हैदराबाद (भारत): भारत बायोटेकका कार्यकारी अध्यक्ष डा. कृष्णा एल्लाले नेपाली किसानलाई सुलभ मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भारत बायोटेक समूहको कम्पनी ‘बायोभेट’ले उत्पादन गरेको खोप नेपाललगायत विभिन्न देशका किसानलाई सस्तो मूल्यमा दिने बताउनुभयो।
“लम्पी स्किन रोगविरुद्धको ‘बायोभेट’ खोप भारतको राष्ट्रिय औषधि नियामक निकाय सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेशनबाट स्वीकृत भइसकेको छ। यसको प्रयोगले गाईभैँसी बचाउन ठूलो सहयोग पुग्नेछ,” अध्यक्ष एल्लाले भन्नुभयो।
उहाँका अनुसार पछिल्ला दुई वर्षमा लम्पी स्किन रोगका कारण झन्डै दुई लाख गाईभैँसी मरेका छन्, जसले दूध उत्पादनमा गिरावट ल्याएको छ। नेपालमा मात्रै १० हजार गाईभैँसी मृत्यु भइसकेका छन् भने ७३ जिल्लाका साढे तीन लाखभन्दा बढी पशु सङ्क्रमित भएका छन्।
“रोगको सङ्क्रमणपछि गाईभैँसीको दूध उत्पादनमा ठूलो ह्रास आउँछ,” उहाँले थप्नुभयो, “नेपालले हाल करिब तीन डलरमा खोप आयात गरिरहेको छ, तर हामी नेपाली किसानलाई मात्र एक डलरमै खोप उपलब्ध गराउने योजनामा छौँ।”
डा. एल्लाका अनुसार खोपको गुणस्तर, सुरक्षा, र प्रभावकारिता भारतीय कृषि अनुसन्धान परिषद्, नेसनल रिसर्च सेन्टर अन इक्वाइन, तथा भारतीय पशुचिकित्सा अनुसन्धान संस्थानमा परीक्षण भइसकेको छ। लम्पी स्किन रोग लागेपछि गाईभैँसीको छालामा गिर्खा देखिनु, ज्वरो आउनु, ग्रन्थीहरू सुन्निनु, दूध उत्पादन घट्नु, र हलचल गर्न कठिनाइ हुनुजस्ता लक्षण देखिने उहाँले बताउनुभयो।
संस्थापक एल्लाले यो खोप पशुचिकित्सा क्षेत्रमा ‘गेम-चेन्जर’ हुने दाबी गर्नुभयो। कम्पनीले हाल ५० करोड डोज खोप उत्पादन गरी बजारमा पठाउने तयारी गरिरहेको छ। यो रोगका कारण दूध उत्पादनमा ३५ प्रतिशतभन्दा बढी गिरावट आउने भएकाले समयमै समाधान खोज्न खोप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
भारत बायोटेकले कोरोना भाइरसविरुद्धको ‘कोभ्याक्सिन’ लगायत तीन दर्जनभन्दा बढी खोप उत्पादन गरिसकेको छ। सन् १९९६ मा अमेरिकाबाट स्वदेश फर्केर डा. एल्ला र उहाँकी श्रीमती सुचित्रा एल्लाले कम्पनी स्थापना गर्नुभएको थियो। हाल कम्पनीसँग २२० भन्दा बढी पेटेन्ट छन्। कृषि र जैविक अनुसन्धानमा पनि संलग्न भारत बायोटेकका विभिन्न उत्पादन प्लान्टमार्फत वार्षिक ६ अर्ब डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको छ।


