काठमाडौँ: नेपाली दूतावास बैंककले सरकारद्वारा तोकिएका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पुनः अनुरोध गरेको छ।
कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र पर्ने घटनाहरू बढ्दै गएकाले उद्धार प्रक्रियामा कठिनाइ भइरहेको भन्दै दूतावासले पुनः सचेत गराएको हो।
विशेष गरी अनलाइन ठगी (स्क्यामिङ) कार्यमा लगाइएका नेपाली नागरिकलाई उद्धार गर्न दूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्दार गरेको छ। हालै, दूतावासले दुई नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काएको जनाएको छ।
दूतावासले छिटो र धेरै पैसा कमाउने प्रलोभनमा नपरी, प्रक्रिया पुर्याईमात्र वैदेशिक रोजगारीमा जान पुनः अनुरोध गर्दै सम्भावित जोखिमबारे सचेत रहन सबैलाई आग्रह गरेको छ।


