Tuesday, July 28, 2026
Homeसामाचारसरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, पाँच दिनको अनसन अन्त्य

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, पाँच दिनको अनसन अन्त्य

धनगढी । स्वास्थ्य क्षेत्रका विभिन्न सुधारका माग राख्दै अनसनरत डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमतिसँगै धनगढीमा पाँच दिनदेखि अनसनरत डा. केसीले सोमबार राति अनसन तोडेका छन्।

सरकारी वार्ता टोली र डा. केसीबीच सोमबार राति करिब ९ बजे सहमतिपत्रमा हस्ताक्षर भएको हो। त्यसपछि बाजुराको गौमुल गाउँपालिका–२ निवासी ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर डा. केसीले अनसन अन्त्य गरेका हुन्।

अनसनका क्रममा डा. केसीको मुख्य माग कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने रहेको थियो। यस विषयमा दुई दिनसम्म वार्ता भए पनि अन्ततः उक्त मागलाई सहमतिपत्रमा समावेश नगरिएको छ।

सहमतिअनुसार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालनमा ल्याई एमबीबीएससहितका शैक्षिक कार्यक्रम सुरु गरिनेछ। साथै, विश्वविद्यालयसम्बन्धी ऐन संशोधन प्रक्रिया तीन महिनाभित्र अघि बढाइने र चिकित्सा शिक्षालाई क्रमशः गैरनाफामूलक बनाउने उद्देश्यले छ महिनाभित्र कार्यदल गठन गरिने सहमति भएको छ।

यस्तै, चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार गुणस्तर मूल्याङ्कनपछि मात्र सिट निर्धारण गरिने, निजी मेडिकल कलेजमा सिट सङ्ख्या नबढाइने तथा प्रचलित कानुनअनुसार छात्रवृत्ति व्यवस्था यथावत राखिने सहमतिमा उल्लेख छ।

सहमतिपत्रमा २०४६ सालयता उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूमाथि भएका भ्रष्टाचार र अन्य अपराधका घटनाको निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउने विषय पनि समेटिएको छ। साथै, २०८२ भदौमा भएका हत्या, आगजनी र लुटपाटजस्ता जघन्य घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ।

यसका अतिरिक्त, विगतमा सरकार र डा. केसीबीच भएका सहमतिहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्न तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय कार्यदल तथा अनुगमन समिति गठन गर्ने सहमति भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका