Monday, September 7, 2026
Homeसामाचारसंकटमा सुरक्षाकर्मीको योगदान उच्च छ, सेवा–सुविधामा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह

संकटमा सुरक्षाकर्मीको योगदान उच्च छ, सेवा–सुविधामा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसेवक सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसका कारण संकटको समयमा लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले संकटका बेला कार्यक्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको योगदानको सरकारले उच्च कदर गर्ने बताएका हुन्। उनले सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारे।

संकटको समयमा सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारजनप्रति पनि प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन्। संकट व्यवस्थापनमा सुरक्षाकर्मीसँगै अहोरात्र खटिएका देश तथा विदेशका विज्ञहरूलाई समेत उनले विशेष धन्यवाद दिएका छन्।

विपद्का बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उदाहरणीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको जानकारी दिएका छन्।

कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद बाढीले थुपारेको दलदल तथा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेको उनले बताएका छन्।

त्यस्तै, शवको संवेदनशील व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा सङ्क्रामक रोग फैलिन नदिन आवश्यक काम र शिविरमा रहेका प्रभावितहरूको मनोबल बढाउन तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी निरन्तर खटिरहेको उनले उल्लेख गरेका छन्।

बाढीका कारण ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन रहेकाले सुरक्षाकर्मीहरूले थकान र तनावको पर्वाह नगरी खोज तथा उद्धारमा निरन्तर खटिरहेको प्रधानमन्त्री शाहको भनाइ छ।

तर, संकट व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय काँधमा काँध मिलाएर खटिरहेका बेला बाढीका कारण नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेको जानकारीसमेत दिइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका