सर्लाही । सर्लाही जिल्लासँग जोडिएको भारत–नेपाल सीमास्थित भारतको सोनबरसा थाना क्षेत्रअन्तर्गत इन्दरवा गाउँ नजिक शुक्रबार दिउँसो भएको एक घटनाले केहीबेर सीमा क्षेत्रमा तनाव उत्पन्न गर्यो। नेपालतर्फ रहेको आफ्नो खेततर्फ जाँदै गरेका एक भारतीय नागरिकको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो।
घटनापछि आक्रोशित भारतीय पक्षले प्रतिक्रिया स्वरूप केही नेपाली नागरिकका मोटरसाइकलहरू समेत नियन्त्रणमा लिन थालेपछि स्थिति थप जटिल बनेको थियो। दुवै पक्षबीच बढ्दो तनावलाई नियन्त्रणमा लिन नेपाल र भारतका सुरक्षाकर्मीबीच तत्काल छलफल गरिएको थियो। छलफलपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता गरेसँगै अवस्था सामान्य बनेको स्थानीय स्रोतले जनाएको छ।
स्थानीयका अनुसार भारतको इन्दरवा क्षेत्रका बासिन्दाहरूको सयौँ बिघा जमिन नेपालतर्फ सखुअवा, नोकैल्वा, पर्सा र पिपरा सरेह क्षेत्रमा फैलिएको छ, जहाँ उनीहरूले वर्षौँदेखि खेतीपाती गर्दै आएका छन्। दैनिक रूपमा सीमा पार आवतजावत उनीहरूको जीवनशैलीकै हिस्सा बनेको छ।
तर पछिल्ला दिनहरूमा नेपालतर्फका सुरक्षाकर्मीहरूले भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा कडाइ गर्न थालेपछि यस्तो विवाद सतहमा आएको हो। बिना अनुमति (पास वा भन्सार प्रक्रिया बिना) नेपाल प्रवेश गर्ने सवारी साधनलाई रोक्न थालेको बताइएको छ।
प्रचलित भन्सार तथा सीमा सुरक्षा नियमअनुसार विदेशी नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा अस्थायी अनुमति (भन्सार पास) लिनुपर्ने प्रावधान छ। निश्चित समयावधिभित्र मात्र सञ्चालन गर्न पाइने र उल्लङ्घन गरे कारबाही हुने व्यवस्था छ। यिनै नियमहरूको कडाइसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरू प्रभावित भएका छन्।
विशेष गरी खेतीपातीका लागि दैनिक आवतजावत गर्ने भारतीय किसानहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। उनीहरूका अनुसार वर्षौँदेखि सहज रूपमा चलिआएको आवतजावतमा अचानक कडाइ गर्दा समस्या उत्पन्न भएको हो।
यसैबीच भारतीय पत्रकार वीरेन्द्र यादवले घटनास्थलबाट प्रतिक्रिया दिँदै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको अवस्थालाई ध्यानमा राख्दै दुवै देशबीच समन्वय र सहजीकरण आवश्यक रहेको बताएका छन्।
स्थानीय तह र सुरक्षा निकायबीच समन्वय अभाव तथा नियमको कडाइका कारण यस्ता घटना दोहोरिन सक्ने भन्दै सरोकारवालाहरूले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।


