विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक सुनसरीको धरानस्थित होटल गोर्खामा बसिरहेको छ। पूर्वमन्त्री सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।
तर, बैठकमा किराँती पक्ष भने सहभागी भएको छैन। पार्टी प्रवक्ता सत्य घलेका अनुसार यसअघि भएको पार्टी एकताको निर्णयलाई बुधबारको बैठकले अनुमोदन गरेपछि किराँती समूहलाई बैठकमा सहभागी गराइनेछ।
घलेले पार्टी एकताबारे बाहिर आएका चर्चालाई हल्ला मात्र भएको दाबी गर्दै भने, “एकताको निर्णय हाम्रो केन्द्रीय समितिले गरेको थिएन। आजको बैठकले त्यो अनुमोदन गरेपछि उहाँहरूलाई बैठकमा सहभागी गराउने हो।”
चार महिनाअघि भएको पार्टी एकताका क्रममा सुदन किराँतीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो। किराँती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना श्रम संस्कृति पार्टीमा सहभागी भएका थिए।
एकताअघि २३ सदस्यीय रहेको पार्टीको केन्द्रीय समिति एकतापछि ४१ सदस्यीय बनेको थियो। पार्टी एकतापछि किराँतीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको थियो।
यता, बैठकमा आफूहरूलाई नबोलाइएको वरिष्ठ नेता सुदन किराँतीले बताएका छन्। उनले भने, “बैठक छ भन्ने सुनेको हो, हामीलाई बोलाएको छैन। किन नबोलाएको हो भन्ने थाहा छैन।”


