Sunday, May 3, 2026
Home Blog Page 17

सीमापार तस्करी नियन्त्रणमा जोड: गृहमन्त्री गुरुङ र सांसदबीच छलफल

0

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यहरूसँग सीमापार तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल गरेका छन्। शुक्रबार गृह मन्त्रालयमा भएको छलफलमा सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।

सांसदहरूले भन्सार प्रणालीमा सुधार, भन्सार दर पुनरावलोकन, सीमामा कडा निगरानी, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकरण, साथै सीमा क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य वस्तु आयातमा निश्चित सीमा भित्र भन्सार छुट दिन मापदण्ड निर्धारण गर्न सुझाव दिएका छन्।

छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू कार्यान्वयनतर्फ अघि बढाइने र अर्थ मन्त्रालयसँग सम्बन्धित मुद्दामा आवश्यक समन्वय र थप छलफल गरी समाधान खोजिने बताइएको छ।

धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा, ‘व्यक्तिगत कारण’ उल्लेख

0

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार साँझ बोर्ड सञ्चालक समितिको बैठक बोलाएर उनले बैठकमै राजीनामा दिने निर्णय सुनाएका थिए। त्यसपछि उनी राति करिब ९ बजे अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले आफ्नो राजीनामा स्वेच्छिक रहेको बताएका छन्। उनले सरकारलाई सहयोग पुर्‍याउन र आवश्यक मार्ग प्रशस्त गर्न आफूले राजीखुसीले पद त्यागेको स्पष्ट पारेका थिए।

बैठकमा उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिन लागेको जानकारी गराएका थिए। बोर्डका एक उच्च अधिकारीका अनुसार उनले सबैलाई धन्यवाद दिँदै पदबाट बिदा लिएका हुन्।

सरकारले उनलाई २०८१ मंसिर १० गते बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। यद्यपि, अध्यक्ष श्रेष्ठले राजीनामा दिनुको ठोस कारण सार्वजनिक रूपमा खुलाइएको छैन। “व्यक्तिगत कारण” उल्लेख गरिए पनि त्यसको विस्तृत विवरण बाहिर आएको छैन।

सर्लाही–भारत सीमा तनाव: सवारी नियन्त्रणबाट विवाद, वार्तापछि अवस्था सामान्य

0

सर्लाही । सर्लाही जिल्लासँग जोडिएको भारत–नेपाल सीमास्थित भारतको सोनबरसा थाना क्षेत्रअन्तर्गत इन्दरवा गाउँ नजिक शुक्रबार दिउँसो भएको एक घटनाले केहीबेर सीमा क्षेत्रमा तनाव उत्पन्न गर्‍यो। नेपालतर्फ रहेको आफ्नो खेततर्फ जाँदै गरेका एक भारतीय नागरिकको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो।

घटनापछि आक्रोशित भारतीय पक्षले प्रतिक्रिया स्वरूप केही नेपाली नागरिकका मोटरसाइकलहरू समेत नियन्त्रणमा लिन थालेपछि स्थिति थप जटिल बनेको थियो। दुवै पक्षबीच बढ्दो तनावलाई नियन्त्रणमा लिन नेपाल र भारतका सुरक्षाकर्मीबीच तत्काल छलफल गरिएको थियो। छलफलपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता गरेसँगै अवस्था सामान्य बनेको स्थानीय स्रोतले जनाएको छ।

स्थानीयका अनुसार भारतको इन्दरवा क्षेत्रका बासिन्दाहरूको सयौँ बिघा जमिन नेपालतर्फ सखुअवा, नोकैल्वा, पर्सा र पिपरा सरेह क्षेत्रमा फैलिएको छ, जहाँ उनीहरूले वर्षौँदेखि खेतीपाती गर्दै आएका छन्। दैनिक रूपमा सीमा पार आवतजावत उनीहरूको जीवनशैलीकै हिस्सा बनेको छ।

तर पछिल्ला दिनहरूमा नेपालतर्फका सुरक्षाकर्मीहरूले भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा कडाइ गर्न थालेपछि यस्तो विवाद सतहमा आएको हो। बिना अनुमति (पास वा भन्सार प्रक्रिया बिना) नेपाल प्रवेश गर्ने सवारी साधनलाई रोक्न थालेको बताइएको छ।

प्रचलित भन्सार तथा सीमा सुरक्षा नियमअनुसार विदेशी नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा अस्थायी अनुमति (भन्सार पास) लिनुपर्ने प्रावधान छ। निश्चित समयावधिभित्र मात्र सञ्चालन गर्न पाइने र उल्लङ्घन गरे कारबाही हुने व्यवस्था छ। यिनै नियमहरूको कडाइसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरू प्रभावित भएका छन्।

विशेष गरी खेतीपातीका लागि दैनिक आवतजावत गर्ने भारतीय किसानहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। उनीहरूका अनुसार वर्षौँदेखि सहज रूपमा चलिआएको आवतजावतमा अचानक कडाइ गर्दा समस्या उत्पन्न भएको हो।

यसैबीच भारतीय पत्रकार वीरेन्द्र यादवले घटनास्थलबाट प्रतिक्रिया दिँदै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको अवस्थालाई ध्यानमा राख्दै दुवै देशबीच समन्वय र सहजीकरण आवश्यक रहेको बताएका छन्।

स्थानीय तह र सुरक्षा निकायबीच समन्वय अभाव तथा नियमको कडाइका कारण यस्ता घटना दोहोरिन सक्ने भन्दै सरोकारवालाहरूले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

0
Gemini AI created image

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ निवासी डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि हराएको छोराको खबरसँगै खुसी फर्किएको छ। रोजगारीका लागि भारत गएका उनका छोरा दीपक नेगी जीवितै रहेको जानकारी Facebook मार्फत प्राप्त भएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ।

कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवारले उनको आशा त्यागिसकेको थियो। तर, भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा कार्यरत एक नेपालीले दीपकसँग भेट गरी उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनको अवस्था सार्वजनिक भएको हो।

छोराको तस्बिर मोबाइलमा देख्दा भावुक बनेका बुबा डम्बरबहादुरले भने, “भगवान्‌ले नै खबर ल्याइदिएजस्तो लाग्यो। यति वर्षपछि छोराको समाचार पाउनु नयाँ जीवन पाएजस्तै हो।” आमा मानमती पनि छोरासँग छिट्टै भेट हुने आशामा भावुक बनेकी छन्।

प्राप्त जानकारीअनुसार दीपक हाल मानसिक रूपमा केही अस्वस्थ रहेका छन् र उनलाई काममा लगाउने साहुले नै उपचारको व्यवस्था गरिरहेको जनाइएको छ। परिवारले उनीसँग भिडियो कलमार्फत संवाद सुरु गरिसकेको छ।

हाल दिल्लीमा रहेका उनका दाजु र भाउजू आगामी वैशाख २० गते लद्दाख पुगेर दीपकलाई घर फर्काउने तयारीमा छन्।

वडा अध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि वडा कार्यालयले परिवारसँग समन्वय गरेको थियो। “सामाजिक सञ्जालको सकारात्मक प्रयोगका कारण वर्षौँदेखि हराएको व्यक्ति फेला पर्नु सुखद पक्ष हो,” उनले बताए।

नेगी परिवारका तीन छोरामध्ये माइला छोरा दीपक १८ वर्षअघि बेपत्ता भएका थिए।

विदेशी मुद्राको नयाँ दर सार्वजनिक: डलर १४९ नजिक, युरो १७६ पार

0

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा तोकिएको छ। स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ। साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८३ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा रहेको छ।

यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४ रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर ४० रुपैयाँ ६८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा तोकिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

त्यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १३ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८८ रुपैयाँ १० पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्नेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण नेपाल राष्ट्र बैंक को आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

पश्चिमी वायुको प्रभाव: पहाडमा वर्षा, तराईमा बढ्दो गर्मी

0

काठमाडौँ । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसममा मिश्रित अवस्था देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा चर्को घामसँगै गर्मी बढ्न थालेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदलीको अवस्था रहेको छ। गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तर, तराई क्षेत्रको मौसम सामान्यतया सफा देखिएको छ।

विभागले शुक्रबारका लागि जारी गरेको पूर्वानुमानमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित हल्का वर्षा तथा उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।

यता, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा भित्री मधेस क्षेत्रमा तापक्रम बढ्ने र तातो दिन रहने सम्भावना रहेकोले जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।

नेपाल–साउदी सम्बन्ध विस्तारमा जोड, लगानी वृद्धि विषयमा उच्चस्तरीय छलफल

0

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको उक्त भेटवार्तामा दुई देशबीचको सहकार्य र समन्वयलाई अझ सुदृढ तथा विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा नेपालका विभिन्न विकास परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने र त्यसलाई थप वृद्धि गर्ने विषयमा पनि दुवै पक्षबीच विचार–विमर्श भएको थियो।

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनको आन्तरिक मूल्य बढाएको जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको छ भने हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ। यससँगै डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्दा पनि अझै ठूलो घाटा कायम रहेको छ।

लागत मूल्य उच्च र बिक्री मूल्य कम भएकाले हालको समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ।

निगमका अनुसार पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा भइरहेको छ।

इरानको नियन्त्रणबाट नेपाली युवा अमृत झा रिहा, स्वदेश फर्काउने तयारी

0

काठमाडौं । इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार इरानको हर्मुज टापु क्षेत्रबाट नियन्त्रणमा लिइएका झालाई लामो कूटनीतिक पहलपछि रिहा गरिएको हो।

