Tuesday, June 30, 2026
Homeसामाचारसर्लाहीमा सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’

सर्लाहीमा सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’

बरहथवा (सर्लाही): सर्लाहीमा ६९१ हेक्टर क्षेत्रफलमा चैते धानखेती गर्न सकिने सम्भावना भए पनि हाल वार्षिक रूपमा मात्र ५० हेक्टरमा खेती हुँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा पनि क्षेत्र विस्तार हुन सकेको छैन।

परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहका अनुसार, जिल्लामा बर्खे धानखेती ४५ हजार ९५० हेक्टरमा हुँदै आएको छ र वार्षिक उत्पादन करिब एक लाख ६७ हजार २५८ मेट्रिक टन रहेको छ। सर्लाहीको समथर भूभाग कृषि उत्पादनका लागि उपयुक्त भए पनि किसानहरू चैते धानखेतीमा खासै आकर्षित हुन सकेका छैनन्।

चैते धानखेती विस्तार गर्ने उद्देश्यले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई ‘धान जोन’ क्षेत्र घोषणा गरिए पनि अपेक्षित परिणाम आउन सकेको छैन। विसं २०७३ बाट सुरु भएको परियोजना २०७७/७८ सम्म सञ्चालनमा आएको थियो। परियोजनाले तालिम, कृषि उपकरण र सिँचाइ सामग्रीमा अनुदान दिएर प्रोत्साहित गरे पनि पकेट क्षेत्रमै खेती विस्तार गर्न नसकेको जनाएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार, हाल जिल्लाका ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा जम्मा ५० हेक्टरमा मात्र चैते धानखेती भइरहेको छ। सबैभन्दा धेरै ईश्वरपुरमा २० हेक्टर र लालबन्दी तथा बरहथवामा १०–१० हेक्टरमा खेती हुँदै आएको छ।

सिँचाइ अभाव मुख्य समस्या

चैते धानखेतीको विस्तार नहुनुमा सिँचाइ अभाव प्रमुख कारण रहेको किसानहरूको गुनासो छ। यस बालीका लागि सिजनभर करिब १३ पटक पानी पटाउनु पर्ने भएकाले सिँचाइको व्यवस्थित अभाव ठूलो चुनौती बनेको छ। कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायका अनुसार, चैते धानखेतीका लागि तीनदेखि पाँच दिनमा एकपटक पानी आवश्यक हुन्छ, तर सिँचाइको उचित प्रबन्ध नभएकाले खेती विस्तार सम्भव भएको छैन।

धेरै किसानले पम्पसेट र विद्युतीय मोटरको प्रयोग गरेर सिँचाइ गर्ने प्रयास गरे पनि समस्या समाधान नभएको बताइन्छ। स्थानीय तहले प्रभावकारी सिँचाइ व्यवस्था गरेमा चैते धानखेती र उत्पादन दुबै बढ्ने किसानहरूको विश्वास छ।

केन्द्र प्रमुख साहका अनुसार, चैते धानको उत्पादकत्व बर्खे धानभन्दा उच्च छ। बर्खे धानको प्रतिहेक्टर उत्पादन ३.६४ मेट्रिक टन रहे पनि चैते धानको उत्पादन ४.६६ मेट्रिक टन पुगेको छ। यसले किसानलाई थप लाभ लिन सक्ने अवसर प्रदान गर्छ। यदि चैते धानखेतीको क्षेत्रफल कम्तीमा सय हेक्टरमा पुर्‍याउन सके, धानको आयात प्रतिस्थापनमा समेत मद्दत पुग्ने उहाँले बताउनुभयो।

मूल्य र बजारको समस्या

अधिकांश किसानले बर्खे धान घरायसी उपभोगका लागि प्रयोग गर्ने हुँदा चैते धानबाट दैनिक खर्च टार्ने गरेको पाइएको छ। तर, चैते धानको उचित मूल्य नपाउँदा किसान आकर्षित हुन नसकेको ईश्वरपुरका किसान रामभरोसी यादवले बताउनुभयो। उहाँले सरकारले चैते धानका लागि पनि उचित समर्थन मूल्य तोक्नुपर्ने माग गर्नुभयो।

चैते धानखेतीको समयमा मुख्य सिँचाइ आयोजना बागमती सिँचाइ परियोजनालगायत अन्य ब्यारेजहरूमा पानीको सतह घट्ने समस्या रहेको छ। यसले गर्दा किसानले डिपबोरिङ र रोअल पम्पमा निर्भर रहनु परेको पर्सा गाउँपालिका–२ का किसान महिन्द्र साहले गुनासो गर्नुभयो। उहाँले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर दीर्घकालीन सिँचाइ समाधान गरेमा मात्र चैते धानखेतीको सम्भावना विस्तार हुनसक्ने बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका