Wednesday, June 24, 2026
Homeसामाचारसेती राजमार्गअन्तर्गत बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु

सेती राजमार्गअन्तर्गत बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु

घोडाघोडी (कैलाली): सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको सेती राजमार्गअन्तर्गत कैलालीको बौनियाँ–टीकापुर खण्ड निर्माण कार्य सुरु भएको छ। बौनियाँ बजारबाट साढे चार किलोमिटर दक्षिणतर्फ आजदेखि ‘कङ्क्रिट वाल’, नाली तथा सडक भरानको काम थालिएको छ।

चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित रु ६ करोड १५ लाख लागतमा निर्माण कार्य सुरु गरिएको हो। उक्त योजनामा १,१०० मिटर पक्की नाला, सडकको दुवै छेउमा २,००० मिटर कङ्क्रिट वाल तथा १६ मिटर चौडाइमा साढे चार किलोमिटर सडक भरानको काम हुने बौनियाँ–टीकापुर सडक निर्माण आयोजना कार्यालयले जनाएको छ।

आज आयोजित शुभारम्भ कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधिभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो। “सेती राजमार्ग निर्माण लामो समयदेखि ढिलाइ हुँदै आएको छ, यसलाई चाँडो सम्पन्न गर्न निर्माण कम्पनीले गम्भीरता देखाउनुपर्छ। स्थानीय तह आवश्यक समन्वय र सहकार्य गर्न तयार छ,” उहाँले भन्नुभयो।

अध्यक्ष कुँवरले बर्दगोरिया गाउँपालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भइसकेको र अर्को पुल केही महिनाभित्र सम्पन्न हुने जानकारी दिनुभयो। “सेती राजमार्गमा सुविधासम्पन्न सडक बन्नुले सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्नेछ। त्यसैले काम समयमा सम्पन्न गर्न समन्वय गर्न आवश्यक छ,” उहाँले जोड दिनुभयो।

उहाँका अनुसार यही खण्डअन्तर्गत दुर्गौली–प्रतापपुर १० किलोमिटर सडक कालोपत्रे कार्य भइरहेको छ। कैलालीको मोहन्याल गाउँपालिका क्षेत्रमा तीन किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी रहेको जानकारी दिँदै उक्त ट्रयाक खुलेपछि टीकापुर–खिमडी–ठुलीगाड सिधा यातायात सञ्जालमा जोडिने उहाँले बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका