म्याग्दी: अन्नपूर्ण हिमालमा आएको हिउँपहिरोका कारण दुई जना शेर्पा पछिल्ला दुई दिनदेखि बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो शिविरको बीचमा सोमबार दिउँसो आएको हिउँपहिरोमा परेर सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा बेपत्ता भएका हुन्। उनीहरू सेभेन समिट ट्रेकबाट आरोही सहयोगी (शेर्पा) का रूपमा हिमालमा गएका थिए।
बेपत्ता शेर्पाहरूको खोजीका लागि हेलिकप्टरमार्फत मंगलबार बिहानैदेखि उद्धार प्रयास गरिएको थियो। तर अन्नपूर्ण गाउँपालिका–३, दानाका इन्द्रसिंह शेरचनका अनुसार खोजीका प्रयास सफल भएका छैनन्।
“कैलाश र प्रभुको हेलिकप्टरबाट सेभेन समिटका अन्य शेर्पासहितको टोलीले खोजी गर्यो तर फेला पार्न सकिएन,” शेरचनले बताए, “क्याम्प २ र ३ को बीचमा निरन्तर हिमपहिरो खसिरहेकाले खोजीमा अप्ठ्यारो भएको छ।”
ड्रोन क्यामेराको सहायताले समेत खोजी कार्य चलाइएको छ। मौसम बिग्रिएपछि टोली आधार शिविरमा फर्किएको थियो भने बुधबार बिहान पुनः खोजीका लागि जान लागिएको छ।
खोजीका क्रममा तेस्रो शिविरमा रहेका चार जना आरोहीहरूलाई हेलिकप्टरमार्फत आधार शिविरमा झारिएको छ।
शेरचनका अनुसार हिमपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो अवरुद्ध भएको छ भने बाटोमा राखिएका भ्याङ (सोपान) पनि भत्किएका छन्।
सोमबार बिहान ८ देखि ११ बजेको बीचमा ३२ जनाले अन्नपूर्णको आरोहण गरेका थिए। चालु वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन्।


