काठमाडौं: लेबनानको दक्षिणी क्षेत्रमा हिजबुल्लाह विरुद्धको भीषण लडाइँमा इजरायलले बुधबार ठूलो क्षति व्यहोर्नु परेको छ। मिडिया रिपोर्टका अनुसार, भिडन्तमा छ जना इजरायली सैनिकको मृत्यु भएको छ, जसले यो वर्ष हिजबुल्लाहसँगको संघर्षमा ज्यान गुमाउने इजरायली सैनिकको संख्या ४७ मा पुर्याएको छ।
घटनाका क्रममा, इजरायली सैनिकहरूले एक गाउँमा छापा मार्दा भवनभित्र लुकेका हिजबुल्लाहका चार लडाकूले उनीहरूलाई घेराबन्दीमा राखेर आक्रमण गरे। इजरायली सेनाले जवाफी कारबाही गर्दै चारै हिजबुल्लाह लडाकूलाई मार गिराएको छ। यस भिडन्तमा ज्यान गुमाएका सैनिकहरू इजरायली सेनाको प्रतिष्ठित गोलानी ब्रिगेडको ५१ औं बटालियनका थिए। यसअघि अक्टोबर २ मा पनि लेबनानमा भएको हमलामा आठ इजरायली सैनिकले ज्यान गुमाएका थिए।
इजरायली रक्षामन्त्री इस्राएल काट्जले सैनिकहरूको मृत्युमा शोक व्यक्त गर्दै हिजबुल्लाहविरुद्धको अभियानलाई अझ कडा बनाउन प्रतिबद्धता जनाएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकहरूको योगदानको प्रशंसा गर्दै, तिनीहरूको बलिदानप्रति सम्मान जनाउन सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका छन्।
इजरायलले सेप्टेम्बर २३ देखि लेबनानमा हिजबुल्लाहका विभिन्न ठेगानाहरूमा बमबारी गर्दै आएको छ। इजरायली सेनाले हिजबुल्लाहलाई दक्षिणी लेबनानको लितानी नदी पार गर्न रोक्न खोजिरहेको छ, ताकि इजरायलको उत्तरी सीमामा सुरक्षा सुनिश्चित गर्न सकियोस्। यद्यपि, हिजबुल्लाहले प्रतिक्रिया दिँदै तेल अभिभमा रहेको इजरायली सेनाको मुख्यालयमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इजरायली रक्षा मन्त्रालयले भने यो दाबी अस्वीकार गरेको छ र यस प्रकारका हमलाबाट रक्षा गर्ने उपायहरू पूर्ण रूपमा लागू गरिएको जनाएको छ।
इजरायल र हिजबुल्लाहबीचको यो ताजा भिडन्तले लेबनान-इजरायल सीमामा तनाव थप चर्किएको छ, जसले क्षेत्रीय सुरक्षालाई थप खतरामा पार्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।


