काठमाडौँ । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) रद्द भइसकेको भेटिएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख जाँच गर्दा उनले २०७१ पुस ६ पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको पाइएको हो।
प्रहरी स्रोतका अनुसार साम्पाङले २०७१ पुसमा आफ्नो श्रेणी (ए) को लाइसेन्स जरिवानासहित नवीकरण गरेका थिए। त्यसपछि कानुनले तोकेको अवधिभित्र पुनः नवीकरण नगरेका कारण लाइसेन्सको वैधता समाप्त भएको देखिएको छ। यस विषयमा प्रहरी प्रधान कार्यालय अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले छानबिन गरिरहेको जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ अनुसार निश्चित अवधिसम्म नवीकरण नगरिएको चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ। महाशाखाका एक अधिकृतका अनुसार साम्पाङको लाइसेन्स २०७३ पुस १२ मा नै म्याद सकिएको थियो र त्यसयता नवीकरण भएको अभिलेख भेटिएको छैन।
कानुनअनुसार म्याद सकिएको पाँच वर्षभित्र जरिवाना तिरेर लाइसेन्स नवीकरण गर्न सकिने व्यवस्था भए पनि साम्पाङले उक्त अवधि पनि गुजारेका छन्। यसबारे थप कानुनी परामर्श र अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
श्रम संस्कृति पार्टीका संस्थापक साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि उनी धरान उपमहानगरपालिकाका प्रमुख थिए।
जेठ २९ गते उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल चलाउँदा लापरबाही गरेको आरोपमा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले एउटा हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले भिडियो खिचिरहेको देखिएपछि कारबाहीको माग उठेको थियो।
प्रहरीले जेठ २५ गते साम्पाङको नाममा जारी गरिएको ट्राफिक चिट सार्वजनिक गरेको थियो। छानबिनका क्रममा उनले सन् २००६ मा इटहरीबाट लाइसेन्स लिएको र सन् २०१४ पछि नवीकरण नगरेको तथ्य खुलेको छ।
लाइसेन्स बिना सवारी साधन चलाउनु कानुनविपरीत मानिन्छ।


