काठमाडौं । संयुक्त राष्ट्र संघ को आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक मा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २११ जना शान्ति सैनिक चैत ११ गते स्वदेश फर्किएका छन्। उनीहरूको स्थानमा १७९ जना शान्ति सैनिकको पहिलो टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।
रिपुमर्दन गण (सातौँ डफ्फा) र सैनिक प्रहरी युनिट (दशौँ डफ्फा) लाई बदली गर्न कालीबहादुर गण (आठौँ डफ्फा) र सैनिक प्रहरी युनिट (एघारौँ डफ्फा) मिसन क्षेत्रमा पठाइएको हो।
हाल उक्त शान्ति मिसनमा नेपाली सेनाका कुल १ हजार १०७ जना शान्ति सैनिक कार्यरत रहेका छन्।


