Wednesday, July 29, 2026
Home Blog Page 1376

दुर्घटनामा तीनको मृत्यु

0

छ हजार रुपैयाँ ऋणको ब्याज : चार वर्षदेखि यौन शोषण

0

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ ।

शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ । “ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो”, भावुक हुँदै पीडित महिलाले भनिन्, “आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ ।”

घरायसी कामसँगै तीन–चार दिनको अन्तरमा उहाँमाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ । “ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”, महिलाले भनिन्, “दिनभरि कामको थकानसँगै उसलाई यौन चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो ।”

आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ तर पीडक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताउनुभयो ।

यौन प्यास मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ । “शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो”, महिलाले सुनाइन्, “केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ ।”

श्रम शोषण गरिरहेका पीडक राईले २०७५ सालदेखि भने निरन्तर यौन शोषणसमेत गर्ने गरेको पीडित महिलाले बताइन् । पीडित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौन प्यास मेटाउने गरेको महिलाको गुनासो छ । रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्कीसमेत दिने गरेको उनले बताइन् ।

खड्गबहादुरको व्यवहारको विषयमा पीडितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ तर आफूहरुसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ ।

खड्गबहादुर र पीडित महिलाबीचको सम्बन्धका बारेमा पीडकको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको आरोप छ । घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ ।

महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता

सामान्य विवाद हुँदा समेतछिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ । आफूहरु पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले बताइन् । जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई रु एक लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ ।

यता पीडित पक्षले भने आफूहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । पीडक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशङ्का आफूहरुमा रहेको पीडित महिलाको भनाइ छ ।

अब झनै ज्यान जोखिममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ । पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाइ छ ।

दयाहाङ र प्रकृतीको ‘बिहे पास’को छायांकन सुरु

0

नायक दयाहाङ राई र नायिका प्रकृती श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘बिहे पास’को छायांकन सुरु भएको छ ।

यो चलचित्रको निर्देशक प्रवेश पौडेल रहेका छन् । चलचित्रको छायांकन विराटनगरका विभिन्न स्थानमा हुने बताइएको छ। रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा छन् ।

आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको यो चलचित्रको कथावस्तु रोचक रहेको जनाइएको छ ।

सात जिल्लामा कोभिड अस्पताल, पालिकामा उपचार केन्द्र

0

कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा श्ययासहितको आइसियुको व्यवस्था गर्ने निर्णय गरेको छ ।

भारतलगायत देशहरुमा पुनः कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि पर्न जाने भएकाले कोरोना नियन्त्रण गर्न प्रदेश प्रवेशद्वार जाँचको व्यवस्थाका लागि बैठकले यो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

“रोजगारीका लागि भारत गएका नागरिकहरु दिनप्रतिदिन नेपाल फर्कंदैछन्”, प्रवक्ता केसीले भन्नुभयो, “घर फर्कने नागरिकको मोबाइल नम्बर, स्पष्ट ठेगानाको अभिलेख राखी उपलब्ध गराउने व्यवस्थाका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई समन्वयात्मक निर्देशन गरिएको छ ।”

सामाजिक विकास मन्त्रालयले ‘कोभिड–१९’ सङ्क्रमणसम्बन्धी जानकारी आदानप्रदान गर्न हटलाइन कल सेन्टरको व्यवस्था गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले सार्वजनिक यातायातमा सवार यात्रुहरुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउन बस व्यवसायीहरुलाई अनुरोध गर्ने व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुले मिलाउने, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनासम्बन्धी व्यापक प्रचारप्रसार गर्ने र प्रवेश नाकामा ‘कोभिड–१९’ को लक्षण देखिएका व्यक्तिलाई अनिवार्य होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको मन्त्रीले केसीले जनाउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशका आमजनतालाई पुग्ने खोप उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गर्ने, त्यसो हुन नसके प्रदेश सरकार आफैले खोपका लागि पहल गर्ने, स्वास्थ्यसम्बन्धी कार्यको लागि खटिएको साबिकको जनशक्ति परिचालन, प्रदेश सरकारको नयाँ भवन सञ्चालनार्थ श्ययासहित आन्तरिक व्यवस्थापन र बजेटको लागतअनुमान सामाजिक विकास मन्त्रालयले तयारी पारी पेश गर्ने निर्णय गरिएको छ ।

खासगरी ‘कोभिड–१९’ सम्बन्धी सुरक्षा मापदण्ड पालना नियन्त्रणका सम्बन्धमा सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य सेवा निर्देशनालय र सुरक्षा निकायहरुले शीघ्र बैठक बसी आवश्यक निर्णय लिने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

न्युज२४नेपाल बाट साभार

स्वरोजगार बन्दै १२ हजार युवा

0

काठमाडौं | वा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ ।

कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले रु दुई लाख सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ ।

कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाडौँ उपत्यकाका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाले जानकारी दिनुभयो ।

उहाँले अहिले ती कार्यक्रमको सञ्चालनका लागि अनुगमनको कार्य भइरहेकाले चाँडै नै युवालाई कर्जा प्रवाह गरेर स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । ती युवालाई आफूले जानेको सीप, क्षमता र ज्ञानका आधारमा व्यवसाय सञ्चालन गर्नका लागि कोषले ३।२ प्रतिशत ब्याजमा रु दुई लाख उपलब्ध गराउने छ ।

कोषले स्थानीय तहसँग सहकार्य गरेर युवालाई स्वरोजगार बनाउने छ । स्थानीय तहबाट ३।५ प्रतिशत व्याजमा ऋण लिए कोषले तिनै स्थानीय तहमा बेरोजगार युवालाई स्वरोजगार बनाउन दुई लाखका दरले ३।२ प्रतिशतमा व्याजमा ऋण उपलब्ध गराउने भएको छ ।

‘हामीले स्थानीय तहबाट जति ऋण लिन्छौँ, त्यति नै थप गरेर त्यहाँ रहेका युवालाई लगानी गर्दछौँ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा स्थानीय तहमा रहेका युवालाई त्यही नै रोजगारी सिर्जना गर्न सकिन्छ ।’

कोषले स्थानीय तहमा रहेका बैंक, वित्तीय संस्था र सहकारीमार्फत ती युवालाई रु दुई लाखका दरले ऋण उपलब्ध गराउने छ । अहिले कोषले सहकार्यका लागि स्थानीय तहलाई प्रस्ताव आह्वान गरेको छ । साझेदारी कार्यक्रमका कार्यक्रम संयोजक नरबहादुर साउँदले १२ स्थानीय तहले साझेदारी गर्नका लागि प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । यस वर्ष स्थानीय तहका पाँच हजार युवालाई स्वरोजगार बनाइने लक्ष्य दिइएको छ ।

कोशी इकोनोमिक करिडोर कार्यक्रम
यस्तै कोषले कोशी नदी र त्यस नदीका सहायक नदीसँग जोडिएका १७ जिल्लाका युवालाई लक्षित गरेर कोशी इकोनोमिक करिडोर कार्यक्रम पनि सञ्चालनका तयारीमा गरेको छ । सिन्धुपाञ्चोक, काभ्रे, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र सुनसरी जिल्लाका करीब दुई हजार ५०० युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न थालिएको कोषका कार्यकारी उपाध्यक्ष डा रोकाले जानकारी दिनुभयो ।

सप्तकोशाी नदी तथा उक्त नदीमा सहायक नदीका किनारको आसपासमा नदीले छोएका ती जिल्लाका युवालाई माछापालन, लोकल हाँस–कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, होमस्टे, ¥याफटिङ व्यवसाय, आलुखेती, केराखेती, बगरखेती, गोलभेंडा, अदुवाखेती, काउली बन्दा, बेसार र पशुपालन व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराइने छ ।

