काठमाडौं: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दलबीच कुनै मतभेद नरहेको स्पष्ट पार्दै आगामी निर्वाचनमा एमालेलाई एकल बहुमत ल्याउने गरी तयारी भइरहेको बताएका छन्।
**अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)**को २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले, स्थिरता, सुशासन र विकासका लागि सरकार सहमतिको नीतिमा अघि बढिरहेको बताएका हुन्। उनले १३ महिनापछि नेपाली काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति अनुसार एमाले सत्ता साझेदारीमा रहने बताएका छन्।
“हाम्रा विरोधीहरूले सत्ता गठबन्धनमा फुट ल्याउने प्रयास गरिरहेका छन्। तर हामी सहमतिमा अगाडि बढिरहेका छौँ। काँग्रेस र एमालेले आ-आफ्नो भूमिका निर्वाह गर्दै चुनावी प्रतिस्पर्धाको तयारी गरिरहेका छौँ,” प्रधानमन्त्री ओलीले भने।
मिशन २०८४ र युवा भूमिकाको जोड
ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने लक्ष्य सहित तयारी भइरहेको बताए। उनले देशको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ साकार पार्न युवाहरूले सूचना प्रविधिसँग अभ्यस्त भएर अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले अनेरास्ववियुको योगदान स्मरण गर्दै २०३६ सालको जनमत संग्रहदेखि गणतन्त्र स्थापनासम्मको आन्दोलनमा विद्यार्थीहरूको भूमिका उल्लेखनीय रहेको बताए।
शान्तिपूर्ण विद्यार्थी आन्दोलनको आह्वान
प्रधानमन्त्री ओलीले अनेरास्ववियुलाई शान्तिपूर्ण, जिम्मेवार र परिवर्तनकारी संगठनको रूपमा अघि बढ्न निर्देशन पनि दिए।
“तोडफोड, कुटपिट, आगजनी, तालाबन्दीजस्ता हिंसात्मक गतिविधिमा अनेरास्ववियु संलग्न हुनु हुँदैन,” ओलीले भने, “गणतन्त्रको रक्षा र सुदृढीकरणमा विद्यार्थी आन्दोलन सभ्य र सकारात्मक मार्गबाट अघि बढ्नुपर्छ।”


