काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। यस्तै, मधेश, बागमती तथा अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।
प्राधिकरणका अनुसार निरन्तर वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम उच्च रहेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेष गरी रातिको यात्रा नगर्न आग्रह गरिएको छ।
जोखिमको अवस्थालाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ उच्च जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालन नगर्न निर्देशन दिइएको छ। ती जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। आवश्यक परे अन्य क्षेत्रमा पनि सवारी सञ्चालनमा रोक लगाउन सकिने प्राधिकरणले जनाएको छ।
सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, सम्भावित सडक अवरोध हटाउन जोखिमयुक्त राजमार्गमा डोजर, एक्साभेटर र लोडरजस्ता हेभी उपकरण तयारी अवस्थामा राख्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
प्राधिकरणले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै विपद्सम्बन्धी सहायता तथा जानकारीका लागि ११५५ (मौसम/बाढी सूचना), १२३४ (विपद् सहायता), १०० (नेपाल प्रहरी) र १११४ (सशस्त्र प्रहरी बल) मा सम्पर्क गर्न अनुरोध गरेको छ।
साथै, मौसमसम्बन्धी अद्यावधिक सूचना र चेतावनी नियमित रूपमा आधिकारिक निकाय तथा सञ्चार माध्यमबाट प्राप्त गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।