अहिले युवालाई कर्जा उपलब्ध गराउनका लागि वित्तीय संस्थाको अनुगमन भइरहेको कोषका कार्यकारी निर्देशक नारायणदत्त देवकोटाले जानकारी दिनुभयो ।

कोषले भेरी र कर्णाली नदी किनारमा रहेका १७ जिल्लाका युवालाई पनि व्यावसायिक प्रयोजनका लागि कर्जा उपलब्ध गराउने भएको छ । हुम्ला, जुम्ला, मुगु, अछाम, डोल्पा, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोटा, अछाम, डोटी, बझाङ, बाजुरा, सल्यान, रुकुम ९पश्चिम र पूर्व० दुवै, कैलाली र बर्दियाका दुई हजार युवालाई तरकारीखेती, पशुपालन, पक्षीपालन, फापर÷काउनो खेती, माछापालन, राताचामल, फलफूलखेती, होमस्टे÷होटल, ¥याफटिङ र स्थानीय व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गरी स्वरोजगार बनाउने कार्यक्रम शुरु गरेको छ ।

कोषले काठमाडौँ उपत्यकामा बेरोजगार युवालाई लक्षित गरी ठेलामा खानेकुरा बच्नका लागि कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका बेरोजगार युवालाई चोक, पार्क, सपिङ मल अगाडि खानेकुरा, तरकारी, फलफूल र दुग्धजन्य खाद्यपदार्थ बेच्नका लागि दुई लाखका दरले कर्जा उपलब्ध गराउने तयारी गरेको छ ।

कोषका कार्यकारी निर्देशक देवकोटाले युवालाई कर्जा प्रवाह गर्नका लागि अनुगमनका कार्य भइरहेको र चाँडै नै कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । ‘आफ्नो सीप, क्षमता भए पनि केही युवाले थोरै रकममा पनि व्यवसाय सञ्चालन गर्न पाएका छैनन्’, उहाँले भन्नुभयो, ‘त्यही भएर दुई लाखले सञ्चालन हुने ठेलागाडामा राखेर खानेकुरा बेच्नसक्ने व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्न सक्नेलाई कर्जा उपलब्ध गराउने छ ।’

कोषले यस कार्यक्रममार्फत तराईका २१ जिल्लाका युवालाई बायोफ्लक प्रविधिबाट भकारीमा प्रविधियुक्त माछापालनमा लगानी गरी स्वरोजगार सिर्जन गर्नेछ । कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन, बाचरा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा र उदयपुरका युवालाई माछापालनसँगै अटोरिक्सा, ठेलागाडामा व्यवसाय, फलफूल, तरकारी, चट्पटे, फास्टफुड पसल, भँैसीपालन सञ्चालनका लागि कर्जा प्रवाह गर्नेछ ।

कोषले तयारी पारेको ढाँचाअनुसार ऋणका लागि प्रस्ताव पेश गर्नुपर्नेछ । सो प्रस्ताव कोषले स्वीकृत गरेपछि कोषसँग सहकार्य गरेका वित्तीय सङ्घसंस्था, सहकारीमार्फत आधारमा युवाले ऋण पाउने छन् । एक जनाले दुई लाखका दरमा वार्षिक ३।२ प्रतिशत व्याजमा ऋण पाउने छ । यसरी पाएको ऋणबाट उनीहरुले आफ्नो सीप, क्षमताअनुसार कुनै व्यवसाय सञ्चालन गर्ने छन् ।

मुलुकमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न २०६५ सालमा कोषको स्थापना गरिएको हो । कोषले अहिलेसम्म ७८ हजार युवालाई स्वरोजगार बनाइसकेको छ ।

कोषले मुलुकमा उपलब्ध जनशक्तिलाई आर्थिकरुपमा सक्षम बनाई स्वरोजगार कार्यक्रममा उनीहरुको सहज, पहुँच र स्रोत परिचालन गर्नसक्ने अवस्था सिर्जना गरी अपनत्व र स्वामित्वको अनुभूति गराउन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

