Tuesday, September 8, 2026
Homeसामाचारहिमनदी भत्किनुअघि हिमाली क्षेत्रमा असामान्य तापक्रम, जलवायु परिवर्तनको सम्भावित प्रभावबारे अध्ययन

हिमनदी भत्किनुअघि हिमाली क्षेत्रमा असामान्य तापक्रम, जलवायु परिवर्तनको सम्भावित प्रभावबारे अध्ययन

पेरिस । भदौ १० गते नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा विनाशकारी बाढी निम्त्याएको हिमनदी भत्किनुअघि सो क्षेत्रमा असामान्य रूपमा उच्च तापक्रम रहेको मौसमसम्बन्धी तथ्यांकको विश्लेषणले देखाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार भदौ ५ देखि १० गतेसम्म करिब ५ हजार २०० मिटर उचाइमा रहेको उक्त हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको छ। सो क्षेत्रका लागि यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ।

५५ वर्षभन्दा लामो मौसमसम्बन्धी तथ्यांकअनुसार यसअघि सोही अवधिमा तापक्रम कहिल्यै ४ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन। यद्यपि, असामान्य उच्च तापक्रम र हिमनदी भत्किनुबीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म पूर्ण रूपमा स्थापित भइसकेको छैन।

क्यालिफोर्नियास्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसमसम्बन्धी तथ्यांकको विश्लेषण गरी उक्त असामान्य तापक्रमको पुनर्निर्माण गरेका हुन्।

रोहडेका अनुसार हिमनदी भत्किएको क्षेत्रमा २०औँ शताब्दीको मध्यदेखि भदौ ५ देखि १० गतेसम्मको अवधिमा रेकर्ड गरिएको औसत तापक्रम करिब १.८ डिग्री सेल्सियसले बढेको देखिएको छ।

जलवायु परिवर्तनका कारण थपिएको तापक्रमलाई अलग गर्ने हो भने यस्तो तापक्रमको अवस्था केही हजार वर्षमा एकपटक मात्र देखिने प्रकृतिको हुन सक्ने रोहडेले एएफपीका लागि गरेको गणनामा उल्लेख गरेका छन्।

युरोपेली सङ्घको कोपर्निकस जलवायु परिवर्तन सेवाअन्तर्गत सन् १९७० यताका तथ्यांक विश्लेषण गर्दा पनि लाङटाङ क्षेत्रमा घटना भएको समय रेकर्डमा रहेको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ।

सम्भावित ‘टिपिङ पोइन्ट’

फ्रान्सेली जलवायुविद् भ्यालेरि म्यासन–डेल्मोटेका अनुसार असाधारण गर्मीले पर्माफ्रस्ट पग्लिनुका साथै चट्टानी ढलान र हिमनदीको संयुक्त पतनलाई सम्भावित रूपमा बढावा दिएको हुन सक्छ। पर्माफ्रस्टले बरफको ‘सिमेन्ट’ जस्तै काम गर्दै चट्टानी संरचनालाई एकसाथ बाँधेर राख्ने भएकाले यसको पग्लाइले त्यस्ता संरचनालाई थप अस्थिर बनाउन सक्छ।

उपग्रहबाट प्राप्त तस्बिरहरूले पनि घटना हुनुअघिका दिनमा सो क्षेत्रमा उल्लेखनीय रूपमा हिउँ पग्लिएको देखाएका छन्। फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (सीएनआरएस)का हिमनदीविद् एटिएन बर्थियरका अनुसार पग्लिएको पानी पहाडका चिरामा प्रवेश गर्दा पहिरो वा ढलान भत्किने सम्भावना बढेको हुन सक्छ।

तर विज्ञहरूले उच्च तापक्रमले नै हिमनदी वा पहाड भत्काउन प्रत्यक्ष भूमिका खेलेको निष्कर्षमा पुग्न अझै हतार गर्न नहुने बताएका छन्।

फ्रान्सको ग्रेनोबल आल्प्स विश्वविद्यालयकी भू–आकृतिविद् क्रिस्टन कुकले तापक्रम बढ्नु र पहाड भत्किनुलाई एउटै घटनाका रूपमा हेर्न नमिल्ने बताएकी छन्। तापक्रमले ट्रिगरका रूपमा काम गरेको भए पनि चट्टान निर्णायक रूपमा कमजोर हुने अवस्थामा नपुगेसम्म त्यसको प्रभाव तत्काल नदेखिन सक्ने उनको विश्लेषण छ।

अनुसन्धानकर्ताहरूले अहिले हिमनदी भत्किनुअघिका वर्षहरूमा पहाडमा देखिएका साना–साना गतिविधि र तापक्रममा आएको परिवर्तनबीचको सम्बन्धबारे थप अध्ययन गरिरहेका छन्।

रोहडेका अनुसार पग्लिएको पानी र पर्माफ्रस्ट पग्लाइका कारण चट्टानका चिरा वा ‘फ्र्याक्चर प्लेन’ आसपासको संरचना उल्लेखनीय रूपमा कमजोर भएको प्रमाणित भएमा जलवायु परिवर्तनको भूमिकाको बलियो प्रमाण प्राप्त हुन सक्छ।

तापक्रमसम्बन्धी विश्लेषणमा कोपर्निकस कार्यक्रमअन्तर्गतका जलवायु मोडेल तथा भत्किएको हिमनदीबाट ९ देखि १४० किलोमिटरको दूरीमा रहेका १४ वटा उच्च उचाइका मौसम केन्द्रबाट प्राप्त तथ्यांक प्रयोग गरिएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका