काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले प्रभावित क्षेत्रका विद्यार्थीको पठनपाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए।
उनका अनुसार बालाजुस्थित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय का ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालय मा तथा श्री बालकल्याण माध्यमिक विद्यालय का १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोल मा स्थानान्तरण गरिएको छ।
त्यसैगरी, कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्र मा रहेका १० जना बालबालिकालाई प्याब्सन काठमाडौं महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था मिलाइएको मन्त्री पोखरेलले बताए।
उनले खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेका विद्यालयमा भर्ना गराइएको जानकारी पनि दिए। ती बालबालिकाका लागि विद्यालय आवतजावतका लागि सवारी सुविधा, खाजा, टिफिन बक्स, विद्यालय पोसाक, झोला, स्टेशनरी, पानीको बोतल, सरसफाइ सामग्री तथा खेलकुद सामग्री उपलब्ध गराइएको उनले बताए।
मन्त्री पोखरेलका अनुसार गत असार २९ गते खरिपाटी र बोडे होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित बालबालिकाका लागि आवश्यक थप व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ।
राष्ट्रियसभामा उठेको अर्को प्रश्नको जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालय तथा शैक्षिक संस्थामा भएका मनोनयन सुशासन र योग्यता प्रणालीलाई सुदृढ बनाउन खारेज गरिएको स्पष्ट पारे।
उनका अनुसार हाल नौवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन्। साथै, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षसहित अन्य उच्च पदाधिकारी नियुक्त भएका छन् भने बाँकी रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया अघि बढाइएको छ।
उच्च शिक्षाको शैक्षिक वातावरण सुधार गर्न सबै विश्वविद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको पनि मन्त्री पोखरेलले जानकारी दिए।
राष्ट्रियसभामा सांसद मदनकुमारी शाह (गरिमा) र भुवनबहादुर सुनार ले शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न उठाएका थिए।


