काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल को भैंसेपाटीस्थित निवासमा छापा मारेको छ।
स्रोतका अनुसार विभागको टोलीले आज दिउँसो करिब १ बजे पौडेल बसोबास गर्दै आएको निवासमा पुगेर अनुसन्धानका लागि आवश्यक कागजात तथा विवरण संकलन गरेको हो। विवादित व्यवसायी दीपक भट्ट सँगको कथित आर्थिक सम्बन्ध तथा सम्पत्तिको स्रोतबारे उठेका प्रश्नका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
पछिल्लो समय पौडेलको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे विभिन्न चर्चा तथा प्रश्न उठ्दै आएका थिए। सोही सन्दर्भमा विभागले अनुसन्धानलाई तीव्र बनाएको स्रोतको दाबी छ।
हाल पौडेल भैंसेपाटीमा भाडाको घरमा बस्दै आएका छन्। यसअघि उनको निजी निवासमा भएको आगजनी घटनापछि उनी त्यहाँ सरेका थिए।
यता, अनुसन्धानका क्रममा प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
नोट: सम्बन्धित निकायबाट औपचारिक पुष्टि हुन बाँकी रहेकाले अनुसन्धान प्रक्रियासम्बन्धी विवरणहरू प्रारम्भिक सूचनाका आधारमा सार्वजनिक भएका हुन्।


