Monday, May 4, 2026
Home Blog Page 26

पश्चिमी प्रणाली सक्रिय: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

अमेरिकामा बलात्कार आरोपमा बलेविरुद्ध मुद्दा, नेपालमा पक्राउ

0

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कार आरोपमा मुद्दा दायर भएको छ। पीडितको दाबीअनुसार घटना अमेरिकामा भएकोले अब यो मुद्दा अमेरिकाकै अदालतमा चल्न सक्छ। अमेरिकी कानुनअनुसार घटना अमेरिकामा भएको खण्डमा पीडित र आरोपी जहाँ भए पनि त्यहाँ मुद्दा चलाउन सकिन्छ।

अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले आफूमाथि बलात्कार गरेको भन्दै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाइपीडी)मा दुई दिनअघि एफआइआर दर्ता गरेकी हुन्। आरोपी बले नेपालमा पक्राउ परिसकेकोले अमेरिकी प्रहरीले नेपाल प्रहरीसँग समन्वय गर्ने अपेक्षा गरिएको छ।

संगमले केही दिनअघि फेसबुकमा लेखेकी थिइन् कि बले एक वर्षअघि अमेरिका आउँदा उनलाई फ्ल्याट देखाउन लगाएको र फ्ल्याटमै जबरजस्ती करणी गरेको। स्टाटस पोस्ट भएको भोलिपल्टै नेपाल प्रहरीले बलेलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।

तर, नेपाल प्रहरीमा जाहेरी नपरेको कारण बलेविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयमा पेश गरी ५ दिन म्याद लिइएको छ। कानूनअनुसार अभद्र व्यवहारको मामलामा सिडीओले बढीमा २५ दिन हिरासत राख्न सक्ने प्रावधान छ।

रास्वपाले मलाई समर्थन गरेर सरप्राइज दियो : रुबीकुमारी ठाकुर

0

काठमाडौं। श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको लागि उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरले ठूलो जिम्मेवारी भए पनि आफूले पूरा गर्न सक्ने बताएकी छन्।

बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले कल्पना पनि नगरेको ठाउँमा पार्टी अध्यक्ष हर्क राईले पुर्याएकोमा खुसी व्यक्त गरिन्।

ठाकुरले भनिन्, “म एउटा भुँइमान्छेलाई पार्टीको अध्यक्षले यहाँसम्म पुर्याइदिनु भयो। मलाई खुसी लागेको छ। अलि ठूलो जिम्मेवारी भयो, तर म सक्छु।”

साथै उनले रास्वपाले आफूलाई समर्थन गरेर सरप्राइज दिएको प्रतिक्रिया दिइन्। उनले थपिन्, “रास्वपाले समर्थन गर्छ भनेर थाहा थिएन। म मधेसको छोरी हुँ। सबैजनाले मधेसको छोरीलाई समर्थन गर्नुभएकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु।”

प्रधानमन्त्री शाहद्वारा श्रम मन्त्री दीपककुमार साहलाई पदमुक्त

0

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन्।

रास्वपाले साहमाथि स्वास्थ्य बिमा बोर्डको सदस्य रहेकी उनकी श्रीमतिलाई पदीय मर्यादा दुरुपयोग गरी नियमित काममा सक्रिय गराएको आरोप लगाउँदै कारबाहीका लागि सिफारिस गरेको थियो। रास्वपाको केन्द्रीय अनुशासन आयोगले साहको गतिविधिबाट पार्टीको छवि, आदर्श र सिद्धान्तमा नकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेको थियो।

पार्टी विधानको धारा २५ (४) (क) अनुसार पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादा बचाउन जिम्मेवारी दिइएको र धारा ६९ अनुसार पद दुरुपयोग भएमा ‘राइट टु रिकल’ अन्तर्गत जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको छ।

साथै, पार्टीले यस विषयमा अपेक्षित गम्भीरता नदेखिएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। प्रधानमन्त्री शाहले यस सिफारिसको आधारमा मन्त्री मेहतालाई सचेत गराइसकेको जनाइएको छ।

सभामुख अर्याल र स्विस राजदूतबीच भेट: द्विपक्षीय सहकार्य सुदृढ बनाउने सहमति

0

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–स्विट्जरल्याण्डबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, शान्ति प्रक्रिया र आर्थिक सहयोगका विषयमा छलफल भएको छ ।

सभामुख अर्यालले सन् १९५६ देखि स्थापित कूटनीतिक सम्बन्धलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको बताए । उनले स्विट्जरल्याण्डलाई सहभागितामूलक लोकतन्त्रको उत्कृष्ट उदाहरणका रूपमा उल्लेख गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन प्रयास गरिरहेको जानकारी दिए ।

उनले नेपालको सामाजिक–आर्थिक विकासमा स्विस सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे ।

संसदीय सहकार्यका विषयमा सभामुख अर्यालले उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध अझ बलियो बनाउने बताए । उनले स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा पुनः दोहोर्‍याउँदै संसदीय मैत्री समूहलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा राजदूत मेउल्लीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग सहकार्य बढाउने प्रतिबद्धता जनाइन् । साथै नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियामा स्विट्जरल्याण्डको निरन्तर सहयोग रहने आश्वासन दिइन् ।

भेपमा लुकाइएको सुन तस्करी: कृष्णबहादुर महरासहितविरुद्ध भ्रष्टाचार मुद्दा

0

काठमाडौँ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुन तस्करहरूसँग मिलेमतो गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी तथा पदाधिकारीहरूले ठूलो परिमाणमा राजस्व चुहावट गराएको उजुरीपछि गरिएको अनुसन्धानबाट उक्त तथ्य खुलेको हो। आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

अनुसन्धानअनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र सुन लुकाइएको थियो।

भन्सार जाँचका क्रममा एक्स-रे स्क्रिनिङ गर्दा शङ्कास्पद वस्तु देखिएपछि सामानलाई रेड च्यानलमा पठाइएको थियो। एक्स-रे मेसिनले धातु पहिचान गर्न सक्ने भए पनि आरसी क्षेत्रमा खटिएका भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठसहितका कर्मचारीहरूले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच नगरी पछि सट्टापट्टा गरी लैजाने नियतले जफत गर्ने निर्णय गरेको आरोप छ।

नेपाली कांग्रेसमा विवाद तीव्र, डा. शेखर कोइरालाले पार्टी एकताका लागि पहल

0

काठमाडौँ । गत पुसमा भएको विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र विवाद चरमोत्कर्षमा पुगेको छ।

पुस २७–३० गतेसम्म तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहबीच असहमतिमा सम्पन्न महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्मा द्वारा गरिएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले माघ २ गते आधिकारिकता दिएको थियो। देउवा र डा. कोइरालाको समूहले सर्वोच्च अदालतमा आधिकारिकता चुनौती दिएका छन्, र रिट अझै विचाराधीन छ।

पार्टीमा विवाद यति बढेको छ कि सर्वोच्चले जे निर्णय गरे पनि पार्टी एक रहन सक्ने अवस्था देखिँदैन। तथापि, केही नेताहरू पार्टीलाई एक राख्न प्रयासरत छन्। विशेष महाधिवेशनको बेला देउवा पक्षमा रहेका डा. शेखर पछिल्ला दिनमा मध्यमार्गी भूमिका अपनाएर दुवै समूहलाई मिलाउने प्रयास गरिरहेका छन्।

डा. शेखरले आफ्नो समूहका नेताहरूसँग विशालनगर सचिवालयमा बैठक राखेर पार्टी एकता र वार्ताका रणनीतिहरूमा सुझाव मागेका थिए। बैठकमा निवर्तमान उपसभापति, सहमहामन्त्रीद्वय र १६ केन्द्रीय सदस्य सहभागी थिए।

उक्त बैठकमा डा. शेखरले भनेका थिए, “सर्वोच्चले जे निर्णय गरे पनि पार्टी एक नरहने अवस्था मैले देखिरहेको छु। पार्टीलाई एक राख्न अझै अपमान सहन र त्याग गर्न तयार छु। म मध्यमार्गी धारामा उभिएर एकताका लागि काम गर्छु।”

पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला लगायत अन्य नेताहरूले पनि पार्टीलाई एक राख्न पहल गर्ने बताएका छन्। बैठकले पार्टी एकताका लागि वार्ताको मध्यस्थता गर्न केही नेताहरूलाई जिम्मेवारी दिएको छ।

नेतृ सरिता प्रसाईंले पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा चार घण्टा छलफल भएको र डा. शेखरले सुझाव मागेर नेताहरूले आफ्नो राय दिएको बताइन्। बैठकको मुख्य उद्देश्य पार्टीलाई विभाजनबाट बचाउँदै एकढिक्का बनाउने उपाय तय गर्नु थियो।

पाटनमा छुरा प्रहार: घाइते दाजुभाइको उपचारकै क्रममा मृत्यु

0

काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा कमल गाउँपालिका–६ घर भई ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् ।

गत चैत २५ गते साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो । गम्भीर घाइते भएका दुवै जनाको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुई पक्षबीच भएको विवादका क्रममा छुरा प्रहार भएको हो । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो ।

घटनामा संलग्न आरोपमा ललितपुर महानगरपालिका–९ भोलटोल बस्ने ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भई ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयन कमजोर: ३१ अर्बभन्दा बढी जरिबाना अझै असुल हुन बाँकी

0

काठमाडौँ । सरकारको कमजोर कार्यान्वयनका कारण अदालतका धेरै फैसला कार्यान्वयन हुन नसकेको पाइएको छ । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार असुल गर्नुपर्ने कुल ४६ अर्ब ५२ करोड ५८ लाख २९ हजार ५८९ रुपैयाँ ८२ पैसामध्ये जम्मा १४ अर्ब ६८ करोड ६३ लाख ६५ हजार ११४ रुपैयाँ ४७ पैसा मात्र असुल भएको छ ।

यसअनुसार अझै ३१ अर्ब ८३ करोड ९४ लाख ६४ हजार ४७५ रुपैयाँ ३५ पैसा जरिबाना बक्यौता रहेको छ । एक वर्षमा केवल ३१.५६ प्रतिशत मात्र जरिबाना असुल भएको देखिएको छ ।

फैसला कार्यान्वयन सुदृढ गर्न २०६६/०६७ मा सर्वोच्च अदालतअन्तर्गत फैसला कार्यान्वयन निर्देशनालय स्थापना गरिएको भए पनि अपेक्षित सुधार हुन सकेको छैन ।

आर्थिक वर्ष २०८१/०८२ मा फौजदारी मुद्दाअन्तर्गत जिल्ला अदालतहरूबाट असुल हुनुपर्ने कैदको कुल लगत एक लाख ७१ हजार ५९२ वर्ष ८ दिन रहेकोमा ५६ हजार ९५४ वर्ष ८ महिना ८ दिन मात्र असुल भएको छ, जुन ३३.१९ प्रतिशत हो। यसले एक लाख १४ हजार ६३७ वर्षभन्दा बढी कैद अझै असुल हुन बाँकी रहेको   देखाउँछ ।

सर्वोच्चले दण्ड–जरिबाना लागेका व्यक्तिलाई सेवा प्रवाहमा बन्देज लगाउने व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाए पनि अपेक्षित प्रभाव देखिएको छैन ।

त्यस्तै, पीडितलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्तिको अवस्था पनि कमजोर देखिएको छ । १६ हजार ५९ मुद्दामध्ये १२ हजार ३२७ पीडितलाई १ अर्ब २५ करोड ५९ लाख ६७ हजार ९९३ रुपैयाँ दिनुपर्नेमा जम्मा ३५ करोड ८५ हजार ३६४ रुपैयाँ मात्र भुक्तानी भएको छ । अझै ९० करोड ४७ लाख १४ हजार २९५ रुपैयाँ भुक्तान हुन बाँकी छ ।

अन्तरिम क्षतिपूर्ति अन्तर्गत ७० लाख १६ हजार ४६८ रुपैयाँमध्ये २५ लाख ४६ हजार ४०२ रुपैयाँ मात्र वितरण भएको छ भने ४४ लाख ७० हजार ६६ रुपैयाँ बाँकी रहेको छ ।

सर्वोच्च अदालतले फैसला कार्यान्वयन प्रभावकारी नहुँदा न्याय केवल कागजमै सीमित हुने खतरा औँल्याएको छ । ‘फैसला कार्यान्वयन नै न्यायको वास्तविक रूप हो,’ अदालत सुदृढीकरण सुझाव समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले फैसला कार्यान्वयन अदालतको प्रयास मात्रले सम्भव नहुने भन्दै कार्यकारी निकायको सक्रिय भूमिका आवश्यक रहेको जनाएको छ । बाँकी जरिबाना असुल नभएसम्म सेवा प्रवाहमा रोक लगाउने कानुनी व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।

त्यस्तै, फैसला कार्यान्वयन निर्देशनालयलाई अझ प्रभावकारी बनाउन संगठनात्मक सुधार, तथा दण्ड–जरिबाना र कैद असुलीको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ ।

दाउन्ने खण्ड अवरुद्ध: वर्षाले बुटवल–नारायणगढ सडक बन्द

0

वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक हिलो र चिप्लो हुँदा सवारी आवागमन ठप्प भएको हो ।

घिउखोला र विश्वकर्मा मन्दिर नजिकै सडक अत्यधिक हिलो भएपछि सवारी साधन बीचमै फसेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण अवस्था झन् जटिल बनेको हो ।

प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सिमसिम वर्षाले दाउन्ने उकालोमा गाडी चिप्लिने समस्या बढेको    छ। हिलोका कारण सवारी साधन अगाडि बढ्न नसक्दा लामो जाम लागेको छ । हाल मालवाहक सवारीसाधनलाई अरुणखोला क्षेत्रमा नै रोकिएको छ ।

यसैबीच, नारायणगढ–बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा ग्राभेल हालेर सडक मर्मत गर्ने प्रयास भइरहेको जनाएको छ ।

सडक विस्तारको काम अझै नसकिँदा सामान्य वर्षामै पनि उक्त खण्डमा बारम्बार यातायात अवरुद्ध हुने समस्या देखिँदै आएको छ ।