उदयपुरको त्रियुगा नगरपालिका–११, गाईघाटका ३३ वर्षीय झा विगत दुई वर्षदेखि दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीमा जहाज क्याप्टेन (सी–पाइलट) का रूपमा कार्यरत थिए। चैतको पहिलो साता तेल बोकेको कार्गो जहाजमा काम गरिरहेका बेला इरान र दुबईबीच पर्ने हर्मुज जलडमरूमध्य नजिकैबाट उनलाई अन्य सात चालक दलका सदस्यसहित इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको पुष्टि गर्दै उनी हाल इरानस्थित नेपाली कन्सुलर र कतारस्थित नेपाली दूतावासको सम्पर्कमा रहेको जानकारी दिएका छन्। उनका अनुसार झालाई सुरक्षित रूपमा नेपाल ल्याउन आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाइएको छ।

झा रिहा भएको खबरपछि उदयपुरस्थित उनको परिवारमा खुसीयाली छाएको छ। उनकी दिदी पूजा झाले परराष्ट्र संयन्त्रबाट आधिकारिक जानकारी पाएको बताउँदै भाइ चाँडै घर फर्कने प्रतीक्षामा रहेको बताएकी छन्।

इरानको स्थानीय अदालतको आदेशपछि झालाई रिहा गरिएको बुझिएको छ। तेहरानस्थित नेपाली अवैतनिक महावाणिज्यदूत र दोहास्थित नेपाली दूतावासले आवश्यक यात्रा कागजात र अन्य औपचारिकता पूरा गरी केही दिनभित्रै उनलाई नेपाल पठाउने तयारी गरिरहेका छन्।

ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रस्ताव फेरि असफल, सिनेटमा चौथो पटक अस्वीकृत

0

वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सैन्य कारबाही गर्ने अधिकारमा अंकुश लगाउने उद्देश्यले ल्याइएको संकल्प प्रस्ताव अमेरिकी सिनेटमा चौथो पटक पनि असफल भएको छ।

प्रस्ताव पारित भएको भए संसदको पूर्वस्वीकृति बिना इरानसँगको द्वन्द्वमा अमेरिकी सैन्य कारबाही अघि बढाउन रोक लाग्ने थियो। रिपब्लिकन बहुमत रहेको सिनेटमा भएको मतदानमा प्रस्तावको विपक्षमा ५२ र पक्षमा ४७ मत परेको छ, जुन मुख्यतया दलीय आधारमा विभाजित देखिएको छ।

विपक्षी डेमोक्र्याटहरूले प्रस्ताव असफल भए पनि हरेक हप्ता यस्तै प्रस्ताव ल्याइरहने चेतावनी दिएका छन्। उनीहरूका अनुसार प्रस्ताव पारित नभए पनि यसले युद्धबारे सांसदहरूको धारणा जनतासमक्ष स्पष्ट पार्नेछ।

धेरैजसो रिपब्लिकन सांसदहरूले प्रस्तावको विपक्षमा मतदान गरे पनि केहीले युद्ध लामो समयसम्म लम्बिएमा आफ्नो धारणा परिवर्तन हुन सक्ने संकेत गरेका छन्। पश्चिम एसियामा तनाव बढिरहँदा राष्ट्रपति ट्रम्पले युद्धको अवस्थाबारे फरक–फरक अभिव्यक्ति दिँदै आएका छन्। हालै उनले युद्ध ‘लगभग अन्त्यको नजिक’ पुगेको दाबी गरेका थिए।

अमेरिकी संघीय कानुनअनुसार ६० दिनभन्दा बढी सैन्य कारबाही जारी राख्न संसदको अनिवार्य अनुमति आवश्यक हुन्छ। हालका लागि ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाएको सैन्य नाकाबन्दीलाई अधिकांश रिपब्लिकन सांसदहरूले समर्थन गरिरहेका छन्।

डेमोक्र्याटिक पार्टीका सिनेटर जोन फेटरम्यानले भने आफ्नै दलको धारविपरीत मतदान गर्दै प्रस्तावको विपक्षमा मत दिएका छन्। अर्कोतर्फ, रिपब्लिकन सिनेटर जोस हलीले द्वन्द्वलाई छिटो अन्त्य गर्नु नै अमेरिकाको हितमा हुने बताएका छन् र वार्ता सफल हुनेमा आशावादी रहेको बताएका छन्।

रिपब्लिकन सिनेटर र्‍यान्ड पल भने सुरुदेखि नै युद्ध रोक्नुपर्ने पक्षमा उभिँदै आएका छन्। उनले ६० दिनको समयसीमा सकिएपछि थप रिपब्लिकन सांसदहरू पनि आफ्नो पक्षमा आउन सक्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि ह्वाइट हाउसले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो समयसीमालाई थप ३० दिन लम्ब्याउन सक्ने प्रावधान रहेको छ।

सिनेटर टिम केनले प्रस्ताव पारित नभए पनि युद्धको जिम्मेवारी कसले लिन्छ भन्ने कुरा अमेरिकी जनतासामु स्पष्ट पार्ने बताएका छन्। सन् १९७३ मा बनेको ‘वार पावर्स रिजोलुसन’ कानुन तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनलाई भियतनाम युद्ध विस्तार गर्नबाट रोक्न ल्याइएको थियो, जसलाई अहिले ट्रम्पको कदम नियन्त्रण गर्न प्रयोग गर्ने प्रयास भइरहेको छ।