न्युज२४नेपाल बाट साभार

कांग्रेस नेता नविन्द्रराज जोशीको निधनले राजनीतिमा अपूरणीय क्षति

0

काठमाडौं । नेपाली लोकतान्त्रिक आन्दोलनका हिमायती नविन्द्रराज जोशी हामी माझ रहेनन् । मष्तिष्काघात भई थापाथलीमा रहेको नर्भिक अस्पतालमा जोशीको निधन भएको छ ।

नेपाली कांग्रेसका नेता जोशी सांसद र मन्त्रीसम्म भए । निकै मृदुभाषी जोशी सालिन नेताका रुपमा पनि चिनिन्छन् । सर्वमान्य नेता गणेशमान सिंहको छत्रछायाँमा हुर्किएका जोशी कम उमेरमै महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सक्षम रहे ।

विक्रम संवत् २०१८ साल असार ३ गते काठमाडौंमा बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट जन्मिएका नविन्द्र सानै उमेरमा राजनीतिमा होमिए । २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएका उनले त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव र नेविसंघ काठमाडौंको अध्यक्ष भएर काम गरे ।

२८ वर्षको उमेरमा जोशीले २०४४ देखि २०४८ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । २०४८ सालको बुटवल महाधिवेशनमा नेविसंघ अध्यक्षको प्रत्यासी बनेका जोशी कांग्रेस नेता एनपी साउदसँग पराजित भएपछि काठमाडौंको स्थानीय राजनीतिमा सक्रिए बने ।

प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो स्थानीय चुनावमा २०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका जोशीले मेयरमा निर्वाचित भएका पीएल सिंहसँग पाँच वर्ष स्थानीय जनप्रतिनिधि भएर २०५४ सालसम्म काम गरे ।

जोशी २०६७ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्यको भूमिकामा आएका थिए । कांग्रेसमा युवाको मतलाई चर्चामा ल्याएका उनी आफू पनि चर्चित बने । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका जोशी संविधानसभाको २०६४ र २०७० मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित भएका थिए ।

२०७० सालको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका जोशीले नेपाल औषधि कम्पनी पुनःस्थापित गरेर चर्चा कमाएका थिए । जोशीले बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने नीति मात्र ल्याएनन्, नेपाल औषधि लिमिटेडको सञ्चालन नै गरेपछि उनको चर्चा चुलिएको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि लगानी सम्मेलनको संयोजक भएर काम गरेका जोशीले १४ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता ल्याएपछि जोशीको कम बोल्ने र काम गरेर देखाउने नेताको पहिचान बनेको थियो ।

आत्मविश्वासी जोशी २०७४ को निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको एकता र कम्युनिस्ट पार्टीको लहरका कारण ३ सय ५४ मतको झिनो अन्तरबाट एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए ।

न्युज२४नेपाल बाट साभार

प्रचण्डले महन्थलाई भने, ‘नयाँ सरकारको नेतृत्व गर्नुस्, हामी मिलेर सरकार बनाऔं’

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित बृहत नागरिक आन्दोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही हप्ता दिनमै मिलेर नयाँ सरकार बनाउन र त्यसको नेतृत्व गर्नुस् भन्दै प्रस्ताव गर्नु भयो ।

नागरिकहरुको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी मिलौँ र नयाँ सरकार बनाऔँ । त्यसको नेतृत्व तपाइँले गर्नुस्।’

अध्यक्ष प्रचण्डले अध्यक्ष ठाकुरलाई ओलीकोम धाइरहनुको साटो आँफै सरकारको नेतृत्व गरेर आफ्नो माग पूरा गर्न सुझाव दिनुभयो । अध्यक्ष प्रचण्डले आफूले पनि संविधान संशोधनका लागि पटक पटक संसदमा प्रस्ताव लगेको तर ओलीले नै अस्वीकार गरेको बताउनु भयो ।

न्युज२४नेपाल बाट साभार

थ्री नेशन्स् कप : एक गोल पनि नगरि फाइनलमा पुग्यो नेपाल, उपाधिकाे लागि फेरि बंगलादेशसँगै खेल्ने

0

काठमाडौं, १४ चैत । नेपाल थ्री नेशन्स कपको फाइनलमा पुगेको पुगेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा बंगलादेश सँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । यो सँगै किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेशसँगको आजको खेलमा नेपालले गोल गर्ने धेरै अवसरहरु पाएपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । खेलको तेस्रो मिनेटमै अनन्त तामाङले अञ्जन विष्टलाई सुन्दर पास गरेका थिए । तर अन्जनको फितलो प्रहारका कारण गोलमा परिणत हुन सकेको थिएन ।

त्यसपछि २१ औं मिनेटमा पनि अञ्जन विष्टले फ्रि पोजिसनमा पाएको बललाई हेड गर्दा पोष्टमाथिबाट बाहिरीएको थियो । त्ययसयता पनि नेपालले २४ औं मिनेट, ५८, ६५ र ७३ औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर पाएको थियो । तर नेपाली स्ट्राइकरहरुको फितलो प्रहारका कारण गोल हुन सफल भएको थिएन । तथापि नेपाल सुुखद यात्राका साथ फाइनल फाइनल भने पुुगेको छ ।

सम्भवत नेपाली अन्तर्राष्ट्रिय खेलको दौरानमा एक गोल पनि नगरि फाइनल पुगेको पहिलो इतिहास हो । सोमबार पुन: नेपालले बंगलादेशसँगै फाइनल खेल खेल्नेछ । थ्री नेशन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्थान गरि ३ देशको सहभागीता थियो ।

न्युज२४नेपाल बाट साभार

आज रंगको पर्व होली मनाइँदै : भेला भएर नखेल्न आग्रह, स्वास्थ्य मापदण्डको पालना नगरे कारवाही !

0

काठमाडौं, १५ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई/तीन दिनसम्म होली मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

भेला भएर होली खेल्न निषेध !

यो वर्ष पनि कोरोना भाइरसको प्रभावले गर्दा फागु पर्वमा भेला भएर होली नखेल्न सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भेला भएर, भीड जम्मा गरेर होली नखेल्न भनिसकेको छ।

काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ। बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड-१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

यसरी सार्वजनिक स्थानमा आउँदा जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने गृह मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले ‘होलीमा हूल तथा ठूला जमघटबाट टाढा बसौँ, कोरोना होइन, माया बाँडौँ’ भनेर सन्देश प्रवाह गरेको छ।

झा दम्पती हत्या प्रकरण : थप तीन जना पक्राउ, दम्पतीका जलेका कपडा बरामद

0

महोत्तरी, १४ चैत । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका- ५ का ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको अपहरणपछि हत्यामा संलग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार पिपरा गाउँपालिका–५ सहोर्वाका झा दम्पतीको हत्यामा संलग्न भएको आशंकामा स्थानीय विकास झा, कैलाश झा र शम्भु झालाई प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

गत १० फागुनको राती आफ्नै घरमा सुतिरहेका झा दम्पती ओछ्यानबाटै हराएका थिए । घटना घटेको एक महिनापछि उनीहरुको शव बिहीबार माटो पुरेको अवस्थामा फेला परेको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार हाल उनीहरुमाथि सोधपुछ तथा अनुसन्धन भइरहेको छ । पक्राउ परिएका तीनै जना झा दम्पतीका नातेदार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको घरबाट झा दम्पतीका जलेका कपडा बरामद भएको तथा शव केही दिनदेखि घरमै बाकसमा लुकाएर राखेर पछि गाडिएको आशंका गरेको छ ।

यसअघि घटनामा संलग्न रहेको भन्दै रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

रातोपाटीबाट साभार