काठमाडौं । बेइजिङमा सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको भेटवार्ताले चीन–अमेरिका सम्बन्धको भविष्यका लागि सकारात्मक आधार तयार गरेको चिनियाँ अन्तर्राष्ट्रिय राजनीति विज्ञहरूले बताएका छन्।
तीनदिने चीन भ्रमण पूरा गरेर ट्रम्प शुक्रबार स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा दुवै नेताबीच आर्थिक, व्यापारिक तथा कूटनीतिक सहकार्य विस्तारका विषयमा महत्वपूर्ण सहमति भएको चिनियाँ पक्षले जनाएको छ।
राष्ट्रपति सी जिनपिङले दुई देशबीच स्थिर आर्थिक तथा व्यापारिक सम्बन्ध कायम राख्ने, विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्ने र एकअर्काका चासोलाई उचित रूपमा सम्बोधन गर्ने विषयमा महत्वपूर्ण समझदारी बनेको बताएका छन्।
उनले सहकार्यलाई बलियो बनाएर दुवै देशले आफ्नो विकास र पुनरुत्थानलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गरे।
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीज की सह–अनुसन्धानकर्ता सु सियाओहुई ले ट्रम्पको भ्रमणले चीन–अमेरिका सम्बन्धमा सकारात्मक सन्देश दिएको बताइन्।
उनका अनुसार यो भेटले भविष्यमा उच्चस्तरीय कूटनीतिक संवाद र राष्ट्रप्रमुखस्तरीय भेटघाटका थप अवसर खोल्नेछ।
सु सियाओहुईका अनुसार ट्रम्पले यसै वर्ष पुनः संवादको प्रस्ताव राख्दै सी जिनपिङलाई संयुक्त राज्य अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन्।
उनले यो वर्ष चीन र अमेरिकाका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै दुवै देशले आन्तरिक राजनीतिक प्राथमिकता र कूटनीतिक एजेन्डा अघि बढाउन एकअर्काको सहयोग आवश्यक पर्ने बताइन्।
यस वर्ष चीनले आफ्नो १५औँ पञ्चवर्षीय योजना सुरु गर्नेछ भने संयुक्त राज्य अमेरिकाले स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाउनेछ। साथै चीनले एशिया–प्रशान्त आर्थिक सहयोग बैठक आयोजना गर्नेछ भने संयुक्त राज्य अमेरिकाले जी–२० सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ।
सु सियाओहुईले चीन–अमेरिका सम्बन्धमा मतभेद रहिरहने भए पनि निरन्तर रणनीतिक संवादमार्फत सहमति खोज्न सकिने बताइन्।
उनका अनुसार आर्थिक तथा व्यापारिक विषयदेखि संवेदनशील मुद्दासम्म उतारचढाव आउन सक्ने भए पनि संवाद कायम रहे सम्बन्धलाई नियन्त्रणबाहिर जानबाट रोक्न सकिनेछ।


