काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन् भने स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्ने भएका छन्। दुवै मन्त्रीको पद तथा गोपनीयताको शपथ मंगलबार अपराह्न शीतलनिवासमा हुने तय भएको छ।
व्यापारी दीपक भट्टसँगको व्यापारिक साझेदारी तथा बीमा कम्पनीको सेयर खरिदसम्बन्धी विवादपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी त्यसबेला जम्मा २६ दिन मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले विस्तृत अध्ययनपछि गुरुङविरुद्ध उठेका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनका चल-अचल सम्पत्ति तथा सेयर लगानीलाई वैध ठहर गरेको थियो। सोही प्रतिवेदनपछि उनी पुनः गृहमन्त्री नियुक्त भएका हुन्।
यता, स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्ने भएका छन्। राष्ट्रपति कार्यालयले उनको शपथसम्बन्धी पत्र प्राप्त भएको जनाएको छ।
यसअघि पुन सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा शिक्षामन्त्री बनेका थिए। तर आफ्ना केही एजेन्डा सम्बोधन नभएको भन्दै उनले बीचमै पद त्याग गरी निर्वाचनमा सहभागी भएका थिए। उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
सरकारको पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनसँगै गुरुङको पुनरागमन र महावीर पुनको मन्त्रिपरिषद्मा प्रवेशलाई राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।


