सङ्खुवासभा। नेपाली कांग्रेसका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँ पुगेर राईले औपचारिक रूपमा रास्वपा प्रवेश गरेको रास्वपा सङ्खुवासभाका सभापति भक्तनारायण श्रेष्ठले जानकारी दिए।
उनका अनुसार रास्वपाका उम्मेदवार मिङमा शेर्पाको विशेष पहलमा राई पार्टी प्रवेश गरेका हुन्। उम्मेदवार शेर्पा पनि यसअघि नेपाली कांग्रेसका महासमिति सदस्य थिए।
त्यस्तै नेकपा एमाले निकट भातृ संगठन खेलकुद महासंघका अध्यक्ष सुनिल श्रेष्ठ समेत रास्वपा प्रवेश गरेका छन्। साथै युवा संघ र तरुण दलका जिल्ला सदस्यहरू पनि आजै रास्वपामा आबद्ध भएको जनाइएको छ।
राई र श्रेष्ठ दुवै जना तुम्लिङटारबाट काठमाडौँ आउँदा मौसम खराबीका कारण जहाज उडान रद्द भएपछि हेलिकप्टरमार्फत राजधानी पुगेका थिए।


