काठमाडौँ: विश्व स्वास्थ्य सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित टेबलटप अभ्यास धनगढीमा सम्पन्न भएको छ।
यस अभ्यासमा सुदूरपश्चिम प्रदेशका हब र स्याटेलाइट अस्पतालका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। भूकम्पका कारण उत्पन्न हुने सामूहिक घाइतेको परिस्थितिको प्रतिरूपण गरी अस्पतालको आपत्कालीन व्यवस्थापन क्षमता मूल्याङ्कन गरिएको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।
मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई हब अस्पतालका रूपमा चयन गरेको छ। अभ्यासमा हब र स्याटेलाइट अस्पतालहरूबीच समन्वय, ट्रायज प्रक्रिया, बिरामी व्यवस्थापन, स्रोत साधनको वितरण, तथा आपत्कालीन सञ्चालन केन्द्रसँगको सहकार्यबारे छलफल गरिएको थियो।
डा. बुढाथोकीका अनुसार, अभ्यासको उद्देश्य अस्पतालहरूको विपद् तयारी प्रणालीको कमजोरी पहिचान गर्दै सञ्चार र समन्वय सुधार गर्नु हो। उहाँले भन्नुभयो, “यस्ता अभ्यासले ठूलो स्तरका स्वास्थ्य आपत्कालीन परिस्थितिको व्यवस्थापन, फिल्ड अस्पतालको एकीकरण तथा रोग प्रकोपका समयमा निरन्तर उपचार सुनिश्चित गर्न सुधार गर्नुपर्ने पक्षहरू उजागर गर्छ।”
यसैबीच, नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक लोरेँजो, विश्व स्वास्थ्य सङ्गठनका डा. एलिसन गोकोटोनो प्रतिनिधि टोली र प्रवक्ता डा. बुढाथोकीले धनगढीस्थित प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुगमन गरेका छन्। सो अवसरमा सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर वृद्धिमा योगदान पु¥याएबापत युरोपियन युनियन र विश्व स्वास्थ्य सङ्गठनलाई सम्मान गरिएको थियो।


