Wednesday, July 29, 2026
Home Blog Page 1375

चीनबाट आइपुग्यो कोभिडविरुद्धको ८ लाख डोज खोप

0

चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइएको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको खोेप स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै पुगेर मन्त्री त्रिपाठीले अनुदानस्वरुप आएको खोप हस्तान्तरण गर्नुभएको हो ।

आइतबार नेपाल एयरलाइन्सको जहाज अनुदानस्वरुप चीनले दिएको खोप लिन उडेको थियो । र, सोमबार बिहान चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको आठ लाख डोज खोप नेपाल ल्याएको हो ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने जनाइएको छ भने उक्त खोप दुई मात्रा लगाउनुपर्नेछ।

विभिन्न परीक्षणहरूका क्रमा नेपाल ल्याइएको चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको खोपभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ । चीनबाट ल्याइएको ‘भेरासेल’ नामक खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । त्यसपछि भारतले नेपाललाई खोप दिन प्रतिबन्ध लगाएको छ ।

होली खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको ज्यान गयो

0

फागु खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछि भएको झगडामा बाग्लुङमा दुई युवकको ज्यान गएको छ ।

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो ।

घटनामा बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्ब्र ७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको पुष्टि भएको उहाँले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले भन्नुभयो‘बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा फागुमा भेला भएर रमाइलो गर्ने चलन रहेछ । त्यहीअनुसार हिजो त्यहाँ मानिसहरु भेला भएका रहेछन् । तर रमाइलो गर्दै गर्दा झगडा भएपछि ग्याङ फाइट भएको र त्यसमा दुई जनाको ज्यान गएको पुष्टि भएको छ ।’

उहाँका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । घटनामा केही सम्पर्कविहीन भएका आशङ्का गरिएकाले खोजी भइरहेको उहाँले बताउनुभयो । घटनाबारे थप जानकारी आइसकेको छैन । अनुसन्धान भइरहेको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनु भएको छ ।

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

0

आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन् ।

पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

 कृषिमा फड्को मार्दै कनकाई    

0

 

 

कनकाई, १२ चैत (रासस) ः झापाको कनकाई नगरपालिकाले युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको छ ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान कृषिबाट मात्र सम्भव हुने भन्दै नगरपालिकाले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको हो । यसका लागि हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने कार्यलार्ई अगाडि बढाएको नगरपालिकाको प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । नगरपालिकाले आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपक्षीपालनलगायत फरक फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने भएको हो ।

यहाँका युवा स्रोतसाधनको अभावका कारण आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर खाडी मुलुकमा आफ्नो श्रम बेच्न बाध्य भएको यथार्थलाई मध्यनजर गर्दै युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । “स्वदेशमै आत्मनिर्भर हुनसक्ने एक मात्र विकल्प कृषि क्षेत्र नै हो”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकास एवं विस्तारका लागि कृषकसँगको साझेदारी कार्यक्रमलाई निरन्तरता दिएको छ ।”

नगरका सबै वडामा खेतीयोग्य जमिनको माटो परीक्षण गरी अघिल्ला वर्षदेखि नै कृषि चुन, कृषिजन्य विभिन्न किसिमका औजार, बीउबिजनसमेत कनकाईका कृषक समूहलाई वितरण गर्दै आएको बताइएको छ । त्यस्तै पशु स्वास्थ्य बीमा, प्राङ्गारिक कृषि उत्पादनमा जोड, उत्पादन भएका कृषिजन्य सामाग्रीको बजारीकरणका लागि समेत कार्यक्रम अघि बढाएको नगरप्रमुख पोखरेलले प्रष्ट पार्नुभयो ।

