Monday, April 20, 2026
Homeअन्तराष्ट्रियहर्मुज जलडमरु बन्द हुँदा तेल मूल्य उकालो, विश्व बजारमा ६% भन्दा बढी...

हर्मुज जलडमरु बन्द हुँदा तेल मूल्य उकालो, विश्व बजारमा ६% भन्दा बढी वृद्धि

काठमाडौँ । अमेरिका र इरानबीच बढ्दो तनावका कारण विश्वकै प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ हर्मुज पुनः बन्द भएपछि सोमबार कच्चा तेलको मूल्यमा ६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। अघिल्लो शुक्रबार झण्डै ९ प्रतिशतले घटेको मूल्य युद्धविराम उल्लङ्घन र आक्रमणका खबरसँगै फेरि उकालो लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ६.११ डलर (६.७६%) ले बढेर ९६.४९ डलर पुगेको छ। यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) पनि ६.५३ डलर (७.७९%) ले वृद्धि भई प्रतिब्यारेल ९०.३८ डलर पुगेको छ।

दुवै देशले एकअर्कामाथि युद्धविराम सम्झौता तोडेको र जहाजहरूमाथि आक्रमण गरेको आरोप लगाएका छन्, जसका कारण ऊर्जा बजारमा अनिश्चितता बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानको एक मालवाहक जहाजलाई आफ्नो नौसेनाले नियन्त्रणमा लिएको बताएका थिए। त्यसको प्रतिउत्तरमा इरानले अमेरिकी नाकाबन्दी कायम रहुञ्जेल शान्ति वार्तामा सहभागी नहुने अडान लिएको छ।

विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने यो जलमार्ग बन्द हुँदा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको छ। केही समयअघि मात्र खुला गरिएको मार्ग पुनः बन्द गरिएपछि तेल ढुवानीकर्ताहरू थप सतर्क बनेका छन्।

बजार विश्लेषकहरूका अनुसार अहिले तेल बजार भौतिक अवस्थाभन्दा पनि दुवै देशका नेताहरूका अभिव्यक्तिका आधारमा तीव्र रूपमा उतारचढाव भइरहेको छ। सुरक्षित आवागमनको सुनिश्चितता नभएसम्म जहाज सञ्चालकहरू यो क्षेत्रमा प्रवेश गर्न हच्किने देखिन्छ।

अमेरिकाबाट थप सैन्य कारबाहीको चेतावनी र इरानबाट अवरोध कायमै राख्ने संकेतका बीच आगामी दिनमा इन्धनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका