Friday, July 10, 2026
Homeसामाचारस्वास्थ्य अवस्था अस्थिर भएपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने निर्णय

स्वास्थ्य अवस्था अस्थिर भएपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने निर्णय

काठमाडौं । जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने निर्णय गरिएको छ। उनको स्वास्थ्य अवस्था अस्थिर बनेपछि चिकित्सकहरूको सिफारिसअनुसार सरकारले उपचारका लागि स्थानान्तरणको योजना स्थगित गरेको हो।

सुरुवातमा चिकित्सकहरूको सुझावका आधारमा सरकारले उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो। यसका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिएको थियो भने भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्मको सम्पूर्ण उपचार तथा यातायात व्यवस्थापन पनि मिलाइएको थियो। सरकारले उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णयसमेत गरिसकेको थियो।

बिरामीलाई समयमै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङको निर्देशनमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरिएको थियो। तर, वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहारामा उपचाररत गणेश नेपालीको अवस्था अचानक अस्थिर बनेपछि तत्काल स्थानान्तरण गर्दा ज्यानको जोखिम बढ्न सक्ने चिकित्सकहरूले निष्कर्ष निकालेका छन्।

चिकित्सकहरूको टोलीले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान उपयुक्त हुने सुझाव दिएको छ। त्यसअनुसार गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्री बालेन शाहको सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा रहँदै बिरामीको अवस्थाबारे निरन्तर निगरानी गरिरहेका छन्।

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।

हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवासहित २१ सदस्यीय विशेषज्ञ टोली उनको उपचारमा खटिएको छ। टोलीले रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउन आवश्यक औषधि र सघन उपचार जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका