पछिल्ला केही महिनादेखि बिरामी पर्नेहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। कोही अस्पतालमा उपचाररत छन् भने कोही घरमै थला परेका छन्। अनुसन्धान गर्दा थाहा भएको छ कि बिरामी बढ्नुमा मुख्य दोष बोतल र जारको पानी हो। प्रशोधित भनिए तापनि ती पानीहरूमा मिसाइएको रसायन र अस्वच्छ स्रोतका कारण रोग फैलिरहेको छ।
खोला, नदी वा जमिनमुनिको फोहोर पानी निकालेर रसायन मिसाएर सफा देखाउने प्रयास गरिन्छ। त्यसपछि सोही पानीलाई बजारमा ६० देखि १०० रुपैयाँसम्ममा बिक्री गरिन्छ। मिनरल वाटरको पनि मूल्य २० देखि १५० रुपैयाँसम्म पर्न सक्छ। यति महँगोमा पानी किनेर पिए पनि गुणस्तरहीन हुँदा झाडा, पखाला, हैजासम्मको समस्या देखिन्छ।
काठमाडौंमा खानेपानीको अभाव भएकाले जारको पानीमा भर पर्नु परेको छ। तर, काठमाडौं महानगरपालिकाको परीक्षणले पनि जार र बोतलको पानीमा अखाद्य वस्तु भेटिएको पुष्टि गरेको छ। त्यही पानीले मानिसहरूलाई बिरामी बनाइरहेको छ।
त्यस्तै, होटल, रेस्टुरेन्ट, मिठाई पसलहरूमा पुरानो र बासी खाना दिइन्छ। देखावटी ताजा देखिए पनि भित्रभित्रै रोग फैलाउने खालको हुन्छ। यस्ता खानाले मानिस अस्पताल पुग्न बाध्य छन्।
साथै, स्वास्थ्यमा असर गर्ने केही गलत बानीहरू पनि बढ्दो क्रममा छन्। मानिसहरूले चुरोट, रक्सी, सुपाडीजस्ता वस्तु सजिलै प्रयोग गर्छन्। चुरोट र रक्सीले कलेजो, मिर्गौला, फोक्सोमा असर पुर्याउँछ। सुपाडीले दाँत नष्ट गर्छ, जसको उपचारमा हजारौँदेखि लाखौँ रुपैयाँ खर्चिन्छ।
ट्याटु खोप्ने प्रवृत्तिमा पनि वृद्धि भएको छ, जसले क्यान्सर जस्ता गम्भीर रोग निम्त्याइरहेको छ। ट्याटु भएकाहरूले कतिपय देशको भिसा वा सरकारी जागिरसमेत गुमाएका छन्। यस्तै, कपाल रंग्याउँदा प्रयोग हुने रसायनले पनि क्यान्सर निम्त्याउने जोखिम हुन्छ।
महिला तथा युवतीहरू अनुहार राम्रो देखाउन महँगा क्रीम र डण्डीफोर हटाउने मेसिन प्रयोग गर्छन्, जसले छालाको गहिरो समस्यासमेत निम्त्याइरहेको छ।
बजारमा खुलमखुला खुलेका आयुर्वेद पसल र निजी अस्पतालहरूले रोग नलागेकालाई पनि रोग लागेको भन्दै औषधी बेच्ने गरेका छन्। यसले निरोगीलाई पनि रोगी बनाइरहेको छ। त्यस्तै, माता र धामीझाँक्रीको झमेलामा परेर धेरैले आफ्नो धनसम्पत्तिसमेत गुमाएका छन्।
सारांशमा, हामी जन्मँदा निरोगी भए पनि बाहिरी खानपान, अस्वस्थ बानी र व्यापारिक लोभले रोगी बनिरहेका छौं। अहिले नेपालीहरूमा प्रमुख तीन रोग देखिएका छन्– क्यान्सर, मिर्गौला र कलेजो/फोक्सोसम्बन्धी रोगहरू।
यसले स्पष्ट देखाउँछ कि अब राज्य, समाज र व्यक्ति तीनै तहबाट सचेतना आवश्यक छ। सरकारले मदिरा र सूर्तीजन्य वस्तुमा नियन्त्रण गर्नुपर्छ। अभिभावक र शिक्षकले बालबालिकालाई बाहिरी खाना खान नदिनुपर्छ।
सामान्य त कुराले सुरु हुने यी समस्याले जीवन नै संकटमा पार्न सक्छन्। शिक्षित भएर पनि यदि स्वास्थ्यको ख्याल गर्न सकिँदैन भने, त्यो शिक्षाको के मूल्य?
– रुषा थापा, भक्तपुर


