखामा प्रशंसा देख्छु, म त्यो क्षणको आनन्द लिन्छु। मलाई विश्वास छ कि यस शिल्पमा अझै धेरै सिक्न बाँकी छ।”

पुनर्निर्माण पसलका संचालकका अनुसार नयाँ सुनारको मासिक तलब करिब १,५०० अमेरिकी डलर हुन्छ, जबकि दक्ष सुनारहरूले २,१०० भन्दा बढी कमाउँछन्।

५० वर्षपछि नासाको चन्द्र मिशन, उड्यो आर्टेमिस २

0

काठमाडौं । करिब ५० वर्षपछि चन्द्रमातर्फ मानवसहितको नयाँ अभियान सुरु गर्दै नासा (अमेरिकी अन्तरिक्ष संस्था) ले ‘आर्टेमिस–२’ अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ। फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट उडेको रकेटले मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय सुरु गरेको हो।

१० दिन लामो यस अभियानमा सहभागी अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहमा अवतरण गर्ने छैनन्, बरु चन्द्रमाको परिक्रमा गर्दै पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढाको दूरी पार गर्नेछन्। यस यात्रामा अमेरिकी अन्तरिक्ष यात्री रिड वाइसम्यान, क्रिस्टिना कोच, भिक्टर ग्लोभर तथा क्यानाडाली अन्तरिक्ष यात्री जेरेमी हेन्सेन सहभागी छन्।

आर्टेमिस कार्यक्रमअन्तर्गत अहिलेसम्म करिब ९३ अर्ब अमेरिकी डलर खर्च भइसकेको छ। यस अभियानको मुख्य उद्देश्य भविष्यमा चन्द्रमामा मानव अवतरण गराउने र त्यहाँ दीर्घकालीन आधार निर्माण गर्ने तयारी गर्नु हो।

वैज्ञानिकहरूका अनुसार चन्द्रमाको सतह बाहिरबाट उजाड देखिए पनि त्यहाँ बहुमूल्य खनिज तथा तत्त्वहरू प्रशस्त मात्रामा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी ध्रुवीय क्षेत्रमा रहेका अँध्यारा खाल्डोहरूमा बरफको रूपमा पानी भेटिएको छ, जसलाई पिउने पानी, अक्सिजन उत्पादन तथा अन्तरिक्ष यानका लागि इन्धन बनाउन प्रयोग गर्न सकिन्छ।

सन् १९६० र ७० को दशकमा चन्द्र अभियानमा अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा थियो भने अहिले यो प्रतिस्पर्धा चीनसँग बढ्दो अवस्थामा छ। चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने लक्ष्य राखेको छ। यद्यपि संयुक्त राष्ट्रसंघको सन् १९६७ को सन्धिले कुनै पनि देशलाई चन्द्रमामाथि स्वामित्व दाबी गर्न नदिए पनि त्यहाँका स्रोत उपयोग र उपस्थिति कायम गर्ने होड तीव्र बन्दै गएको छ।

दीर्घकालीन रूपमा चन्द्रमालाई अभ्यासस्थलका रूपमा प्रयोग गर्दै सन् २०३० को दशकभित्र मंगल ग्रहमा मानव पठाउने लक्ष्य राखिएको छ। वैज्ञानिकहरूका अनुसार चन्द्रमामा बस्ने र काम गर्ने प्रविधि विकास भएपछि मात्रै मंगल ग्रहको कठिन यात्रा सम्भव हुनेछ।

वैज्ञानिक अध्ययनअनुसार चन्द्रमा करिब ४.५ अर्ब वर्षअघि पृथ्वीबाट छुट्टिएको भागबाट बनेको मानिन्छ। पृथ्वीमा हावा, पानी र भूगर्भीय गतिविधिका कारण पुराना प्रमाणहरू मेटिए पनि चन्द्रमामा ती सुरक्षित रहेका कारण यसलाई पृथ्वीको इतिहास बोकेको एक महत्वपूर्ण प्राकृतिक अभिलेखका रूपमा हेरिन्छ।

यस अभियानलाई उच्च गुणस्तरमा प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ, जसले नयाँ पुस्तालाई विज्ञान, प्रविधि र अभियांत्रिकी क्षेत्रमा आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ। बेलायती अन्तरिक्ष यात्री हेलेन शर्मनले सहकार्यमार्फत मानवताले अझ ठूला उपलब्धि हासिल गर्न सक्ने सन्देश यस अभियानले दिने बताएकी छन्।