बजारमा बिक्री हुन नसकेका कृषकका उत्पादनलाई उचित मूल्य निर्धारण गरेर नगरपालिकाले नै खरिद गर्ने गरी कार्ययोजनासमेत निर्माण गरेको बताइएको छ ।  नगरपालिकाले भर्खरै कनकाई–१ मा ६० टनसम्म सामग्री अटाउने शीतघर (कोल्डस्टोर) सञ्चालनमा ल्याएको छ । यस किसिमका शीतघरलाई क्रमिकरूपले अन्य वडामा समेत सञ्चालनमा ल्याउने योजना रहेको नगरप्रमुख पोखरेलले बताउनुभयो । त्यस्तै बेरोजगार युवालाई स्वरोजगार बनाउने काममा बिनाधितो ऋण लगानी गरी बैंक तथा वित्तीय संस्थासँगको सहकार्यका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको विद्युतीय स्प्रे ट्याङ्की वितरणको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पोखरेलले स्थानीय तहको जिम्मेवारी सम्हालेयता कनकाई नगरपालिकाबाट कृषि तथा पशुपालनमा कृषकलाई ऊर्जा दिने किसिमका कार्यक्रमलाई अघि बढाएको बताउनुभयो । नगरको विभिन्न वडामा रहेका कृषि समूह, व्यावसायिक तरकारी खेती गर्ने साथै सामूहिक खेती गर्ने कृषक र टोल विकास समितिबाट प्रतिनिधित्व गरेर आउने विभिन्न वडाका कृषक समूहलाई अनुदानमा स्प्रे ट्याङ्की वितरण गरिएको हो ।

Photo credit: Kathmandu Post

भारतमा एकै दिनमा झण्डै ६३ हजार कोरोना सङ्क्रमित भेटिए

0

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमित हुनेहरुको भन्दा सङ्क्रमणमुक्त हुनेहरुको दैनिक सङ्ख्या थोरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा समेत दिन प्रतिदिन बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३१२ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड १९ लाख ७१ हजार ६३४ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी कुल एक करोड १३ लाख २३ हजार ७६२ जना सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८६ हजार ३१० रहेको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६१ हजार ५५२ पुगेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाभाइरसबाट अहिलेसम्म ५४ हजार ७३ जनाको मृत्यु भएको छ । भारतमा यही मार्च २७ सम्म कुल २४ करोड नौ लाख ५० हजार ८४२ जनाको कोरोना परीक्षण गरिएको छ भने कुल छ करोड दुई लाख ६९ हजार ७८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ

सार्वजनिक जग्गा संरक्षणमा युवा

0

खेतीयोग्य जमीनमा धमाधम प्लटिङ गर्ने र सार्वजनिक जग्गालाई पनि त्यहीँभित्र पारेर मास्न थालेपछि गोकर्णेश्वर नगरपालिका –२ का युवा संरक्षणमा जुटेका छन् ।

नगरपालिकाको समेत सहयोग लिएर युवाले सार्वजनिक जग्गालाई तारबारले घेर्न थालेका हुन् । युवाले देउवाली चौर संरक्षण समिति गठन गरेर नगरपालिकाको २ नं वडा नयाँपाटीस्थित ढुङ्गेचौरको एक रोपनी छ आना जग्गा संरक्षण गरेका हुन् ।

नक्शामा नयाँपाटी–४ क कित्ता नं ६ मा एक रोपनी नौ आना जग्गा भए पनि वरिपरिबाट मिचेको पाइएको समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । सार्वजनिक जग्गा संरक्षण गर्दा सडकका लागि नौ फिट जग्गा छाडिएको समितिले जनाएको छ । तारबार लगाएर सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले रु दुई लाख ५५ हजार ३०८ सहयोग गरेको छ ।

खेतीयोग्य जमीन भएको राजधानीका काठ क्षेत्रमा त्यसलाई मासेर फाँटको बीचमा प्लटिङ गरिए पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वडा अध्यक्ष कृष्णबहादुर पण्डित प्लटिङको स्वीकृति नगरपालिकाले दिने गरेको बताउनुहुन्छ ।

नगरपालिकाले कित्ताकाट गर्न स्वीकृति नदिई एकमुष्ट जग्गाको अनुमति दिने गरे पनि व्यवसायीले मालपोत र नापीमा कसरी मिलाएर कित्ताकाट गरेका छन् भन्ने थाहा नभएको उहाँको भनाइ छ ।

डेढ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन् :अध्यक्ष ज्ञवाली

0

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो “आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ । स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउन तयारीसहित आयोग सक्रिय रहेको छ । ”

आयोगको जिल्ला समितिले शनिबार फिदिममा आयोजना गरेको स्थानीय तहसँगको अन्तक्र्रियामा उहाँले भूमिहीनभन्दा अव्यवस्थित बसोबासीको सङ्ख्या ठूलो रहेकाले जग्गा उपलब्ध गराउनेसम्मको प्रक्रियाका लागि करीब डेढ वर्षको समय लाग्ने जानकारी दिनुभयो ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सङ्ख्या करीब १३ लाख घर परिवार हुने आयोगले अनुमान गरेकामा करीब २१ लाख घर परिवार हुने प्रारम्भिक तथ्याङ्क देखिएको उहाँले बताउनुभयो । “भोगचलनमा रहेको कूल जग्गा जमीनको २५ प्रतिशतको रजिस्ट्रेसन नरहेको पाइयो”,उहाँले भन्नुभयो, “यसले राज्यलाई घाटा त गरिरहेकै छ, यसरी अव्यवस्थितरुपमा बसोबास गर्नेलेसमेत भोगचलनको सम्पूर्ण अधिकार नपाउँदा घाटा सहनुपरेको छ ।”

कांग्रेस परित्याग गरी गाउँ नै एमालेमा प्रवेश

0

झापाको मेचीनगर नगरपालिकामा नेपाली काग्रेस परित्याग गरि एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मेचिनगर–३ स्थित समायोजन टोलका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका युवा नेता कुमार भट्टराईको नेतृत्वमा शनिबार एक कार्यक्रमका बिच उनिहरू कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

भट्टराईको नेतृत्वमा गाउँकै पुराना कांग्रेसका कार्यकर्ता पुण्य गौतम, टेकेन्द्र कोईराला, कुमार कार्की, दुर्गा थपलिया, इन्द्र बुडाथोकीलगाएतका ४० बढीले आफ्नो पार्टी परित्याग गर्दै एमालेको औपचारिक कार्यक्रम मार्फत पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीले भट्टराईले बताए । भट्टराईका अनुसार अब गाउँ नै एमालेमय बनेको छ ।

नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना उप्रेती, एमाले प्रदेश सदस्य तथा प्रदेश सभा सदस्यद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, एमाले प्रदेश सदस्य निलकण्ठ तिवारी, एमाले जिल्ला सदस्य डिल्लीरा घिमिरे, देवकुमार राई, युवासंघ नेपाल केन्द्रीय सदस्य दिपक बराल, एमाले मेचीनगर ४ का अध्यक्ष प्रविण भण्डारीलगायतले अविर र खदा पहिर्याएर स्वागत गरेका थिए ।

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

0

शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ ।

स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचेलेका कारण वायुप्रदूषण बढेको हो । प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।

यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाट्टफुट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

आगलागी हुँदा एक घर जलेर नष्ट, १२ लाख बराबरको क्षति

0

खोटाङमा आगलागि हुदा एक घर जलेर नष्ट भएको छ ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ स्थित डाँडाखर्क निवासी रामबहादुर राईको शनिबार बिहान १० आगलागि भएको हो ।

ढुङ्गा माटोले बनेको तिन तले घर शनिबार बिहान १० बजेको समयमा आगोलागी भएको स्थानीयबासिन्दाले बताएका छन् ।

आगलागी भएको खबर स्थानीयले अस्थाई प्रहरी चौकी खानिडाँडामा गरेपछी प्रहरी निरीक्षक खेमबहादुर भुजेलको टोलि घटनास्थल पुगेको थियो ।

स्थानीयका अनुसार गाई वस्तुका लागि खोले पकाएर खेतबारीमा काम गर्न जाने क्रममा तिब्र गतिमा चलेको हावाका कारण चित्राबाट लागेको आगोले घर आग लागि भएको बताएका छन् ।

यता, प्रहरी टोलि घटना स्थलमा पुग्दा स्थानीयलाई आगो नियन्त्रण लिन भने सकस भइ रहेको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगलागी १ बजे नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागी हुँदा घरमा भएको अन्नपात, धनमाल, लत्ताकपडा र भाडावर्तन पूणरुपमा जल्दा करिब १२ लाख बराबरको क्षति हुनुका साथै मानवीय पशुचौपायको क्षति भने नभएको प्रहरी निरीक्षक भुजेलले बताउनुभयो ।

हाल राईको घरमा खानको लागि खाद्यान्न सामग्री केही नभएको जनाइएको छ ।