काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीनवटै क्षेत्रले असन्तुष्टि जनाएका छन्।
ललितपुरबाट समानुपातिकतर्फ एक जनाको पनि नाम समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रीय सभापतिहरूले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ध्यानाकर्षण पत्रमा सूची संशोधनको समयसीमाभित्र ललितपुरका प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजनाको दरले तीनजनाको नाम समानुपातिक सूचीमा समावेश गर्न माग गरिएको छ। उनीहरूले मागको सुनुवाइ नभए आगामी निर्वाचनमा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा त्यसको जिम्मेवारी आफूहरू नलिने चेतावनी दिएका छन्।
असन्तुष्ट समूहको ध्यानाकर्षण पत्र बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त विषय पार्टी नेतृत्वसमक्ष राखिने बताएका छन्। पार्टीको महाधिवेशन तयारीको चापका बीच हतारमा समानुपातिक सूची तयार पार्दा केही कमजोरी भएको हुन सक्ने उल्लेख गर्दै उनले त्यसका कारण पार्टीको आगामी निर्वाचनमा भूमिका कमजोर नबनाउन आग्रह गरे।
कांग्रेस ललितपुरका तीनवटै क्षेत्रीय सभापतिहरूले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरूले उठाएको विषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको उल्लेख गरिएको छ।


