काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार हुने खेलहरूमा फ्रान्स–सेनेगल, इराक–नर्वे र अर्जेन्टिना–अल्जेरियाबीचका प्रतिस्पर्धाले फुटबल समर्थकहरूको विशेष ध्यान तानेका छन्।
आजको पहिलो खेलमा राति १२ः४५ बजे फ्रान्स र सेनेगल आमनेसामने हुनेछन्। विश्व फुटबलका बलिया टोलीमध्ये एक फ्रान्ससँग किलियन एम्बाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिसे जस्ता स्टार खेलाडी छन्। उता सेनेगलसँग साडियो माने, इस्माइला सार र इलिमान एनदियाएजस्ता अनुभवी खेलाडी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई हराएको इतिहासले पनि यस खेललाई थप रोचक बनाएको छ।
दोस्रो खेल बिहान ३ः४५ बजे इराक र नर्वेबीच हुनेछ। चार दशकपछि विश्वकपमा फर्किएको इराक सफल सुरुआतको खोजीमा छ भने नर्वे पनि १९९८ पछि पहिलो पटक विश्वकप खेल्दैछ। नर्वेका स्टार फरवार्ड इर्लिङ हालान्ड र कप्तान मार्टिन ओडेगार्डमाथि समर्थकहरूको विशेष नजर रहनेछ।
त्यसपछि बिहान ६ः४५ बजे तीन पटकको विश्व विजेता अर्जेन्टिनाले अल्जेरियाको सामना गर्नेछ। उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरोको साथमा मैदान उत्रिनेछ। अल्जेरियाले भने कप्तान रियाद माहरेजको नेतृत्वमा अर्जेन्टिनालाई चुनौती दिने तयारी गरेको छ।
समूह चरणको सुरुआतमै हुने यी खेलहरूले समूहको अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। कागजमा फ्रान्स, नर्वे र अर्जेन्टिना बलिया देखिए पनि सेनेगल, इराक र अल्जेरियाले अप्रत्याशित नतिजा निकाल्ने क्षमता राखेकाले आजका सबै खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।












