Tuesday, August 11, 2026
Homeराजनीतिहर्क साम्पाङ्गको ‘कोर्रा हान्ने’ अभिव्यक्तिप्रति सांसद इन्दिरा रानाको आपत्ति

हर्क साम्पाङ्गको ‘कोर्रा हान्ने’ अभिव्यक्तिप्रति सांसद इन्दिरा रानाको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नागरिकलाई यातना दिने वा शारीरिक दण्डसँग सम्बन्धित यस्ता अमानवीय तथा क्रूर शब्दको प्रयोग लोकतन्त्र र मानव अधिकारको मर्मविपरीत हुने बताइन्।

रानाले आफू लामो समयदेखि बालबालिका तथा कैदीबन्दीको हकहितका लागि काम गर्दै आएको स्मरण गराउँदै शारीरिक यातना र कोर्रा लगाउनेजस्ता कार्यविरुद्ध कानुन निर्माणका लागि आफूले समेत वकालत गरेको बताइन्।

नेपालमा लामो प्रयासपछि शारीरिक यातनालाई निषेध गर्ने कानुनी व्यवस्था बनेको अवस्थामा पुनः यस्ता अभिव्यक्ति सुनिनु दुःखद भएको उनको भनाइ थियो।

अपराध जोसुकैले गरे पनि वा परिस्थिति जस्तोसुकै भए पनि नागरिकलाई ‘कोर्रा हान्ने’ जस्ता शब्द प्रयोग गर्नु उचित नहुने रानाले बताइन्।

उनले भनिन्, “यो गरिमामय सदनमा ‘कोर्रा’ जस्तो शब्द प्रयोग हुनु उपयुक्त छैन। आफ्ना जनताले अपराध गरेका भए पनि यस्तो शब्द प्रयोग गरिनुहुँदैन।”

सांसद रानाले सार्वजनिक रूपमा वा संसद्मा प्रसंगवश प्रयोग भएका यस्ता शब्दलाई संसद्को आधिकारिक अभिलेखबाट हटाउन सभामुखसँग आग्रह समेत गरिन्।

यसअघि सांसद हर्कराज राईले गलत काम गर्ने व्यक्तिलाई ‘कोर्रा हान्नुपर्ने’ अभिव्यक्ति दिएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका