काठमाडौं । गगन थापा ले सरकारले संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्न ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन्।
बुधबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार प्रधानन्यायाधीश नियुक्तिमा जालझेल गरिरहेको दाबी गरे।
उनका अनुसार संवैधानिक परिषद्को बैठक बोलाएर बहुमतको आडमा आफूअनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने प्रयास भइरहेको छ। उनले प्रधानमन्त्री, सभामुख र कानुनमन्त्री मिलेर निर्णय पारित गराउने योजना बनाइएको आरोप लगाए।
थापाले विगतमा यस्तै प्रयास रोकिएको उल्लेख गर्दै यसपटक अध्यादेशका कारण रोक्न नसकिएको बताए। उनले यस विषयमा कांग्रेसको गम्भीर आपत्ति रहेको पनि स्पष्ट पारे।
संवैधानिक परिषद् जस्तो संवेदनशील निकायलाई नियन्त्रणमा राख्ने प्रयास आपत्तिजनक भएको भन्दै उनले यसबारे गम्भीर प्रश्न उठाएका छन्।


