काठमाडौं, असार २: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सशक्त व्यङ्ग्य गरेका छन्। उनले ‘प्रचण्ड र छेपारो’ शीर्षकको कविता सार्वजनिक गर्दै प्रचण्डको सत्ता मोह, राजनीतिक लचिलोपन र अवसरवादितामाथि प्रहार गरेका हुन्।
शाहीले लेखेका छन्, “फेर्छ छेपारोले रङ, परिस्थिति अनुसार। प्रचण्डले फेर्छन् बोली, कुर्सीको मोह अनुसार।” यस अभिव्यक्तिमा उनले प्रचण्डलाई सत्ता टिकाउने लाञ्छनासहित छेपारोसँग तुलना गरेका छन्।
उनले व्यङ्ग्यात्मक शैलीमा प्रचण्डको राजनीतिक यात्रालाई सुरुमा क्रान्तिको नारा बोकेको तर अन्ततः कुर्सी र सत्ताको मोहमा सीमित भएको टिप्पणी गरेका छन्। शाहीको शब्दमा, “प्रचण्डको फेर समाउँदा रबि दाइ थुनिए, प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए।”
प्रचण्डप्रति विश्वास गर्नु र ‘कुकुरको पुच्छर सिधा हुन्छ’ भन्नु उस्तै भएको उनको अर्को कटाक्ष थियो। उनले लेखेका छन्, “कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र प्रचण्डको विश्वास गर्नु एउटै हो।”
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले रास्वपा र राप्रपासँगको सहकार्य तोडेपछि शाही आक्रोशित देखिएका छन्। सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीको राजीनामा र छानबिन समितिबाट पछि हट्दै पूर्वसभामुख अग्नि सापकोटालाई जोगाएको आरोप लगाएका छन्।
उनले लेखेका छन्, “बधाई छ कमरेड प्रचण्ड, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिबाट पछि हट्दै हत्या आरोपमा रहेका अग्नि सापकोटालाई जोगाउनुभएकोमा।” साथै उनले संसदलाई ‘जनताको कानुन बनाउने होइन, सेटिङ गर्ने थलो’ को रूपमा चित्रण गर्दै विडम्बना पनि व्यक्त गरेका छन्।
शाहीको कविता र टिप्पणीले सत्तारूढ गठबन्धन र विपक्षी दलहरूबीचको बढ्दो अविश्वास र राजनीतिक तिक्तता झल्काउँछ।


