काठमाडौँ: सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया र लाओस जाने वा जान तयारी गरिरहेका नेपाली नागरिकलाई तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनामा यी मुलुकहरूमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मन्त्रालयले आकर्षक तलब र सुविधा दिने प्रलोभन देखाएर नेपाल तथा युएईजस्ता मुलुकहरूमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक र याहुन विमानस्थलसम्म पुर्याई, त्यसपछि म्यान्माको कायिन प्रान्तको म्यावडीमा अवैध कार्य गर्न बाध्य बनाइएको घटना स्मरण गराएको छ। यसबारे विगतमा पनि चेतावनी दिइसकेको मन्त्रालयले जनाएको छ।
मानव बेचबिखन र जबर्जस्ती काममा लगाउने गिरोह सक्रिय
पछिल्लो समय मानव बेचबिखन र अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यान्मामा अवैध कार्यमा संलग्न गराउने गरेको मन्त्रालयले जनाएको छ। यस्ता गतिविधिमा पर्ने नेपालीहरूलाई राहदानी खोस्ने, अत्यधिक काम गर्न लगाउने, यातना दिने, तलब नदिनेजस्ता गम्भीर समस्या देखिएको छ।
यसैबीच, उद्धारका लागि नेपाली राजदूतावास याहुन र बैंककमा आवेदन गर्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको जानकारी मन्त्रालयले दिएको छ।
गैरकानुनी गतिविधि रोक्न आग्रह
परराष्ट्र मन्त्रालयले ठगी गर्ने, ठूलो रकम लिने, अवैध काममा लगाउनेजस्ता कार्य नेपाल सरकारको कानुनअनुसार दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्य नगर्न/नगराउन सबैलाई सचेत गराएको छ।
सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीका प्रस्ताव राख्ने एजेन्टहरूको प्रलोभनमा नपर्न र यस्ता फर्जी प्रस्तावको सत्यता जाँच्न पनि मन्त्रालयले आग्रह गरेको छ।
वैदेशिक रोजगारीका लागि सुझाव
“वैदेशिक रोजगारीका लागि भिजिट भिसामा यात्रा नगर्नुहोस्। रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित नेपाली नियोगमार्फत फर्म, कम्पनी र रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिनुहोस्। ती फर्म र रोजगारदाताको वेबसाइट पनि व्यक्तिगत रूपमा जाँच गर्नुहोस्,” एड्भाइजरीमा भनिएको छ।
नेपाल सरकारले यस्ता घटनाहरूबाट बच्न र वैदेशिक रोजगारीका लागि सुरक्षित माध्यम अपनाउन अपील गरेको छ।


