Thursday, June 18, 2026
Homeसामाचारहवाई भाडामा ब्रह्मलुट: वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

हवाई भाडामा ब्रह्मलुट: वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

काठमाडौं: मेनपावर व्यवसायी हरि थापाले केही समयअघि काठमाडौंबाट साउदी अरब जाने यात्रुका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँमा टिकट काटेका थिए। विदेशमा रोजगारीका लागि जाने श्रमिकहरूलाई ३० हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्ममा हवाई टिकट मिल्दै आएको थियो, तर हाल साउदीका लागि न्यूनतम एक लाख ६ हजार ३४८ रुपैयाँको टिकट मात्र उपलब्ध रहेको छ।

त्यसैगरी, ४० हजार रुपैयाँसम्ममा पाइने मलेसियाको टिकट अहिले न्यूनतम ७४ हजार रुपैयाँ भएको छ। काठमाडौँबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि ७४ हजार ५४१ देखि एक लाख ८२ हजार २९५ रुपैयाँसम्मको टिकट उपलब्ध छ।

काठमाडौंदेखि दुबईसम्मको हवाई भाडा तीन गुणा बढेर हाल न्यूनतम एक लाख तीन हजार ८१८ रुपैयाँदेखि एक लाख २४ हजार रुपैयाँसम्म पुगेको छ। कतारको दोहासम्मको न्यूनतम भाडा एक लाख पाँच हजार रुपैयाँ रहेको छ भने जापानका लागि हवाई भाडा एक लाख ५५ हजारदेखि दुई लाख ५३ हजार रुपैयाँसम्म पुगेको छ।

वैदेशिक रोजगारीमा जान ऋण निकालिरहेका श्रमिकहरू हवाई भाडाको अस्वाभाविक वृद्धिका कारण समस्यामा परेका छन्। मेनपावर व्यवसायीहरूले यस समस्याबारे सरकारलाई जानकारी गराउँदै पहल गर्न अनुरोध गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटी, हवाई भाडा नियमन गर्न आग्रह गरेको छ। मन्त्री भण्डारीले भने नियामक निकाय आफू नभएकोले सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका छन्।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले हाल हवाई भाडा अस्वाभाविक रूपमा बढेको बताउँदै, सिट उपलब्ध भए पनि टिकट महँगो भएका कारण वैकल्पिक रूपमा पोखरा वा भैरहवाबाट उडानको व्यवस्था गरिदिन आग्रह गरेका छन्।

नेपाली श्रमिकहरूलाई विदेश पठाउन सहज बनाउने सरकारी नीति भए तापनि हवाई टिकट चार गुणासम्म बढेपछि श्रमिकहरूलाई उल्टो आर्थिक भार परेको भण्डारीको भनाइ छ।

नेपालबाट मलेसिया र खाडी लगायतका देशहरूमा दैनिक करिब १,५०० नेपालीहरू रोजगारीका लागि जाने गर्छन्। तर एयरलायन्सहरूले चर्को भाडा असुल्दा उनीहरू समस्यामा परेका छन्। व्यवसायीहरूले भारतको दिल्ली हुँदै जाने विकल्पसमेत सुझाएका छन्, तर यसबारे सरकारको प्रतिक्रिया आएको छैन।

नेपाल एयरलायन्सलाई बन्द गराएर विदेशी एयरलायन्सलाई मनलाग्दी भाडा असुल्न छुट दिन खोजिएको व्यवसायीहरूको आरोप छ। शुक्रबार (कात्तिक २३ गते)देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको कारण १० घण्टा बन्द हुने भन्दै एयरलाइन्सहरूले भाडा बढाएको व्यवसायीहरू बताउँछन्।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावलले ट्राभल एजेन्सी र एयरलाइन्सहरू मिलेर कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाए। हवाई भाडा अस्वाभाविक रूपमा वृद्धि गरिँदा श्रमिकहरूलाई ठूलो आर्थिक भार परेको उनको भनाइ छ। वैदेशिक रोजगार ऐन–२०६४ को दफा २२ (१) अनुसार श्रमिकहरूलाई स्वदेशी विमानस्थलबाटै पठाउनु पर्ने कानूनी व्यवस्था रहेको तर, हवाई भाडा अत्यधिक वृद्धि भएपछि छिमेकी मुलुक भारतमार्फत श्रमिक पठाउन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सस्तो टिकटहरू सकिएपछि महँगो टिकट मात्र बाँकी रहेको जानकारी दिए। टिकटको वर्गहरूमा परिवर्तन हुँदा भाडा बढेको उनको भनाइ छ। नेपाली वायुसेवा कम्पनीहरू थपिए भने विदेशी एयरलाइन्सहरूलाई पनि सस्तोमा उडान गराउन सकिने उनले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका