काठमाडाैं । सर्वोच्च अदालतले रवि लामिछाने जोडिएको मुद्दामा अन्य प्रतिवादीहरूको हकमा गरिएको आरोप संशोधनसम्बन्धी निर्णय फाइल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले बिहीबार माघ २ गते गरिएको भनिएको संशोधित निर्णय फाइल पेश गर्न आदेश दिएको हो। उक्त निर्णयमा अन्य प्रतिवादीहरूको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुर हटाइएको बताइएको छ।
यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारी बरालले केवल लामिछानेको हकमा मात्र आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर त्यसको दुई दिनपछि, माघ २ गते, लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा पनि आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको उल्लेख छ।
सर्वोच्च अदालतमा भने पुस ३० गतेको निर्णय मात्र पेश भएको पाइएपछि इजलासले माघ २ गतेको संशोधित निर्णय फाइल पनि झिकाएर पेश गर्न आदेश दिएको हो।
महान्यायाधिवक्ता बरालले मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका थिए।


